काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावलले मेडिकल कलेज सञ्चालक सांसद् डा सुनिल शर्मालाई प्रश्न गरेका छन्। बुधबारको पत्रकार सम्मेलनमा डा शर्माले डा रावलसँगै नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीलाई ‘अन्तर्राष्ट्रिय दलाल’ भन्दै आरोप लगाएका थिए।उक्त विषयमा जवाफ दिँदै रावलले भने, ‘सांसद् जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट यो तहको अभिव्यक्तिको अपेक्षा थिएन। तर, उहाँले आरोप लगाइसकेपछि मेरो प्रश्न छ- विदेशबाट कर्णालीमा डाक्टर पढ्न ल्याउने अन्तर्राष्ट्रिय दलाल कि चिनमा नेपाली विद्यार्थी पठाउने?’डा शर्माले नेपालमा मेडिकल कलेजको स्वामित्व लिनुअघि चिकित्सा पढ्न चाहने नेपाली विद्यार्थी चिन पठाउने कार्य गरेको कुरालाई उनले स्मरण गराएका हुन्। डा रावल उपकुलपति रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पठन/पाठन सुरु भएको थियो। उनकै पालामा तीनजना भारतीय विद्यार्थी चिकित्सा शास्त्र अध्ययन गर्न त्यहाँ आइपुगेका छन्। त्यसैगरी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले प्रमाणित गर्न चुनौती दिएका छन्। संघले जारी गरेको बिज्ञप्तिमा भनिएकव छ, ‘समस्याको समाधान गर्न जिम्मेवार हुनुपर्ने भन्दा यस संस्थाका पदाधिकारी र संस्थालाई तुच्छ शब्द प्रयोग गरी कपोकल्पित आरोप लगाई भ्रम छर्ने काम गर्ने एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीको कार्यको घोर भत्सर्ना गर्दछौं। साथै आरोप पुष्टि गर्न पनि खुल्ला चुनौती दिन चाहन्छौं।’
सामाग्री श्रोत :
swasthyakhabar

