राधिका शाक्य राजनीतिमा उच्च नेतृत्वको अर्धाङ्गिणी भएर पनि आलोचनाबाट अपवाद रहने थोरै व्यक्तित्वमा पर्ने कुशल राष्ट्र सेवक हुनुहुन्छ भन्ने लाग्छ मलाई। आत्मकथाका रूपमा रहेको यो दोस्रो कृति ‘करूणा’ मा ४१ ओटा शीर्षकमा उहाँका अनुभूति र फरक फरक सन्दर्भहरू समेटिएका छन्।

नेपाल राष्ट्र बैँकमा २०३६ देखि २०६८ सम्म बढोत्तरी हुँदै ५ तहसम्म सेवा गरेर स्वेच्छिक अवकास लिँदा गरेको करीव ३३ वर्षको सेवालाई लेखकले आफ्नो कार्य क्षमता र काम प्रतिको निष्ठालाई आदर्श मानेर अघि बढेको अनुभूति पस्किनु भएको छ।
उहाँका पति तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट ‘करूणा र राधिका’ शीर्षकमा भूमिका मन्तव्य रहेको छ। पाणिनी बुक्सले प्रकाशन गरेको यस कृतिले एकजना सफल राष्ट्रसेवक र उच्चस्तरका राजनेताकी पत्नीका रूपमा उहाँले गरेका अनुभूति मात्र होइन विपन्न शहरी परिवारमा हुर्किएकी एक नेवारी बालिकाको सङ्घर्ष र सफलताको कथालाई सशक्त रूपमा उजागर गरेको छ।
‘करुणा’ शब्दलाई प्रज्ञा नेपाली बृहत शब्दकोशले ‘अर्काको पीडाको अनुभव हुने भवना, दया, माया’ भन्ने अर्थ दिएको छ। पुस्तक पढ्दै जाँदा शीर्षक चयनले सङ्ग्रहित विषय सन्दर्भहरू मात्र होइन आत्मकथाकारको अन्तरहृदयको वास्तविक चित्र प्रतिविम्वित गरेको देखिन्छ।

यस कृतिमा मृत्युका मुखैमा पुगेर फर्किंदा, कलम समाउने हातमा क्यूरिओको छिनो, सहरका सम्पन्नताभित्र नअटेको हाम्रो चुहिने छानो, शान्तिको गीत गाउन खोज्दा कुँडिएको मन, हजुरआमाको स्वेटर, नेवारकी छोरी भएर नेपाली विषयमा राम्रो गर्दाको पीडा, कमरेड ‘सञ्जु’ बर्को ओढेर पञ्चायतको मलामी, राष्ट्र बैंकका तीन दशक र बिझाइरहने यादहरू, जीवनको त्यस घुम्तीमा जुरेको सहयात्राको संयोग, पाटनकी छोरी झापाकी बुहारी, निरंकुशताको अन्धकार चिरेर उदाएको स्वतन्त्रताको बिहानी, मेरो खुसी खोस्ने टेलिफोनका टिङटिङ, जनताको अभिमतले विद्रोहको अनुमोदन, दासढुंगामा निभेको आशाको दियो , टेम्पो चढ्ने मन्त्राणी, समृद्धिको शिलान्यास भत्काएर अस्थिरताको बीजारोपण, मन्त्री निवासबाट फर्किएर माइतीघरमा, वेदनाले चिरिएका मुहारमा खुसी फर्किंदा, आमा, मेरा लागि सबैभन्दा ठूलो पर्वः केपी सरको जन्मदिन, सन्तानको सन्तापभन्दा माथि हाम्रो फराकिलो परिवार, आफ्नै घरमा नजरबन्द, मूर्ख मन्त्राणी, समयको आर्तनाद र आँसु बनेर बगेका पीडाका भेलहरू, मैंले चिनेका केपी शर्मा ओली, दर्शकदीर्घाको आँखिझ्यालबाट चुनावी मैदान चिह्याउँदा, मेरै काखमा बाको अन्तिम श्वास, मैंले कविता लेख्न सक्ने भए, लड्दै उठ्दै धुलो टक्टक्याँउदै शिखरतर्फको यात्रा, पानीजस्तै जिन्दगानी, मेट्न मिल्ने भए त्यो दिन क्यालेण्डरबाटै मेटाइदिन्थें, प्रधानमन्त्री निवासमा तन राष्ट्र बैंकतिरै मन, पदले निर्धारण गर्न सक्दैन सम्बन्धको कद, केपी ओली ट्रस्टः परिकल्पना र सपना, बालुवाटार बसाइका सम्झनाहरू, बालकोटको बार्दली, समृद्धिको संकल्प यात्रामा मेरो सहभागिता, घरमा मदिराको बार कि पुस्तकालय ?, जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसी र जीवनका बाँकी पानाहरू शीर्षकमा ४० ओटा अनुभूतिजन्य विषयहरू रहेका छन्।
पुस्तकको अन्त्यमा आत्मकथाकारको ‘आभार’ र प्रकाशकका शीर्षकविहिन शब्दहरू रहेका छन्। त्यसभन्दा पछिका रङ्गिन आठ पृष्ठलाई तस्विर खण्ड नामाकरण गरी समेटिएका १६ ओटा तस्विरहरूले जीवनका महत्वपूर्ण सन्दर्भलाई सजिव बनाएको छ। यसरी ३०२+२६ + ४ गरी ३३२ पृष्ठ रहेको यस पुस्तकको मूल्य रू. ५९५ छ।
नेपाली साहित्यमा आत्मकथाहरू धेरै छन्। आत्मकथाले आत्मकथाकारको निजी जीवन मात्र होइन तत्कालीन परिवेश र सन्दर्भहरूको अभिलेखन गरी पाठकलाई सुसूचित गराउँछ।
यो आत्मकथा मुलुकका एकजना सधैँ सकृय र उर्जाशील राजनीज्ञ जसको स्वास्थ अवस्था कमजोर छ तर बलियो आत्मबल र उच्च निगरानीका बलमा सहज व्यवस्थापन भैरहेको देखिन्छ, सँग प्रत्यक्ष जोडिएर र जोडिनुभन्दा पहिलेको अवस्थालाई यथार्थपरक शैलीमा प्रस्तुत छ।
मुलुकको तत्कालीन तथा वर्तमान सामाजिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक, शैक्षिक, प्रशासनिक, पेशागत र कुटनीतिक विषयका अतिरिक्त विविध विषयहरू समेटिएका छन्। तथापि यो समीक्षा शिक्षा र जीवनदर्शनका केही पक्षमा मात्र केन्द्रित गर्न खोजिएको छ।
राधिका शाक्य पाटनको निम्न वर्गीय नेवारी समुदायमा हुर्किएको एक प्रतिनिधि पात्र।अरूले हेर्दा पाटन दरवार क्षेत्रको स्थायी बासिन्दा हुनु र अझ नेवार समुदाय जो कला र संस्कृतिको धनी, व्यापार व्यवसाय वा कृषि पेशामा पनि पुर्ख्यौली विरासत बोक्ने समुदाय।
हजुरवाको सोझोपनमा घरमुनिबाट बग्ने ढल पाप्त गरेको परिवारको कमजोर विरासतमा टेक्दै हाँसिल गरेको सफलता र सङ्घर्षको विवरण विशेषत: युवा वर्गका लागि अधिक प्रेरणादायी छ।
‘मेरो बिमार निको हुनुमा औषधीमुलोले जति काम गरेको छ त्योभन्दा बढी बाको माया, स्नेह र हेरचाहले गरेको छ।‘ साच्चै सन्ततिलाई आफ्ना अभिभावकको ममता र प्यार नै सानातिना रोगको अचूक औषधि बन्छ भन्ने सन्देश दिएको छ यो अभिव्यक्तिले। मातृपितृ स्नेहभन्दा टाढा रहेर भौतिक सुख सुविधामा रमाउने प्रवृत्तिलाई यसले करुण सन्देश दिएको छ।शिक्षामा यो विययलाई जोड्न सकिन्छ।
विमारी परेर निको हुँदै गएपछि अलिअलि स्कुलको याद आएपनि जाँगर हराएको, आफ्नो कक्षाका साथीहरू छुटेको अनि क्रमश: स्कुलको सङ्गत छुटेको र दैनिकी फेरिएको घटना आम नेपाली ग्रामीण र अझ विपन्न परिवेशमा आजपर्यन्त रहेको वास्तविकता हो। विद्यालय भर्ना अभियानलाई सफल बनाउन यस्तै परिवेशलाई ख्याल गरेर अघि बढ्न सक्नुपर्छ।
‘त्यो चिरिभाइको घरमा त कोही पढेको पनि छैन। पढेको कोही मान्छे घरमा भए पो बुद्धि हुनु‘ ती शब्दले मेरो मन नराम्ररी घोचे।‘ अझ ‘आफ्ना परिवारका बारेमा अरूले बोलेको कुरा बिझ्दो मात्र रहेनछ, पोल्दो रहेछ।‘ भन्ने अभिव्यक्तिले सिकाइको यात्रा मोडिन कुनै ठूलो समारोह वा पुस्तक वा अध्ययनको निश्कर्षभन्दा पनि यस्तो मन छुने सन्दर्भले बढि काम गर्न सक्छ भन्ने सन्देश दिएको छ।त्यसैले त उहाँमा ‘मैले पढ्न छाडेपछि त छिमेकीले पेल्ने रहेछन्, बाआमालाई हेप्ने रहेछन्; परिवारको कुरा काट्ने रहेछन्। पढ्नु पो पर्ने रहेछ, बाआमाले पो अब पढ्न सक्नु हुन्न। म त सक्छु नि’ भन्ने सोच उदाएको देखिन्छ।
यसपछिका सन्दर्भहरू पनि उस्तै संषर्षमय र प्रेरणादायी छन्। पढ्ने निश्चय गरेपछि ‘बा म भोलिदेखि स्कुल जान्छु’ भनेर उच्च स्वरमा बोलेको र बा प्रतिक्रयाविहिन भएको विषय आम नेपाली परिवेशको विम्ब हो। शिक्षाको चेतना नहुने र परिवार पाल्न सधैँ श्रममा बढी समय खर्चनु पर्ने बाध्यतामा रहेका अभिभावकलाई आफ्ना सन्तानको इच्छा पूरा गर्ने मन भएर पनि क्षमता भए नभएको एकिन नभएपछि के गर्ने के नगर्ने भन्ने असमञ्ज अवस्था रहने गर्छ।
यस्तो समयमा अगुवाले ढाडस दिएर सही निर्णय गर्न प्रोत्साहित गर्न सक्नु पर्छ भन्ने सन्देश लिन सकिन्छ यहाँबाट।त्यसैले त लेखिकाको बुझाइ ‘सायद बालाई स्कुलको रूचि पनि थिएन र छोरीको कुरा काट्न पनि मन थिएन’ भन्ने रहेको छ।
यसपछि विद्यालय भर्ना गर्न एक्लै गएको ६ कक्षा पढ्दै गर्दा पढ्न छोडेको भए पनि ८ कक्षामा भर्ना हुन पाएको प्रशंगले एकातिर पढ्ने अठोटले सिकारूमा बढाउने आँट र अर्कातिर अनौपचारिक वा अरितिक शिक्षाले मान्यता पाउने अवस्थालाई दुवै दृष्टिकोणबाट हेर्न सकिन्छ।
अहिले शिक्षामा कार्यक्रममा रहेको ‘पढ्दै कमाउदै’ गर्ने अभ्यास त्यतिवेला राधिका शाक्यले पनि अपनाएको रहेछ। ‘बिहानको पढाइ थियो, ७ बजे देखि ११ बजेसम्म स्कुल लाग्थ्यो। त्यसपछि छिटोछिटो घर आएर क्यूरिओमा काम गर्न जान्थौं। साथीहरू खाना खाएर ट्यूसन पढ्न जान्थे।
म भने न्हुच्छे बहादुर दाइको क्यूरिओमा काम गर्न जान्थें।‘ यो प्रस्तुतिले हामी धेरैलाई आफ्नो बाल्यकालमा फर्काउँछ। म आँफैँ घर नजिकको विद्यालय भएकाले पहिलो घण्टी खाना नखाइ पढ्न जाने र दोस्रो वा तेस्रो घण्टीको बीचमा मिलाएर घरमा खाना खाएर फेरि स्कुल पुग्ने गरेको र प्राय: दिन टिफिनको समयमा अरू साथीहरू खेल्ने र हामी दाजुभाई गाइबस्तुलाई पानी खुवाउन वा यस्तै घरायसी काममा लाग्ने गरेको स्मरण गरायो।
घरभन्दा टाढा विद्यालय हुने बालबालिकाको व्यथा कि त पढ्न नै जान नपाउने वा भोकभोकै हुनुपर्ने अवस्था स्वाभाविक थियो। त्यो समयमा अहिले तल्ला कक्षामा जस्तो न त विद्यालयमा दिवा खाजाको सरकारी प्रबन्ध थियो न त खाजा लिएर जाने वा किनेर खाने चलन नै थियो।
बिहान जुरूक्क उठेर घाँस दाउरा गर्ने वा बाबुआमालाई सघाएर हतार हतार विद्यालय दौडने र एकैचोटी साँझमा खाजा/खाना पाउने वा त्यो पनि नपाउने जस्तो कठिन अवस्था नेपाली समाजमा पहिलेको तुलनामा धेरै कमी आएको छ।
विद्यार्थी कालको अर्को घटना स्मरण गर्दै उहाँ लेख्नुहुन्छ ‘ मदनस्मारकका केटीहरूको फ्रकको कलर पहेंलो भनेर ‘पहेलपित्ते जन्डिस’ भन्थे।उनीहरूले हाम्रो स्कुलका केटीहरूलाई ‘रायोको साग’ भन्थे।
त्यही निहुँमा कहिलेकहीँ बाटोमै झगडै पर्थ्यो। यो जुध्ने, झगडा गर्ने, बाझाबाझ गर्ने काममा म पहिल्यैदेखि एक कोस टाढै हुन्थें।‘ यो घटनाबाट विद्यार्थी कालमा कुनै विषय विना नै निहूँ बनाएर झगडा हुन सक्ने र यस्ता झैझगडाबाट टाढै रहेर शान्त, सहनशील र अध्ययनशील भएमात्र सफल हुन सकिन्छ भन्ने सन्देश मिल्छ।
विद्यालयमा पढ्दा ताकाकै अर्को सन्दर्भ भने अहिले पनि निकै सोचनीय देखिन्छ, ‘एकजना अङ्ग्रेजी पढाउने सरले ट्यूसनमा परीक्षामा आउने प्रश्नहरू केन्द्रित भएर पढाउने अनि कक्षामा चाहिँ ती विषयमा नपढाउने गर्नुहुँदो रहेछ। त्यो पनि मैले निकै समयपछि थाहा पाएँ। म ट्यूसन नजाने भएकोले एस.एल.सी.मा अङ्ग्रेजीमा फेल हुन्छेसमेत भन्नुहुन्थ्यो।’
यो स्मरणले त्यस समयको एउटा तीतो अनुभव पस्किएर नीतिनिर्माता र अभ्यासकर्ता सबैलाई झक्झक्याएको छ। यस्तो प्रवृत्ति शिक्षकका लागि किमार्थ क्षम्य हुन सक्दैन। बालबालिकालाई प्रगतिका नाममा अतिरिक्त पठनपाठनका रूपमा ट्यूसन गर्नु पर्ने तर कक्षामा पढाइ कमजोर बनाउने आढम्बरी वातावरण अहिले झन् बढेको छ। यसमा सुधार गर्न आवश्यक देखिन्छ।
तत्कालीन समयमा एस. एल. सी. परीक्षालाई फलामे ढोकाका रूपमा लिने गरिन्थ्यो। अहिले पनि एस.ई.ई. परीक्षालाई महत्व दिने गरिएकै छ।यस कारण पनि यो परीक्षाको नतिजालाई बढी नै हेक्का गरिन्छ।यस्तै विषयमा लेखिकाको अनुभव भने निकै मन छुने रहेको छ।
‘ एक दिन बाको पसल हुँदै हिँड्दै गर्दा मोहनचन्द्र सर परबाट चिच्याउँदै आउनु भयो। ‘ए चिरिभाइ एस.एल.सी. को रिजल्ट भयो नि हिजो।’ ‘एस.एल.सी.? रिजल्ट ? के भन्छ सर।’ ‘अँ एस.एल.सी. को रिजल्ट भयो नि। राधिकाले पनि दिएको थियो नि।’ बल्ल बाले एस.एल.सी. को रिजल्ट भनेको बुझ्नु भएछ। ‘हाम्रो राधिका पास भयो त? सियोमा धागो छिराउँदै गर्दा सरपट्टि नहेरी बाले सोध्नु भयो।’ ‘पास? पास हो त? फस्ट डिभिजन ल्यायो। फस्ट भयो। सबैलाई जित्यो। स्कुलकै नाम राख्यो राधिकाले। स्कुलको मात्र हैन सिङ्गो ललितपुर कै नाम राख्यो। एकदिन देशकै नाम राख्छ तिम्रो छोरीले। पास भयो भन्दा बा को मुहारमा खुसी छायो। स्कुलकै नाम राख्यो राधिकाले भन्दा बाका आँखामा आँसु आए। खै के सम्झिनुभो ? बा त हिक्कहिक्क गरेर रून पो थाल्नु भो। बा निकै बेर रूनु भयो त्यो दिन। ‘
आफ्ना सन्ततिको सफलतामा रमाउने अधिकार छ अभिभावकलाई। जीवनका अनन्त समयमा भोगेका सुख दुखका सार रमाइलो वा खुसीको क्षणमा आँशु भएर निस्कन्छन्। त्यतिवेला रून हुने नहुने कुनै परवाह हुन्न। आफ्नो विद्यार्थीको उच्च सफलतामा शिक्षक पनि उत्साही हुनेर हुनै पर्ने स्वभाविक सत्य पनि यहाँ प्रकट भएको छ।
एकजना सफल विद्थार्थी पछि सफल जागिरे जीवन विताए पछिको अनुभूति पनि हरेक पेशाकर्मीका लागि प्रेरणादायी छ।‘मलाई मेरो कामसँग मात्र सरोकार हुन्थ्यो र आधार थियो आफ्नो कार्यक्षमता र कामप्रतिको निष्ठा। मलाई स्वाभिमानपूर्वक बाँच्न सघाउने नै राष्ट्र बैंक हो। मेरो आफ्नो क्षमताअनुसारको भूमिका राष्ट्र बैङ्कले नै दिएको हो। मलाई आत्मनिर्भर बनाएकै राष्ट्र बैंकले हो।’
अहिले पेशाकर्मीलाई आफ्नो काम बाहेक अरू सबै कुरा आउँछ भनेर व्यङ्ग गर्ने गरिन्छ। हुन पनि अधिकांश पेशाकर्मीले आफ्नो पेशा वा कार्यालयप्रति गर्ने गरेका नकारात्मक टिप्पणीको ठिक विपरित यहाँ आफूलाई आत्मनिर्भर बनाएकै राष्ट्र बैंकले हो भनेर संस्थाप्रति कृतज्ञ भाव प्रकट भएको छ।यसबाट हरेक पेशाकर्मीले आफूसम्बद्ध संस्थाप्रति सकारात्मक सोच राख्नुपर्ने सन्देश दिएको छ।
सेवानिवृत्ति पछि पनि सेवा गर्दाका चरणमा भएका नकारात्मक विषयलाई बोकेर दु:खी हुने प्रवृत्तिलाई ‘जागिरे जीवनका तिता अनुभूतिले अलिअलि पोल्छन्, बेलाबेला धड्कन बढाउँछन् पनि तर समग्रमा मैले विशुद्ध सेवाभाव र समर्पणपूर्वक गरेको बैंक सेवाका मिठा क्षणहरूको सम्झनाले सहज मलमपट्टी गरिदिन्छन्।’
भनेर निकै उपयोगी अनुभूति राखिएको छ। अर्थात् व्यक्ति जुनसुकै पेशा व्यवसायमा रहे पनि त्यहाँ आफ्नो अन्तरमनलाई समेत चित्त बुझ्दो गरी कर्म गर्नुपर्छ। अन्तरमनदेखि नै आफ्नो कर्तव्यप्रति सन्तुष्ट भएर सेवा निवृत्त वा अलग हुन सकेमा यो नै सुखदुखमा आफूलाई सन्तोषको सास फेर्ने आधार बन्न सक्छ भन्ने सन्देश रहेको छ। हुन पनि आफूले गर्ने सम्पूर्ण कामको साक्षी हामी आफैँ जति हुन्छौँ त्यति नै त अरू कोही हुनै सक्दैन।
पुस्तकका हरेक पङ्ति प्रेरणादायी छन्। करूणाभावले ओतप्रोत छन्। १४ वर्ष लामो राजबन्दी जीवनबाट भर्खरै मुक्त भएका एकजना कमजोर स्वास्थ भएका तत्कालीन नेता वर्तमान प्रधानमन्त्रीसँग उहाँको विवाहको प्रसंग चलेछ। विवाहका लागि पहिलोपटक केटाकेटी भेट भएर कुरा चल्दा ‘अँ हुन्छ। म सोचेर जवाफ दिन्छु नि २/३ दिनमा’ भन्ने उहाँको उत्तरको प्रत्युत्तर रमाइलो छ।
‘यसमा सोच्नु पर्नि कुरा नै के छ र ? मेरो नाम केपी ओली। ज्यान यही हो। मसँग सम्पत्तिको नाममा केही पनि छैन। मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिँन। मैले तिमीलाई समय पनि दिन सक्दिन। योबाहेक अरू केही बुझ्नु पर्नि छ र?’ तै’नि। ‘यही हो कुरो। यसमा थप बुझेर पनि केही प्रगति हुने हैन पो।’ भन्दै उहाँ मुस्कुराउनुभयो। ‘अँ हो त्यो त।’ ‘ल हुन्छ भने हुन्छ। हुन्न भने हुन्न। केही बिग्रेको छैन। मेरो साइडबाट चाहिँ ओके भएरै भेट्न आएको हुँ।’
उहाँको यो सफेद प्रतिक्रियाबाट लेखिकाको मनमा उब्जिएको भाव चाख लाग्दो छ।
‘म जिन्दगीमा विवाह नै नगर्ने भनेर बसेकी केटीलाई पहिलो पटक विवाहको प्रस्तावसहित भेट्न आएको केटो यस्तोविन टिमुर्केको पो फेला पर्यो। सोचेर दुईतीन दिनमा भन्छु भनेको कुरालाई त अस्वीकार गर्यो गर्यो एउटा धागो धरी किन्न सक्दिन पो भन्छ !’ यसरी जोडिएको वैवाहिक जीवन र त्यसपछिका धेरै विषय नेपाली जनताका अघि खुला किताव जस्तै छन्।
यो पुस्तक र यसकी लेखिकाका बारेमा अग्रलेखमा ‘पुस्तकमा राधिकाका मानवीय भावना र मनभित्रका करूणाभावको बलियो प्रतिविम्बन भएको छ। गौतम बुद्धले करूणालाई अत्यन्तै महत्त्व दिएका छन्। करूणा मानवभित्र हुनुपर्ने आधारभूत गुण हो।
राधिकाको करूणा पक्षले पाठकलाई पनि द्रवीभूत गराउन सक्ने मलाई विश्वास छ। पुस्तकमा उनले गरेका केही कामको वर्णन समावेश छ तर त्यति मात्रै काम उनले गरेकी पक्कै होइनन्।‘ भन्ने केपि शर्मा ओलीज्यूको समीक्षात्मक टिप्पणीले पुस्तकको अन्तर्य समेटेको छ।
पुस्तकमा मानवीय भावनाका सन्देश र मनछुने विषय धेरै छन्। उहाँको यो पङ्ति हरेक मानवका लागि निकै उपयोगी देखिन्छ, ‘एउटा सक्नेले अर्को नसक्नेलाई सहयोग गर्ने हो भने समाज त्यसै परोपकारी हुँदै जान्छ। समाजलाई सभ्य बनाउँदै लाने मुख्य तरिका यही हो।
एउटाले अर्कालाई गाली गर्ने र गुनासो गर्ने मात्र गरियो भने समाजमा निराशा बढ्छ। समाजमा निराशा बढाउने काम गर्नु पनि एक हिसावको परपीडन नै हो।’ आफू जहाँ रहे पनि यो सन्देशको मर्मलाई आत्मसात गर्न सके समाजमा शान्ति र मनमा अमनचयन बढ्ने विश्वा गर्न सकिन्छ।
यस पुस्तकबाट शिक्षा र जीवनदर्शनका विविध पक्षमा निकै महत्वपूर्ण सन्देश पाउन सकिन्छ। मुलुकका राजनीतिक, सामाजिक र कुटनीतिक क्षेत्रका अतिरिक्त सहसम्वन्ध र मेलमिलापका पक्षमा पनि पुस्तकले सन्देश दिएको छ।
उच्चस्तरको सार्वजनिक जीवन विताइरहेका राजनितिज्ञकी पत्नीभएर पनि सादाजीवन विताउने र शक्तिको दुरूपयोग गर्ने भोकबाट टाढै रहेर मानवीव सेवाभावमा समर्पित शालिन व्यक्तित्वकी धनी राधिका शाक्यको यो ‘करूणा’ कृति उहाँको संघर्ष, त्याग र इमान्दारिताको प्रतिविम्ब मात्र होइन मानवलाई सत्मार्गमा लाग्न प्रेरणा दिने यथार्थवादी आत्मलेखन हो भन्ने लाग्दछ।
सामाग्री श्रोत :