२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

डेढ लाख तलबको लोभ देखाएर कम्बोडिया पुर्‍याई साइबर दास बनाउने युवक पक्राउ

काठमाडौँ । । रोजगारको प्रलोभन देखाएर कम्बोडिया पुर्‍याई साइबर दास बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घर भई हाल काठमाडौं ज्ञानेश्वर बस्दै आएका २२ वर्षीय सन्देश शाही रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले आरोपी शाहीलाई मङ्गलबार ज्ञानेश्वरबाटै नियन्त्रणमा लिएको हो । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार केही समयअघि २६ वर्षीय एक पीडित युवकले ब्युरोमा शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उजुरी अनुसार शाहीले सबैभन्दा पहिले पीडित युवकलाई कम्बोडियामा मासिक एक लाख रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने अनलाइन काममा लगाइदिने प्रलोभन देखाएका थिए । त्यही प्रलोभनमा परी युवक पनि कम्बोडिया जान तयार भए ।

त्यसका लागि १६ माघ २०८१ मा ती युवकलाई शाहीले नेपालगञ्ज नाकाबाट भारतको लखनउ पुर्‍याए । त्यसपछि लखनउको विमानस्थलबाट मलेसिया ट्रान्जिट हुँदै कम्बोडिया पुर्‍याए । कम्बोडिया पुर्‍याएपछि युवकलाई चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध कम्पनीमा लगाइयो ।

अनलाइन जागिरको आशमा कम्बोडिया पुर्‍याइएका युवकलाई बन्धक बनाएर क्रिप्टोकरेन्सीको काम गर्ने दबाब दिइयो । ती युवकले त्यहाँ केटी बनेर भारतीय व्यक्तिहरूलाई सम्पर्कमा ल्याई बिटक्वाइनमा लगानी गर्न लगाउनुपर्थ्यो । यसरी महिनामा २० लाख भारु कमाउनुपर्ने टार्गेट दिइएको थियो । त्यो टार्गेट पूरा गर्न युवकलाई दिनमा १३ देखि १५ घण्टासम्म लगातार काम गर्नुपर्ने उनको आरोप थियो । यसरी अन्य मान्छेलाई अनलाइन ठगी गर्न लगाएर साइबर दास बनाई श्रम शोषण गरिएको भन्दै पीडित युवकले उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा ब्युरोले शाहीलाई नियन्त्रणमा लिएको हो ।

“अहिलेसम्म एक जना मात्र पीडित देखिएका छन् । हामीले पीडितले दिएको उजुरीकै आधारमा पक्राउ गरेका हौं,” प्रहरी उपरीक्षक कुँवरले टेकपानासँग भने, “पक्राउ परेका व्यक्तिको सम्पर्क बाहिर कोसँग छ भन्ने पनि अनुसन्धान भइरहेको छ । नेपालमै पनि अन्य व्यक्तिसँग संलग्नता छ कि छैन भन्ने बुझिरहेका छौं ।”

आरोपी शाहीले पीडित युवकलाई कम्बोडिया पुर्‍याए वापत कति रकम लिएका थिए, पीडित युवक कसरी फुत्किन सफल भए भन्ने जानकारी बाहिर आइसकेको छैन । ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति लिई शाहीमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १८:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट