काठमाडौँ । मौरीपालनमा नयाँ प्रविधि प्रयोग गर्दै नेपाली प्राविधिकहरूले कृत्रिम विधिबाट रानु मौरी जन्माउन सफल भएका छन् । आर्टिफिसियल इनसेमिनेसन (Artificial Insemination) अर्थात् कृत्रिम गर्भधारण प्रविधि प्रयोग गरेर नेपालमा मौरीको रानु तयार पारिएको हो ।

नेपालमा मौरी पालनको व्यावसायिकीकरण बढेसँगै पछिल्ला केही वर्षहरूमा रानु मौरी उत्पादनका लागि कृत्रिम गर्भाधान प्रविधि प्रयोगमा आइरहेको छ । यस अघि परम्परागत ग्राफ्टिङ प्रविधि मात्र प्रयोगमा रहेकोमा विगत तीन वर्षदेखि एआई वा instrumental insemination (आईआई) प्रविधिको परीक्षण भइरहेको चितवनको भण्डारास्थित मौरीपालन विकास कार्यक्रमका कार्यालय प्रमुख सुजन अंगाईले बताए । उनका अनुसार धेरै पटक परीक्षण भएपनि यो वर्ष परीक्षण सफल भएको र तयार भएको रानु मध्ये पाँच रानु सफलता पूर्वक जोगाउन सकिएको हो ।
कृत्रिम गर्भाधान प्रक्रियामा उच्च उत्पादन र रोग प्रतिरोध क्षमतायुक्त गोलाबाट भाले मौरी छानिन्छ । त्यसपछि ती भालेबाट वीर्य (सिमेन) सङ्कलन गरी प्रयोगशालामा सुरक्षित राखिन्छ र कुमारी रानी मौरीमा कृत्रिम रूपमा गर्भाधान गराइन्छ। त्यसपछि उक्त मौरीको फूलमा ग्राफ्टिङ प्रविधिको प्रयोग गरेर नयाँ रानी मौरी तयार पारिन्छ।
नेपालमा अन्य जनावरहरूमा कृत्रिम गर्भधारणको चलन भएपनि मौरीमा भने यसको प्रयोग नयाँ भएको उनको भनाइ छ । राम्रो मौरीको उत्पादनका लागि कृत्रिम गर्भधारण आवश्यक रहेको उनले बताए । “उन्नत जातको रानु मौरी उत्पादन गर्न सकियो भने यसले मौरी पालनमा टेवा पुर्याउने हुँदा कृत्रिम गर्भधारण आवश्यक छ,” उनले भने, “नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादन बढाउन सहयोग पुर्याउने र त्यसमा रोग प्रतिरोधी क्षमता बढी हुन्छ ।” अघिल्लो आर्थिक वर्षमा अस्ट्रेलियन र अमेरिकी विशेषज्ञहरूसँग सहकार्य गरी यसको अध्ययन तथा तालिम लिइएको उनले बताए । तर त्यति बेला प्रयोग गरिएको विधि र एक साताको छोटो तालिमले अपेक्षित परिणाम दिन भने सकेको थिएन । “त्यस बेला मात्र एउटा रानी मौरी उत्पादन गर्न सफल भएका थियौँ,” उनले सुनाए ।

अनुसन्धानको चरणमा रहेको यस प्रविधिलाई व्यावसायिक रूपमा अगाडि लैजान अझै उनीहरूको व्यवहार, मौरीको चालचलन, र बजारको अध्ययन आवश्यक रहेको अंगाई बताउँछन् ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ ११:३८
सामाग्री श्रोत :
टेक पाना