
काठमाडौँ–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष नेपालले तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै माओवादीबाट प्रचण्ड मिसिएको बताए।
‘ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो। यी जम्मै कुराहरु गर्ने हामी तीन जना नेता हौँ। एउटा गिरिजाप्रसाद कोराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र,’ उनले भने, ‘पछि मात्रै हुन् प्रचण्ड जी। पछि मात्रै हो उहाँहरू आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो।’
कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए। उनले पछिल्ला घटनाक्रमहरूप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे।

पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उनको भनाइ छ। पूर्वराजाको नाम लिएर अरूले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौती दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
















