२०८२ बैशाख ११ बिहीबार
LATEST NEWS
२०८२ बैशाख ११ बिहीबार

सामसङ ग्यालेक्सी ए सिरिजका ३ मिडरेन्ज स्मार्टफोन, तपाईंका लागि कुन उपयुक्त ?

काठमाडौँ । आज म तपाईँलाई सामसङ ग्यालेक्सीको ‘ए’ सिरिज अन्तर्गतका तीन उत्कृष्ट मिड-रेञ्ज स्मार्टफोनबारे जानकारी दिन गइरहेकी छु । मसँग छन् सामसङ ग्यालेक्सी ए२६, सामसङ ग्यालेक्सी ए३६ र सामसङ ग्यालेक्सी ए५६ । 

यी तीन ओटै फोन फरक-फरक प्राइस रेन्जमा उपलब्ध छन् । नेपाली बजारमा ग्यालेक्सी ए२६ को सुरुवाती मूल्य रु. ४५,९९९ रहेको छ भने ग्यालेक्सी ए३६ को सुरुवाती मूल्य रु. ४९,९९९ र ग्यालेक्सी ए५६ को सुरुवाती मूल्य रु. ६५,९९९ तोकिएको छ । 

यसरी हेर्दा ए२६ र ए३६ लगभग उस्तै प्राइस रेन्जमा छन् भने ए५६ महँगो छ । आउनुहोस्, यी स्मार्टफोनहरू कस्ता छन्, जानौं‍: 

पहिलो नजरमा हेर्दा तीन ओटै फोन उस्तै देखिन्छन्- ग्लसी फिनिस, आकर्षक बनावट र लिनियर क्यामेरा सेटअप । अगाडिपट्टि ए२६ मा वाटर ड्रप नच छ भने ए३६ र ए५६ मा पन्च होल डिस्प्ले पाउनुहुन्छ । डिस्प्लेको कुरा गर्दा तीन ओटै फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.७ इन्चको एमोलेड डिस्प्ले छ । 

पिक ब्राइटनेस ए५६ र ए३६ मा १२०० निट्स पाउनुहुन्छ, जुन उज्यालो दिनको लागि पर्याप्त छ । त्यस्तै ए२६ मा १००० निट्सको ब्राइटनेस पाउनुहुन्छ । समग्रमा, मैले तीन ओटै फोनको भ्युइङ एक्सपिरियन्स राम्रो पाएँ । 

यी तीन फोनमध्ये उत्कृष्ट क्यामेरा क्वालिटी ए५६ को लाग्यो । मूल्य पनि त महँगो छ भन्नुहोला, तर मूल्य अनुसारकै कुरा गर्ने हो भने मूल्य अनुसारको फोटो क्वालिटी ए२६ ले प्रदान गरेको छ । 

ए३६ बाट लिएका तस्बिरहरू अलि  whitish tone मा पाउनुहुन्छ भने कहिलेकाहीँ रङ फिक्का जस्तो देखिन्छ । अरू क्यामेरा सुविधाहरू ए२६ र ए३६ को लगभग उस्तै लाग्छ । 

क्यामेरा क्वालिटीलाई प्राथमिकता दिनुहुन्छ भने ए५६ रोज्नुहोस् । यसबाट खिचिएको फोटो उत्कृष्ट छ, कलर पूर्ण रूपमा सन्तुलित छ । अँध्यारोमा पनि राम्रो फोटोको आशा गर्न सक्नुहुन्छ । पोर्ट्रेट, सेल्फी सबै तस्बिरहरू सुन्दर, उज्यालो र आकर्षक देखिन्छन् । यदि बजेट बढाउन चाहनुहुन्न भने तीन हजार रुपैयाँ बढी तिरेर ए३६ लिनुभन्दा तपाईँ ए२६ रोज्न सक्नुहुन्छ । 

भिडिओतर्फ, ए२६ बाट अल्ट्रा एचडी भिडिओ ३० एफपीएसमा खिच्न सक्नुहुन्छ । ए३६ को अगाडि र पछाडिको क्यामेराबाट अल्ट्रा एचडी भिडिओ ३० एफपीएसमा खिच्न सक्नुहुन्छ । ए२६ ले भने फ्रन्ट क्यामेरामा अल्ट्रा एचडी भिडिओ सपोर्ट गर्दैन । र, ए५६ को पनि दुवै साइडको क्यामेराबाट तपाईँले ३० एफपीएसमा अल्ट्रा एचडी सम्मको भिडिओ खिच्न सक्नुहुन्छ । 

सबै फोनको क्यामेरामा ओआईएस पक्कै । तर ए५६ बाट फिल्म गरिएको भिडिओ उत्कृष्ट छ । किनकि भिडिओ स्टेबल हुनुको साथै भिडिओ क्वालिटी पनि स्तरीय छ । भिडिओ क्वालिटीमा खासै फरक छैन, तर स्टेबिलिटीको हिसाबले भने ए३६ को क्यामेरा अझै स्टेबल छ, ओआईएसले राम्रोसँग काम गर्छ । सामान्यतया हामी भन्छौँ- भिडिओहरू सोसल मिडियाका लागि तयार छन् । बाँकी फिल्टरहरू, इफेक्टहरू त यी फोनहरूमा छन् नै । समग्रमा भन्नुपर्दा ‘ए’ सिरिजका यी फोनहरूको क्वालिटी राम्रो, धेरै राम्रो र उत्कृष्ट छन् । 

पर्फर्मेन्सको कुरा गर्दा यी तीन ओटै फोन पछिल्लो एन्ड्रोइड भर्सन १५ मा आधारित छन् भने सबै फोन सामसङको आफ्नै यूआई वनयूआई सेभेनमा चल्छन् । फोन चलाउन सहज छ । यूआई आकर्षक छ । प्रोसेसर हेर्ने हो भने ए२६ मा एक्सिनोस १३८० चिपसेट पाउनुहुन्छ । त्यसैगरी ए३६ ले क्वालकम स्न्यापड्रागन सिक्स जेन थ्री फोर एनएम प्रोसेसर प्रदान गर्छ । ‍ ए५६ मा भने एक्सिनोस १५८० छ । 

हामीले ए५६ मा पब्जी, एस्फाल्ट ८ खेलेर हेरेका थियौँ । पब्जी एचडीआर ग्राफिक्समा अल्ट्रा फ्रेम रेटमा ल्याग महसुस नगरी खेल्न सकिन्छ । एस्फाल्ट ८ पनि मजाले नै चलेको थियो । बाँकी ए२६ र ए३६ मा पनि पब्जी गेमको अनुभव ल्याग फ्री नै पायौँ । त्यसैले पर्फर्मेन्सको कुरा गर्दा तीन ओटै फोनमा खासै गुनासो गर्ने कुरा छैन । 

अर्को राम्रो पक्ष भनेको सामसङले यी फोनमा ६ वर्षको ओएस अपडेट र ६ वर्षको सुरक्षा अपडेटको वाचा गरेको छ । त्यसैले तपाईँले यी फोनमा एन्ड्रोइड भर्सन २१ सम्म अपडेट गर्न पाउनुहुन्छ र तपाईँले ६ वर्षको सुरक्षा अपडेट पाउने हुँदा फोनले ६ वर्षसम्म सुरक्षा प्याचहरू उपलब्ध गराइरहन्छ । यसले फोनलाई मालवेयर, स्पाइवेयरबाट बचाउनुका साथै सुधारिएको डेटा अनुमति, सुधारिएको बायोमेट्रिक सुरक्षा, नेटवर्क सुरक्षा जस्ता कुराहरू उपलब्ध गराउँछ । त्यसैले सुरक्षाको हिसाबले फोन भरपर्दो छ भन्दा फरक पर्दैन । 

कस्टमाइजेसनको कुरा गर्दा, तीन ओटै फोनमा समान प्रकारका विकल्प पाउनुहुन्छ । यसमा एज प्यानल, मल्टिटास्किङका लागि मल्टि विन्डो, स्प्लिट स्क्रिन लगायत छन् । वालपेपर, थिमहरूमा पनि अप्सन छन् । र पछिल्ला एआई इन्टिग्रेसन पनि यी फोनहरूमा छुटेको छैन । जस्तै- सर्कल टु सर्च, लाइभ टेक्स्ट लगायतका सुविधाहरू फोनमा पाउनुहुन्छ । 

ए३६ र ए५६ मा अल्वेज-अन डिस्प्ले फिचर पनि छ । ए५६ को एड्भान्स फिचरमा भने थप इन्टेलिजेन्ट फिचरहरू पनि पाउनुहुन्छ । जस्तै अब्जेक्ट इरेजर, कस्टम फिल्टर, एआई सेलेक्ट आदि । यी फिचरले तपाईँको अनुभवलाई अझ राम्रो बनाउँछन् । 

ब्याट्रीको कुरा गर्दा ५००० एमएएच क्षमताको ब्याट्री यी सबै फोनमा पाउनुहुन्छ । चार्जिङको लागि भने ए२६ मा २५ वाटको चार्जिङ, अनि ए३६ र ए५६ मा ४५ वाट फास्ट चार्जिङ उपलब्ध गराइएको छ । 

ए२६ मा ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टरनल स्टोरेज छ, जसको मूल्य रु. ४५,९९९ छ ।

त्यसैगरी, ए३६ मा तीन ओटा स्टोरेज भेरियन्ट उपलब्ध छन् – ८/१२८ जीबी, ८/२५६ जीबी र १२/२५६ जीबी । बेस भेरियन्टको मूल्य रु. ४८,९९९ रहेको छ भने ८/२५६ जीबीको मूल्य रु. ५५ हजार र १२/२५६ जीबीको मूल्य रु ६० हजार रहेको छ ।

ए५६ मा भने दुई ओटा भेरियन्ट छन् – ८/२५६ जीबी र १२/२५६ जीबी । सुरुवाती भेरियन्टको मूल्य रु. ६६ हजार रहेको छ ।

कनेक्टिभिटीको हिसाबले डुअल सिम, डुअल ब्यान्ड वाई-फाई, ब्लुटुथ, एनएफसी सबै फोनमा उपलब्ध छ । त्यसैगरी, ए३६ र ए५६ मा तपाईँले डुअल स्टेरियो स्पिकरहरू पनि पाउनुहुन्छ । तर दुःखको कुरा ए२६ मा भने तपाईँले मोनो स्पिकर मात्र पाउनुहुन्छ । तर स्पिकर ठुलो छ, त्यसैले ठिकै छ ।

सेक्युरिटीको हिसाबले यी तीनै फोनमा फिंगरप्रिन्ट, फेस लक, पिन लगायतका सुविधा छन् । सबै फोन तपाईँले आकर्षक कलर भेरियन्टहरूमा नेपाली बजारमा उपलब्ध छन् ।

त्यसैले, समग्रमा तपाईँसँग बजेट छ भने किन कम किन्ने ? तपाईँ सामसङ ग्यालेक्सी ए५६ फाइभजी रोज्न सक्नुहुन्छ, क्यामेरादेखि पर्फर्मेन्ससम्म सबै चित्तबुझ्दो छ । यदि ए५६ को जति बजेट छैन भन्नुहुन्छ भने ए२६ वा ए३६ मध्ये एउटा रोज्न सक्नुहुन्छ । आफ्नो आवश्यकता हेरेर लिन सक्नुहुन्छ ।

हेर्नुहोस् भिडिओ रिभ्यु:

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १२:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट