काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिकाका १४ वर्षीय किशोर आविस्कार खनालले घरमै बसेर भेन्टिलेटर निर्माण गरी सबैलाई चकित पारेका छन् । आफ्नो गाउँ नजिकैको स्वास्थ्य चौकीमा जटिल अवस्थाका बिरामीका लागि आवश्यक उपकरण नदेखेपछि उनले भेन्टिलेटर बनाएका हुन् ।

सैनामैना क्षेत्रका स्वास्थ्य चौकीहरूमा भेन्टिलेटरको अभाव रहेको बताउँदै खनालले भने, “हाम्रो घर बजारभन्दा टाढा छ । यहाँ कसैलाई गम्भीर समस्या परेमा १७ किलोमिटर टाढा जानुपर्छ । इमर्जेन्सीको लागि अक्सिजन सिलिन्डर पनि पाइँदैन । यहाँ सामान्य उपचार मात्र हुन्छ ।”
यही आवश्यकतालाई महसुस गरी उनले स्वास्थ्य चौकीमा प्रयोग गर्न मिल्ने भेन्टिलेटर बनाएका हुन् । यसका लागि उनले भेन्टिलेटरको कार्यविधि र बनाउने तरिकाबारे इन्टरनेटमा अध्ययन गरे । विभिन्न वेबसाइटबाट जानकारी लिएपछि उनी भेन्टिलेटर बनाउन तम्सिए ।
दुई वर्षअघि रोबोटिक्स तालिम लिएका खनालले अर्डुनो (अन्तरक्रियात्मक डिजिटल डिभाइसहरू बनाउन प्रयोग गरिने ओपन सोर्स हार्डवेयर तथा सफ्टवेयर प्लेटफर्म) प्रयोग गरी यो उपकरण तयार पारेका हुन् । उनले अर्डुनो, सेर्भो मोटर, एम्बु ब्याग र एलसीडी जस्ता सामग्री प्रयोग गरेका छन् । यसमा रहेको अर्डुनोले बिरामीलाई आवश्यक अक्सिजनको मात्रा निर्धारण गर्छ र सेर्भो मोटरले सोही अनुसार एम्बु ब्यागमा अक्सिजन प्रवाह गर्छ ।

आफ्नो आविष्कारले सही मात्रामा अक्सिजन प्रवाह गरिरहेको खनालको दाबी छ । यद्यपि, उनी यसलाई अझै परिष्कृत गर्ने योजनामा छन् ।
“यो भर्खर सुरुवात हो। यसमा धेरै सुधार गर्नुपर्नेछ ताकि यसले प्रभावकारी रूपमा काम गरोस्,” उनले टेकपानासँग भने । यसका लागि उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् । परिष्कृत भएपछि यो भेन्टिलेटर स्वास्थ्य चौकीहरूलाई उपलब्ध गराउने उनको लक्ष्य छ ।
बुटवलको इडन इङ्लिश बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत खनालले दुई वर्षअघि कार्बनडाइअक्साइडको मात्रा पत्ता लगाउने उपकरण (CO2 डिटेक्टर) समेत बनाएका थिए । खाली समयमा नयाँ-नयाँ प्रयोग गर्न रुचाउने खनाल भविष्यमा इन्जिनियरिङ पढेर थप आविष्कार गर्ने सोचमा छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १७:३९
सामाग्री श्रोत :
टेक पाना