काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरी समाजमा डर त्रास फैलाएको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा-६ महादेव बस्ने २१ वर्षीय रघुबन्द यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार यादवले आफ्नो टिकटक अकाउन्टमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरेको भिडिओ पोस्ट गरेका थिए । त्यस्तो भिडिओ राखी समाजमा डर त्रास फैलाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुबाट विशेष टोली खटिएको थियो ।
उक्त टोलीले आरोपित यादवलाई शनिबार बेलुका ६ बजे मायादेवी गाउँपालिका वडा नं. १, पकडीमा रहेको मायादेवी होटेलबाट नियन्त्रणमा लिएको हो । डीएसपी अधिकारीका अनुसार आरोपित यावदलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जिप्रका कपिलवस्तु ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १७:१८
सामाग्री श्रोत :
टेक पाना