टक्सार (भोजपुर)। भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड ललितपुरले भगवती स्पोर्ट्स क्लब खोटाङलाई १-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजका खेलाडी समिर तामाङले गरेको एक गोल फाइनलका लागि निर्णायक बन्यो। भगवतीका तर्फबाट कुनै पनि गोल हुन सकेन। सेमिफाइनलको म्यान अफ दी म्याच बनेका चर्च ब्वाइजका गोलकर्ता समिरले नगद रु पाँच हजार प्राप्त गरेका छन्।
उपाधिका लागि शनिबार फाइनल खेल सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र चर्च ब्वाइजका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिएका छन्।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष हुँदै आएको प्रतियोगिताका विजेता र उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने छन्। अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ।

करिब रु ४९ लाख लागतमा भोजपुर नगरपालिका–७ मा निर्माण भएको रंगशालामा यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौं र एलएक्स सिटी मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन्।
गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४-२ गोलले पराजित गर्दै विजेता बनेको थियो।
सामाग्री श्रोत :