
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
सर्वसाधारणलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकपडा लगायतका सरसामानहरू सस्तोमा दिने भन्दै उनीहरूले ठग्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा धनुषा धाम नगरपालिका-१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका-२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा र सोही नगरपालिका-१ बस्ने २० वर्षीय राम कुमार महरा रहेका छन् ।
त्यस्तै सर्लाही बरहथवा नगरपालिका-७ बस्ने २२ वर्षीय नितेशकुमार साह, महोत्तरी गौशाला नगरपालिका-१ बस्ने २२ वर्षीय रोशन साह र २१ वर्षीय सुधीरकुमार महतो र गौशाला नगरपालिका-२ बस्ने १९ वर्षीय अमित साहलाई समेत प्रहरीले पक्रेको छ । अनेक प्रलोभनमा पारी ठगी गरिरहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले त्यस्तो कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई समातेको हो ।

उनीहरूले हालसम्म २१ ओटा सामाजिक सञ्जाल अकाउन्ट तथा पेजहरू प्रयोग गरी ठगी गरेको बताइएको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न सरसामान सस्तोमा दिने भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडिओहरू पोस्ट गर्थे । सर्वसाधारण नागरिकले उक्त सामानहरू खरिद गर्ने भन्दै सम्पर्क गर्दा अग्रिम भुक्तानी गर्नुपर्छ भनि रकम पठाउन लगाउँथे ।
सर्वसाधारण नागरिकको नाममा बैँक, वित्तीय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाई सोही खाताहरूमा अनलाइन माध्यमबाट रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै उनीहरूको साथबाट बरामद भएका मोबाइलबाट विभिन्न बैँक वित्तीय संस्था तथा वालेट आईडी समेत गरी १८७ ओटा खाताको विवरण फेला परेको उल्लेख छ ।
ती खाताहरूबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँ कारोबार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूमाथि ठगी कसुरमा जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १९:३७
सामाग्री श्रोत :
टेक पाना