काठमाडौँ – ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो।

मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई संसद्का बहुमत सांसदहरूले सहमति जनाएका हुन्।
विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए।
उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरू पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए। उनले विधेयकलाई समृद्ध बनाउनको लागि सुझाव दिने सांसदहरूलाई धन्यावाद समेत दिए।

विधेयकले कानुनको रूप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ