२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

प्रधानमन्त्री ओलीबारे अपमानजनक र्‍याप अपलोड गर्ने युवकविरुद्ध साइबर क्राइमको मुद्दा

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर दुरुपयोग गरी अपमानजनक शब्दसहितको र्‍याप गीत बनाएर युट्युबमा अपलोड गरेको आरोपमा एक युवकविरुद्ध मुद्दा दायर भएको छ । भोजपुर घर भई ललितपुरको पुल्चोक बस्ने ३२ वर्षीय मलुम राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोगपत्र दायर भएको हो ।

अभियोगपत्र अनुसार राईले ‘मलुम छोटेनली’ नामक युट्युब च्यानलमा प्रधानमन्त्री ओलीको तस्बिर राखी “KP CHOR- new rap song 2025….” शीर्षकमा र्‍याप भिडिओ अपलोड गरेका थिए । उक्त भिडिओमा प्रधानमन्त्री ओलीलाई होच्याउने शब्द प्रयोग गरी उनको मानमर्दन र सामाजिक सञ्जालमार्फत बदनाम गरेको अभियोग लगाइएको छ ।

प्रहरीले सामाजिक सञ्जाल अनुगमनका क्रममा उक्त भिडिओ फेला परेको थियो । त्यस क्रममा ‘मलुम छोटेनली (एवाहाङ्ग)’ नामक फेसबुक प्रोफाइलको टाइमलाइनमा राईको नाममा जारी सवारी चालक अनुमतिपत्रको फोटो भेटिएपछि युट्युब च्यानल प्रयोगकर्ताको पहिचान गरी अनुसन्धान अघि बढाइएको अभियोगपत्रमा उल्लेख छ ।

अभियुक्त राईले प्रहरी बयानमा देशको बिग्रँदो अवस्थाबाट आजित भएर प्रधानमन्त्री ओलीबारे त्यस्ता शब्द प्रयोग गरी ‘सुनो एआई एप’ मार्फत र्‍याप बनाएको स्वीकारेका छन् । उनले उक्त र्‍यापमा प्रधानमन्त्रीको सम्पादित तस्बिर राखेर भिडिओ बनाई आफ्नो युट्युब च्यानलमा अपलोड गरेको र यसमा अन्य कसैको संलग्नता नरहेको पनि बताएका छन् ।

प्रहरीले राईको साथबाट बरामद मोबाइलको प्राविधिक परीक्षण गर्दा उक्त युट्युब च्यानल र फेसबुक प्रोफाइल सोही मोबाइलबाट लग-इन भएको पाएको थियो । मोबाइलमा प्रधानमन्त्रीको फोटो प्रयोग गरी आपत्तिजनक शब्द बोलेको भिडिओ पनि फेला परेको प्राविधिक प्रतिवेदनमा जनाइएको छ ।

अभियोजन पक्षले राईले विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रकाशन गरी प्रधानमन्त्रीको मानमर्दन गरेको उल्लेख गरेको छ । यसबाट युवकले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम कसुर गरेको दाबी गरिएको छ । उक्त दफामा कसुर प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १०:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट