काठमाडौं । गुगल क्रोम धेरैको मनपर्ने ब्राउजर हो । संसारभर सबैभन्दा धेरै प्रयोग हुने ब्राउजरमध्ये क्रोम अग्रस्थानमा पर्छ । तर, जति धेरै लोकप्रियता, त्यति नै गोपनीयता र सुरक्षासम्बन्धी जोखिम पनि त्यसमा देखिन्छ ।

त्यसैले अहिले क्रोमको विकल्पका रूपमा बजारमा विभिन्न उत्कृष्ट ब्राउजरहरू उपलब्ध छन् । यी ब्राउजर गोपनीयता, सुरक्षा र विशेष फिचरका हिसाबले क्रोमभन्दा अझ प्रभावकारी मानिन्छन् । यसमध्ये आज हामी पाँच उत्कृष्ट एन्ड्रोइड ब्राउजरबारे चर्चा गर्दैछौँः
१. ओपेरा (Opera)
ओपेराको मुख्य विशेषता कस्टमाइजेसन र बिल्ट-इन एआई फिचर हो । यसको यूजर इन्टरफेस सहज र एक हातले चलाउन मिल्ने खालको छ । तपाईंले सर्च बारलाई स्क्रिनको तल सार्न सक्नुहुन्छ, जसले ब्राउजिङ थप सजिलो बनाउँछ । साथै, ‘Aria’ नामक शक्तिशाली एआई असिस्टेन्टले तपाईंको वेब ब्राउजिङ अनुभवलाई अझ स्मार्ट बनाउँछ । यसमा एड ब्लकर, अफलाइन पेज सपोर्ट, डेस्कटप र मोबाइलबीच सजिलै ब्राउजर सिङ्क गर्न सकिने सुविधा पनि छ ।

२. ब्रेभ (Brave)
ब्रेभ प्राइभेसी र सुरक्षाको मामिलामा अत्यन्त शक्तिशाली ब्राउजर हो । Tor ब्राउजरपछि सबैभन्दा सुरक्षित ब्राउजरको रूपमा लिइन्छ । यसमा ‘Leo’ नामक एआई असिस्टेन्ट छ, जसले वेबसाइटको सारांश बनाउने, च्याटमार्फत प्रश्नको जवाफ दिने सुविधा दिन्छ । साथै, बिल्ट-इन भीपीएन, ट्र्याकर र एड ब्लकर, ट्र्याकिङ यूआरएल रिडाइरेक्ट, HTTPS अपग्रेड, स्क्रिप्ट ब्लकिङ, फिङ्गरप्रिन्ट प्रोटेक्सन, स्वतः डेटा क्लियर हुनेजस्ता फिचरहरू पनि उपलब्ध छन् ।
३. डकडकगो (DuckDuckGo)
गोपनीयता र ट्र्याकर ब्लकिङमा केन्द्रित डकडकगो पछिल्लो अपडेटसँगै एआई असिस्टेन्ट फिचरको राम्रो विकल्प बनेको छ । यसले कुन वेबसाइटले कति ट्र्याकर प्रयोग गरिरहेको छ भन्ने जानकारी दिन्छ र ट्र्याकिङ प्रयास गरिएमा सूचित पनि गर्छ । साथै, ‘duck.ai’ नामक फिचरले तपाईँको समस्या समाधान गर्न उपयुक्त एआई छनोट गर्न सहयोग गर्छ । भीपीएन सुविधा पनि छ, तर यसको प्रिमियम अपग्रेड चाहिने हुन्छ ।
४. आर्क सर्च (Arc Search) अनलाइन सामग्री खोज्नको लागि उपयुक्त ब्राउजर हो । यो ब्राउजर अरू जस्तो अत्याधुनिक प्रविधिमा आधारित नभए पनि, उपयुक्त सर्च इञ्जिन छान्न र प्रयोगकर्तालाई मनपर्ने सर्च टुल जस्तै Perplexity जडान गर्न सकिने सुविधा दिन्छ ।
५. फायरफक्स (Firefox) पुरानादेखि प्रयोग हुँदै आएको फायरफक्स अहिले पनि सुरक्षामा भरोसायोग्य छ । एक्सटेन्सन समर्थन गर्ने पहिलो एन्ड्रोइड ब्राउजरमध्ये एक हो । तपाईं यसमा uBlock Origin, Ghostery, NoScript जस्ता एक्सटेन्सन थपेर अझ सुरक्षित ब्राउजिङ गर्न सक्नुहुन्छ । यो ओपन सोर्स प्रविधिमा आधारित भएकाले थप सुरक्षित र प्रयोगकर्तामैत्री मानिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १५:५
सामाग्री श्रोत :
टेक पाना