काठमाडौँ । पोखरा महानगरपालिकाले नगरप्रहरीको सुरक्षासम्बन्धी कार्य र सञ्चार प्रणालीलाई थप प्रभावकारी बनाउन वाकिटकी प्रदान गरेको छ । हाललाई १० थान जीएसएम नेटवर्कमा आधारित पीओसी वाकिटकी वितरण गरिएको महानगरले जनाएको छ ।

महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले वाकिटकी उपलब्ध गराएको हो । वाकिटकीको उपलब्धतापछि नगरप्रहरीको दैनिक कार्य सञ्चालन थप सहज र व्यवस्थित बनेको नगरप्रहरी प्रमुख पुरुषोत्तम थापा मगरले बताए ।
“हाम्रो अधिकांश काम फिल्डमै हुन्छ । पहिले मोबाइल र अन्य साधनको भर पर्नुपर्थ्यो । केही दिनअघि वाकिटकी प्राप्त भएपछि निर्देशन आदानप्रदान र सञ्चार व्यवस्थापन सजिलो भएको छ,” उनले भने ।
उनका अनुसार नेपाल टेलिकमको नेटवर्क प्रयोग हुने भएकाले दूरीका हिसाबले पनि समस्या नआएको र सुरक्षा व्यवस्थापनमा थप सहजता आएको छ ।

पीओसी वाकिटकीमा मुख्य कार्यालयमा राखिने कन्टेल सफ्टवेयरमार्फत सामूहिक तथा व्यक्तिगत कुराकानी, कुराकानी रेकर्ड राख्न सकिने, जीपीएस लोकेसन ट्रयाकिङ र केन्द्रबाटै नियन्त्रण गर्न सकिने व्यवस्था रहेको छ ।
उक्त वाकिटकी एबेल ब्राण्डको हो, जसको आधिकारिक बिक्री वितरण डिकेड इन्टरनेशनलले गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट टाइप अप्रुभल प्रमाणपत्र प्राप्त यस उपकरणमा नेपाल टेलिकम र एनसेलको आईओटी सिम प्रयोग गरी सञ्चार सेवा प्रदान गरिन्छ । साथै प्रत्येक आईएमईआई नम्बर पनि प्राधिकरणबाट प्रमाणित गरिने आइटेल नेटवर्कका निर्देशक बिनु भण्डारीले जानकारी दिइन् ।
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १४:१७
सामाग्री श्रोत :
टेक पाना