काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबिच नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहकार्य हुने भएको छ ।

दुवै संस्थाले नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालभित्रै एनसीएचएलको नेपालपे क्यूआर र अन्य क्यूआर व्यापारिक स्थानहरूमा मास्टरकार्ड प्रयोग गरेर सजिलै मोबाइल क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने सहमति गरेका छन् ।
यो सहकार्यसँगै अब नेपाल घुम्न आउने मास्टरकार्ड प्रयोगकर्ताले नेपालपे क्यूआर स्क्यान गरेर सामान तथा सेवाको भुक्तानी गर्नसक्ने एनसीएचएलले जनाएको छ ।
एनसीएचएलका अनुसार हाल नेपालमा नेपालपे क्यूआर र अन्य इन्टरअपरेबल क्यूआर नेटवर्कमा करिब १० लाखभन्दा बढी मर्चेन्ट आबद्ध छन् । उता मास्टरकार्डले विश्वभर तीन अर्बभन्दा बढी कार्ड जारी गरिसकेको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा स्थापना भएको डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनी हो । एनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ, इन्टरबैंक पेमेन्ट सिस्टम, नेसनल पेमेन्ट स्विच, कनेक्टआईपीएस लगायतका डिजिटल भुक्तानी सेवा दिँदै आएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ २३:३१
सामाग्री श्रोत :
टेक पाना