काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने आदेश गरेको हो ।
केही दिनअघि एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

यस्तै अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई आदेश दिएको छ ।
थापाविरुद्ध पेश भएको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले ‘न्यायसम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेत विचार गर्न’ भन्दै विचाराधीन मुद्दा अभिव्यक्ति नदिनू भनेको हो ।
सर्वोच्चले आदेशमा भनेको छ, ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू ।’
वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने भन्दै सर्वोच्चले विचाराधीन मुद्दामा संघीय संसद्को सदनमा समेत छलफल नगरिने मान्यता भएको भन्दै ध्यानाकर्षण गराएको हो । न्यायनिरुपणमा प्रतिकूल असर पर्नेगरी संसदमा समेत अभिव्यक्ति दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको भन्दै सर्वोच्चले अन्यत्र दिने अभिव्यक्तिमा अझ संवेदनशील हुनुपर्ने आशयमा आदेश जारी गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ