२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

ओखलढुङ्गा। ग्रामीण पर्यटन प्रवरद्धनका लागि ओखलढुङ्गाको थोलेदेम्बा डाँडामा ‘गल्फ महोत्सव’ हुने भएको छ। तीन हजार ३५० मिटर उचाइमा रहेको जिल्लाकै अग्लो भाग देम्बाडाँडामा यसक्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव आयोजना गर्न लागिएको हो।

खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते देम्बाडाँडा र समग्र जिल्लाको पर्यटन विकाससँग जोडेर गाउँपलिकाले महोत्सव आयोजना गर्न लागेको बताए। उनका अनुसार महोत्सवमा अमेरिका, बेलायत, क्यानडा, कोरिया र भुटानलगायत छ देशका खेलाडी सहभागी हुनेछन्।

नेपालका विभिन्न जिल्लाबाट खेलाडीको सहभागिता रहने अध्यक्ष शेर्पाले जानकारी दिए। ‘पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा खिजीदेम्बाको पर्यटन विकासबाट आर्थिक रूपमा सहयोग पुग्ने निचोडमा पुग्यौँ। सोहीअनुसार पालिकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगितासहितको महोत्सव आयोजना गरेको हो। अब हरेक वर्ष यसलाई निरन्तरता दिनेछौँ’, उनले भने।

पालिकाले केही समयअघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्वारा सम्भाव्यता अध्ययनसमेत गरेको थियो। गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि एक महिनाअघि तीनदिने जातीय पहिचानसहितको सास्कृतिक महोत्सव आयोजना गरिएको थियो।

अध्यक्ष शेर्पाले विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङसमेतका लागि पूर्वाधार विकास गरिएको बताए। साहसिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिता आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने पालिकाको योजना रहेको उनको भनाइ छ।

एकैठाउँबाट हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्दै विभिन्न प्रजातिका गुराँस र फूलको सुगन्धमा रम्न पाइने देम्बाडाँडा पर्यटकको रोजाइमा पर्ने गरेको छ। यो डाँडा महत्वपूर्ण एक सय गन्तव्यको सूचीमा रहेको छ।


सामाग्री श्रोत :

पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधि (आईटी) क्षेत्रमार्फत लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन् । कीर्तिपुरको डाँडाबाट महिनामा दुई/चार लाख कमाउन सकिन्छ भन्ने आफ्नो अघिल्लो अभिव्यक्तिको सन्दर्भ स्मरण गराउँदै देशका अरू डाँडाहरूमा पनि त्यही सम्भावना दोहोरिन सक्ने उल्लेख गरे ।

“कीर्तिपुरको डाँडामात्र होइन, त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई/चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ,’ उनले भने, ‘त्यो पोटेन्सियल हामीसँग छ । तर त्यसका लागि सोच्नुपर्छ । सोही दिशा तय गरेर काम गर्नुपर्छ ।”

शनिबार काठमाडौंमा आयोजित ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै थापाले आईटी क्षेत्रले आर्थिक संकटमा आशाको किरण देखाएको उल्लेख गरे । 

“नेपालले फिनटेकबाहेक अन्य क्षेत्रमा खासै प्रगति गर्न सकेको छैन,” उनले भने, “तर डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी रुपमा लागु गर्न सके सूचना प्रविधि नै आर्थिक विकासको प्रमुख क्षेत्र बन्न सक्छ ।”

उनले आईटी शिक्षामा पाठ्यक्रम परिमार्जनको खाँचो औँल्याउँदै नेपालमा धेरै युवाले पढेको कुरा व्यवहारमा उपयोग नहुने स्थिति रहेको बताए । “नेपालमा आईटीमा पढेका ५० प्रतिशतले आफूले पढेको कोर्स काम नलाग्ने बताएका छन्,” उनले भने, “त्यसैले अब हामीले कोर्स परिमार्जन गर्ने, आवश्यक संरचनागत र नीतिगत सुधार ल्याउने समय आएको छ ।”

थापाले सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्यको खाँचो पनि औंल्याए । “अब कसको भागको काम भन्ने होइन, जो जहाँ छ, त्यहाँबाट जिम्मेवारी निर्वाह गर्ने हो,” उनले भने, “यसलाई अवसरको रूपमा लिऔं, सहकार्य गरेर अघि बढौं ।”

आईटीसँगै सेवा र उत्पादन क्षेत्रलाई पनि समन्वय गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले भने, “अबको ८/१० वर्षभित्र नेपाली युवाले देशमै बसेर राम्रो आम्दानी गर्ने वातावरण बन्न सक्छ, त्यो दिशा हामीले लिनैपर्छ ।”

थापाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालमा आवश्यक पोषण अर्थात् ‘न्युट्रिसन’को अभाव रहेको उल्लेख गरे । उनले भारतको ‘मेक इन इन्डिया’ अभियानले पनि अपेक्षित रोजगारी सिर्जना गर्न नसकेको भन्दै नेपालका लागि चुनौती अझै गम्भीर रहेको बताए । “हामीले यो सेक्टरका लागि आवश्यक न्युट्रिसन दिन सक्यौँ भने विश्वभर सेवा बिक्री गरेर देशको आम्दानीमा ठूलो योगदान गर्ने सेक्टर हो यो,” उनले भने ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८१ २३:३६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– भारतमा शताब्दीयौँदेखि मुस्लिमहरूले दान गरेका अर्बौँ डलर मूल्यका सम्पत्ति व्यवस्थापन सम्बन्धी एक विवादास्पद विधेयक भारतको संसद्‌ले पारित गरेको छ। घण्टौँ लामो बहस र विपक्षीहरूको आलोचनाबीच दुवै सदनले ‘वक्फ’ विधेयक पारित गरेका हुन्।

तल्लो सदन लोकसभाले पारित गरेको भोलिपल्टै माथिल्लो सदन राज्यसभाले विधेयक पारित गरेको थियो। मुस्लिम नेता र विपक्षी पार्टीहरूले उक्त विधेयकलाई “असंवैधानिक” भनेका छन्। त्यसले भारतका अल्पसङ्ख्यक मुसलमान समुदायको अधिकार हनन गर्ने उनीहरूले बताएका छन्।

सरकारले भने वक्फ भनिने मुस्लिम सम्पत्तिको व्यवस्थापनलाई यसले अझ पारदर्शी बनाउने लक्ष्य राखेको दाबी गरेको छ। कानुन बन्नुअघि यो विधेयक भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष प्रमाणीकरणका लागि पठाइएको छ। राष्ट्रपतिले चाँडै उक्त विधेयक स्वीकृत गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री मोदीको टिप्पणी

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विधेयक पारित हुनुलाई “एक महत्त्वपूर्ण क्षण” भनेका छन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले वक्फ भनिने मुस्लिम सम्पत्ति “दशकौँदेखि पारदर्शिता र जबाफदेही अभावको समानार्थी” भइरहेको टिप्पणी गरेका छन्।

“संसद्‌ले पारित गरेको विधायिकाले पारदर्शिता बढाउनुका साथै जनताको अधिकारको रक्षा गर्नेछ,” उनले लेखेका छन्। यद्यपि प्रतिपक्षले विधेयकको निन्दा गर्दै यसलाई अल्पसङ्ख्यकको अधिकार हनन गर्ने भारतीय जनता पार्टी भाजपाको अर्को चाल भनेका छन्।

कङ्ग्रेस नेता मल्लिकार्जुन खड्गेले तल्लो सदनमा विधेयकको पक्षमा २८८ मत भए पनि विपक्षमा पनि २३२ मत भएको बताए। “यसबाट हामी के अनुमान गर्न सक्छौँ भने विभिन्न दलको विरोधका बावजुद पनि यो विधेयक मनोमानी शैलीमा ल्याइएको छ,” उनले एक्समा लेखेका छन्।

कानुनसम्बन्धी समाचार प्रकाशित गर्ने वेबसाइट लाइभ लका अनुसार अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन पार्टीका अध्यक्ष समेत रहेका विधेयकका कट्टर आलोचक सांसद असदुद्दीन ओवैसीले विधेयकविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

Ncell 2
Ncell 2

वक्फ सम्पत्ति के हो

मुस्लिम परम्परामा यो समुदायको भलाइका लागि मुस्लिमहरूले गर्ने परोपकारी वा धार्मिक दानलाई वक्फ भन्ने गरिन्छ। यस्तो सम्पत्ति बिक्री गर्न वा अन्य प्रयोजनमा लगाउन पाइँदैन। यस्तो सम्पत्ति मस्जिद, मदरसा, चिहान र अनाथालयको प्रयोजनमा ल्याइने भएका कारण २० करोड भारतीय मुस्लिमहरूका लागि यो महत्त्वपूर्ण छ।

यस्तो सम्पत्ति सन् १९९५ मा जारी भएको वक्फ ऐन अन्तर्गत व्यवस्थापन हुँदै आएको थियो। उक्त कानुनले यस्तो सम्पत्तिको व्यवस्थापनका लागि राज्य स्तरीय सञ्चालक समितिलाई जिम्मा दिएको छ। यस्तो सञ्चालक समितिमा राज्य सरकार, मुस्लिम सांसदहरू, राज्य अन्तर्गतको बार काउन्सिलका सदस्यहरू, इस्लामिक विद्वानहरू र वक्फ सम्पत्तिका व्यवस्थापकहरू हुन्छन्।

भाजपा सरकारले गएको अगस्टमा वक्फ ऐन संशोधन गर्न विधेयक पेस गरेको थियो। सरकारले विधेयकमा प्रस्तावित संशोधनले वक्फको व्यवस्थापन गर्ने प्रशासकीय निकायलाई आधुनिकीकरण गर्ने र कानुनी छिद्रहरू कम गर्ने दाबी गरेको थियो।  तर मुस्लिम नेता र विपक्षी दलहरूले प्रस्तावित संशोधनले यस्ता सम्पत्तिमा सरकारको नियन्त्रण धेरै हुनसक्ने आरोप लगाए।

shivam cement

shivam cement

उक्त विधेयक थप परीक्षणका लागि एउटा समितिमा पठाइएको थियो। गएको फेब्रुअरीमा उक्त समितिले केही संशोधनसहित विधेयक पारित गरेको थियो।

विवाद निम्त्याउने मुख्य परिवर्तनहरू के-के हुन्

नयाँ विधेयकमा गरिएको एउटा परिवर्तन वक्फ सम्पत्ति निर्धारण गर्ने तरिका हो। ऐतिहासिक रूपमा मौखिक घोषणाका आधारमा वा सामुदायिक चलन अनुसार दान गरिएका सम्पत्तिलाई वक्फ सम्पत्ति मान्ने र त्यसलाई मुस्लिम समुदायले प्रयोग गर्ने अभ्यास छ।

नयाँ विधेयकले वक्फ सञ्चालक समितिले वक्फ सम्पत्तिको दाबी पुग्ने कागजातहरू पेस गर्नुपर्ने नियम प्रस्ताव गरेको छ। सरकारी स्वामित्वको विषयमा विवाद भएको अवस्थामा सरकारको निर्णय अन्तिम हुने विधेयकमा उल्लेख छ।

विधेयकमा गरिएको अर्को परिवर्तन वक्फको सञ्चालक समिति वा न्यायाधिकरणमा गैर मुस्लिमलाई पनि नियुक्त गर्न सकिने व्यवस्था हो। विधेयकले विवादको खण्डमा न्यायिक हस्तक्षेपका लागि बाटो खोलेको छ। विवाद भएको अवस्थामा वक्फ न्यायाधिकरणको निर्णय अन्तिम मान्ने विद्यमान व्यवस्था नयाँ विधेयकले प्रतिस्थापन गरेको छ।

उक्त विधेयकले केन्द्रीकृत दर्ता प्रणाली पनि प्रस्ताव गरेको छ जस अन्तर्गत विधेयक कानुन बनेर आएको छ महिनाभित्र सबै वक्फ सम्पत्तिहरू दर्ता गरिसक्नुपर्ने हुन्छ। नयाँ वक्फ सम्पत्तिको दर्ताका लागि पनि यही प्रणालीबाट वक्फ सञ्चालक समितिमा आवेदन दिनुपर्ने प्रस्ताव छ।

वक्फ सम्पत्तिहरूको सर्वेक्षणमा सरकारको भूमिकामा व्यापक वृद्धि गर्ने प्रावधानहरू पनि विधेयकमा प्रस्ताव गरिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ताप्लेजुङ। यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा आज एकैदिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्। दसैँ, तिहारपछि आज एकैदिन यति ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज सात हजार १४६ जना दर्शनार्थी पाथीभरामा पुगेका छन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार दसै, तिहारपछि पहिलोपटक सात हजार बढी भक्तजन यहाँ पुगेको यो पहिलोपछक हो।

तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा चिसो मौसममा बर्सेनि भक्तजनको आगमन घट्ने गरेको निर्देशक हाङबाङले बताए। यो वर्ष चिसोसँगै केबलकार निर्माणका क्रममा देखिएको विवाद, बन्दलगायत कारणले अघिल्लो वर्षको तुलनामा भक्तजनको आगमन केही घटेको उनको भनाइ छ।

हाल पाथीभरा आउनजान केबलकार निर्माणको विषयले कुनै असर नगर्ने बताउँदै उक्त विषयलाई लिएर अन्योलमा नपर्न हाङबाङले भक्तजन तथा पर्यटकलाई आग्रह गरे।

यसैबीच, पाथीभरा क्षेत्रमा सिजनमा भक्तजनको घुइँचो बढी हुने भएकाले कुनै समस्या भएमा मन्दिर क्षेत्र विकास समिति वा पाथीभरा क्षेत्रमा रहेका सुरक्षा निकायसँग सम्पर्क र समन्वय गर्न समितिले सबैलाई अनुरोध गरेको छ।


सामाग्री श्रोत :

पाथीभरामा आज सात हजार बढी दर्शनार्थी

काठमाडौं– सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । 

जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ ।

Ncell 2
Ncell 2

तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने प्रचलन रहेको व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ ।

shivam cement
shivam cement

मच्छिन्द्रनाथको राष्ट्र प्रमुखले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

धनकुटा। धनकुटामा भएको १७औँ सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध युथ क्लवले जितेको छ। सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज सम्पन्न खेलमा उदयपुरको गाईघाट फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो।

निर्धारित समयमा २-२ गोलको बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुटआउटमा गाईघाटका धिरेन क्षेत्रीको प्रहार नमोबुद्धका गोलकिपर रविन बस्नेतले रोकेपछि सप्तरी विजयी भएको हो। पेनाल्टी सुटआउटमा नमोबुद्धको तर्फबाट विवेक राई, हेमन्त भूजेल, प्रवेश दनुवार, सनम धिमाल र आयुष मगरले गोल गरे। यस्तै, गाईघाटको तर्फबाट निश्चल मोक्तान, आकाश राई, प्रविन राईले गोल गरेका थिए।

खेलको पहिलो हाफको ४०औँ मिनेटमा राज भुषालले गोल गर्दै नमोबुद्धलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसलगत्तै ४१औँ मिनेटमा गाईघाटका आकाश राईले गोल गरेर खेललाई बराबरी बनाए। नमोबुद्धका क्षितिज भण्डारीले ४४औँ मिनेटमा एक गोल गरेपछि २-१ को अन्तर भएको खेल, दोस्रो हाफको ८३ औँ मिनेटमा उदयपुरका अशिम राईले गोल गरेपछि बरावरीमा टुङ्गिएको थियो।

फाईनल खेलको म्यान अफ दी म्याच नमोबुद्धका गोल रक्षक रविन बस्नेत, सर्वोत्कृष्ट खेलाडी राज भुषाल, उत्कृष्ट डिफेन्डर आयुष मगर, उकृष्ट मिडफिल्डर विवेक राई, उत्कृष्ट प्रशिक्षक सुरेश लामा घोषित भए। यस्तै, उत्कृष्ट स्टाईकर गाईघाटबाट खेल्ने विदेशी खेलाडी फोफाना घोषित भए।

उपाधि विजेता नमोबुद्धले नगद रु चार लाख ९९ हजार नौ सय ९९ सहित ट्रफी र उपविजेता गाईघाटले नगद रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गरेको छ। विजेता तथा उपविजेता दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ तथा आयोजक सहिद भिमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।

विसं २०५५ देखि हुँदै आएको खेलको यस संस्करणमा आठवटा टोलीको सहभागिता रहेको थियो। तत्कालीन राजा बिरेन्द्रलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा हरेक प्रतिष्ठानले प्रतियोगिता आयोजना गर्दै आएको छ।


सामाग्री श्रोत :

भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोनमा स्टाइल, परफर्मेन्स र सुरक्षा सुविधाहरूको उत्कृष्ट संयोजन गरिएको छ ।

यसमा ६.७ इन्चको फुलएचडी प्लस सुपर एमोलेड डिस्प्ले, मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसर, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ५००० एमएएच ब्याट्री राखिएको छ । फोनमा २५ वाटको फास्ट चार्जिङ सपोर्ट छ ।

सामसङले यो मोडेलमा ६ वर्षसम्म अपरेटिङ सिस्टम र सुरक्षा अपडेट उपलब्ध गराउने छ । साथै, सामसङ नक्स भल्ट र भ्वाइस फोकसजस्ता सुविधाले फोनलाई अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ ।

ग्यालेक्सी एम१६ फाइभजीको नेपाली बजार मूल्य २६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । फोन ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ । कलर अप्सनमा ब्ल्याक, लाइट ग्रिन र लाइट पिङ्क छन् ।

साथै, ग्राहकले हुलास फिनसर्भको सहकार्यमा न्यूनतम १३५० रुपैयाँ मासिक ईएमआईमा फोन खरिद गर्न सक्नेछन् । पुराना फोन एक्सचेन्ज गरी नयाँ एम१६ फाइभजी किन्न सबकोफोन र अर्कोस्टोरबाट सुविधा प्राप्त गर्न सकिने सामसङ नेपालले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८१ १९:४१





सामाग्री श्रोत :
टेक पाना

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन्। 

झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आपूmसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाई जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए।

महामन्त्री शर्माले भने, “चौरासी सालमा चुनाव हुँदैछ। यदि तपाईंलाई आपूmसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस्। दुई तिहाई ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन।” 

Ncell 2
Ncell 2

संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए। 

“संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत् ढङ्गले संविधानको संशोधन हो। त्यसो गर्न चुनावमा दुई तिहाई बहुमत ल्याउनैपर्छ”, महामन्त्री शर्माको भने, “हिजो राजाको पालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम र हातमा नभएको हेक्का राख्न मेरो चेतावनी छ। सडकमा मान्छे उतार्दै आकाशतिर फर्केर मेरा जनता यति छन् र उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन।”

shivam cement
shivam cement

उनले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभइ कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राखे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्तिका कार्यक्रमसहित भूमि सुधार गर्नुपर्ने बताएका छन्।

काँडाघरीस्थित किन्डल किड्स एकेडेमीको अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकलाई आत्मनिर्भर बनाउने गरी भूमि सुधार गर्न कृषि क्षेत्रमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए।

सरकारले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री खनालले स्थानीयदेखि अन्तरराष्ट्रिय बजारबीच समन्वय गर्ने काम पनि राज्यले नै गर्नुपर्ने बताए। उनले देशमा संविधान जारी भएपछि वामपन्थी शक्तिलाई सामाजिक तथा आर्थिक विकासको जनआकांक्षालाई पूरा गर्ने जिम्मेवारी र अवसर प्राप्त भए पनि त्यो पूरा गर्न नसकिएको धारणा राखे।

विगतदेखि नै सरकार यथास्थितिवादको बाटोमा हिडिरहेकाले पुनरुत्थानवादी जुर्मुराएको जिकिर गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टीले मुलुकमा राष्ट्रिय औद्योगिकरणका लागि आवाज उठाए पनि सरकारले त्यसतर्फ केही नगरेको आरोप लगाए।


सामाग्री श्रोत :

मुलुकको रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । २०२२ को अन्त्यतिर ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि यो विश्वभर चर्चामा आयो । त्यसको एक वर्षपछि काठमाडौंका सुनभ रञ्जितकार इस्लिङ्टन कलेजमा बीआईटी पढ्न थालेका थिए । डेभलपर, पेसेवर व्यक्ति, विद्यार्थी, व्यवसायी र कर्मचारी लगायत सबैका लागि कुनै न कुनै रूपमा यो च्याटबट प्रयोग हुने साधन बनेको थियो ।

बीआईटी प्रथम वर्षमा अध्ययन गर्ने रञ्जितकार अध्ययनसँगै आफ्ना विभिन्न शैक्षिक तथा व्यक्तिगत कामका लागि च्याटजीपीटी प्रयोग गर्थे । हुन त केहीले एआई च्याटबटलाई रचनात्मक तरिकाले प्रयोग गरिरहेका हुन्छन् भने केहीले त्यसलाई काम गर्ने साधनका रूपमा मात्रै उपयोग गरिरहेका छन् । तर रञ्जितकार भने च्याटबटलाई रचनात्मक ढङ्गले प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्थे । र, त्यसरी नै प्रयोग गर्थे ।

त्यही क्रममा विस्तारै एआईले तयार पारेका सामग्री पहिचान गर्ने टुल पनि बढ्दै गए । खासगरी शैक्षिक संस्थामा यस्ता टुल व्यापक रूपमा प्रयोग हुन थाले । 

यता रञ्जितकार च्याटजीपीटीसँगै क्विलबट, ग्रामर्ली जस्ता टुल पनि प्रयोग गरिरहेका हुन्थे । “पहिलो वर्षमै एआई डिटेक्सन टुल प्रयोगमा आउन थालेपछि हामीलाई गाह्रो हुन थाल्यो,” रञ्जितकार सुनाउँछन्, “त्यसरी एआईले लेखेका सामग्री पहिचान गर्नका लागि अनडिटेक्टर लगायका टुल प्रयोग गर्थें । तर, ती हामीले एफोर्ड गर्नै नसक्ने किसिमका थिए ।”

यसरी महँगा एआई डिटेक्टर र ह्युमनाइजर (एआईले तयार पारेका सामग्री मान्छेले तयार पारेको जस्तो बनाउने उपकरण) प्रयोग गर्नुपर्ने बाध्यता आएपछि रञ्जितकारले आफ्नै एआई टुल बनाउने सानो सपना देखे ।

कक्षा आठदेखि नै कम्प्युरमा निकै रुचि राख्ने उनी कक्षा ११/१२ देखि प्रोग्रामिङमा अभ्यस्त भएका थिए । ब्याचलर अध्ययन गर्दा प्रोग्रामिङको राम्रो ज्ञान भए पनि उनका लागि एआई भनेको नौलो टुल थियो । त्यही समयमा आफ्नै एआई टुल बनाउने सपनाको बिजारोपण उनको मस्तिष्कमा भइसकेको थियो ।

त्यसपछि उनी एआईबारे अध्ययन गर्न थाले । “मेरो प्रोग्रामिङको बेस राम्रो थियो । तर, एआई भने नौलो थियो,” रञ्जितकार भन्छन्, “मैले एआईसँग सम्बन्धित विभिन्न भिडिओ हेर्न थालें, अनलाइन कोर्स लिन थालें ।” उनले आफूले बनाउन चाहेको एआई टुल ‘फाइन ट्युनिङ’ का लागि पढ्नुपर्छ भन्ने बुझे ।  

फाइन ट्युनिङ (Fine-tuning) भनेको पूर्व-प्रशिक्षित (pre-trained) मोडेललाई एउटा विशेष काम (specific task) का लागि थप प्रशिक्षण दिने प्रक्रिया हो । यसमा एउटा ठुलो डेटासेटमा प्रशिक्षित गरिएको मोडेललाई लिइन्छ र त्यसलाई सानो तर सम्बन्धित डेटासेटमा थप तालिम दिइन्छ । यसले मोडेललाई नयाँ काममा अझ राम्रो प्रदर्शन गर्न मद्दत गर्छ ।

यसलाई एउटा उदाहरणबाट बुझ्न सकिन्छ: मानौं, एउटा मोडेललाई धेरै ठुलो डेटासेटमा विभिन्न प्रकारका चित्रहरू पहिचान गर्न तालिम दिइएको छ । अब तपाईं त्यो मोडेललाई बिरालो र कुकुरका चित्रहरू मात्रै पहिचान गर्न प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईंले त्यसलाई बिरालो र कुकुरका चित्रहरूको सानो डेटासेटमा फाइन-ट्युन गर्न सक्नुहुन्छ ।

रञ्जितकारले फाइन ट्युनिङबारे पनि अध्ययन गर्न थाले । उनी अगाडि भन्छन्, “मैले सबैभन्दा पहिले पाइथन प्रयोग गरेर फाइन ट्युनिङ गर्न थालें । तर, त्यसले राम्रो आउटपुट (नतिजा) दिएन । त्यसपछि मैले कसरी आफ्नै मोडेल बनाउन सकिन्छ भन्ने पढ्न थालें ।”

यसरी आफ्नै मोडेल बनाउन सकिने तरिकाबारे थाहा भएपछि एआई मोडेल तयार भइहाल्ने अवस्था थिएन । पहिले जति परिश्रम गरे त्यति नै परिश्रम अब डेटासेट तयार पार्न गर्नुपर्ने भयो । यसका लागि उनले आफ्नै कक्षाका साथी जोयाश श्रेष्ठसँग सहकार्य गरे । यो २०२४ को सुरुवात तिरको कुरा हो । त्यसपछिका तीन महिनासम्म रञ्जितकार र श्रेष्ठ आफ्नो एआई मोडेललाई उपयुक्त हुने डेटासेट सङ्कलन गर्न थाले । “हामीले एआई मोडेललाई ‘तिमीलाई यस्तो यस्तो नमूनाको टेस्क्ट आउँछ । यस्तो आउँदा त्यसलाई यसरी मिलाउ’ भनेर तालिन दिनुपर्छ,” रञ्जितकार अगाडि भन्छन्, “हामीले यी सबै डेटा एउटा एक्सल शिटमा राखेका हुन्छौं । यो सबै डेटा राम्रोसँग ट्युनिङ गरेर राख्नुपर्छ ।”

अर्थात उनीहरूले एआईलाई सबैभन्दा पहिले एआईले यस्तो शब्द तयार पार्छ अनि तिमीलाई यस्तो शब्द आयो भने मान्छेको जस्तो शैली बनाउन यस्तो गर्नु भनेर ठुलो सङ्ख्याको डेटाबाट तालिम दिए । यो काम उनका लागि सहज थिएन । उनी सम्झिन्छन्, “हामीले आफैले डेटा बनाउन थाल्यौं । लगभग १० हजार रोजको डेटा हामीले बनायौं । अहिले पनि बनताइरहेका छौं । हामीलाई यही बीच डेटाको स्रोत पहिचान गर्न र त्यसबाट डेटा सङ्कलन गर्न थुप्रै समस्या भयो ।”

उनका अनुसार उक्त एआई मोडेललाई १० हजार लाइन (रोज-Rows)को डेटाबाट तालिम दिइएको छ । उनलाई यिनै डेटा सङ्कलन गर्नका लागि तीन महिना लाग्यो । 

त्यसपछि वेबसाइटका रूपमा उक्त परियोजना अगाडि बढाउन चाहे । तर, नाम के राख्ने भन्ने उनलाई थाहा थिएन । उनी यस्तो नाम राख्न चाहन्थे जसले विश्वव्यापी रूपमा सबै प्रयोगकर्ताको ध्यान खिच्न सकोस् । त्यही क्रममा विभिन्न नाम खोजे । मनमा बसेका कत्ति नाम पहिले नै दर्ता भइसकेको पाए भने कति चित्त नै बुझेनन् । त्यही बीचमा २९ मार्च २०२४ मा ‘वन रजिस्टर’मा रञ्जितकारले ‘noaigpt’ डोमेन सर्च गरे । मौकाले यो नाम कसैले दर्ता नगरिसकेको फेला पर्‍यो । रञ्जितकारले तत्कालै यो डोमेन आफ्नो नाममा दर्ता गरे र प्लेटफर्मको नाम राखे ‘नोएआईजीपीटी’  (noaiGPT)।

खर्च व्यवस्थापन र माइक्रोसफ्टबाट अनुदान !

डेटा सङ्कलनका रञ्जितकार र श्रेष्ठ आफैँ खटिए । कलेजको समय छुट्याएर डेटा सङ्कलनमै लगाए । यसरी उनले झन्डै तीन महिनासम्म डेटामार्फत एआईलाई तालिम दिइसकेका थिए । यसपछिको पक्रियामा कुनै ठुलो एआई मोडेलसँग फाइन ट्युनिङ गर्नुपर्ने थियो । रञ्जितकारले आफै खर्च गर्नेभन्दा पनि अनुदान वा सहयोग कताबाट पाइन्छ भन्ने अध्ययन गर्न थाले । 

त्यही समयमा अर्थात २०२४ तिर माइक्रोसफ्टले स्टार्ट्सअप फाउन्डर हब कार्यक्रम ल्याएको थियो । यो विभिन्न विद्यार्थीका परिकल्पनालाई स्टार्टअपको रूप दिने माइक्रोसफ्टको कार्यक्रम थियो । रञ्जितकारले यसमा आवेदन दिए । त्यसको केही समयपछि ५ अगस्ट २०२४ मा उक्त कार्यक्रममा छनौट भए । यसमा छनोट भइसकेपछि माइक्रोसफ्टले रञ्जितकारका लागि ओपनआईको २५०० डलर (तीन लाख ४० हजार रुपैयाँ बढी)को क्रेडिट उपलब्ध गराउने भयो ।

रञ्जितकारले खोजेको पनि यही थियो । च्याटजीपीटीको भर्सन ३.५ सँग आफ्नो एआई मोडेललाई ट्युनिङ गर्नुपर्ने थियो । पहिले उनी खर्च नभएर अड्किएका थिए । “माइक्रोसफ्टले ओपनएआईको २५०० डलर बराबरको क्रेडिट छ महिनाका लागि उपलब्ध गराइदिने भयो,” उनी थप्छन्, “यता हाम्रो मोडेल तयार भइसकेको थियो । हामीलाई त्यही आवश्यक थियो ।”

ओपनएआईको क्रेडिट पाउनासाथ एआई मोडेल ट्युनिङको काम सुरु गरे । र, औपचारिक रूपमा फेब्रुअरी २०२५ मा बजारमा ल्याए । 

के हो नोएआई जीपीटी ? कसरी गर्छ काम ? कसरी गर्न सकिन्छ प्रयोग ?

रञ्जितकारकै शब्दमा ‘नोएआईजीपीटी’ यस्तो एआई टुल हो, जसले एआईले लेखेका शब्दलाई केही नबिगारी (अर्थको अनर्थ लाग्ने) मान्छेको शैलीमा तयार पारिदिन सक्छ । यहाँ क्लिक गरेर वेबसाइटमा गइसकेपछि गुगल अकाउन्ट प्रयोग गरेर साइनअप गर्नुपर्ने हुन्छ । अकाउन्ट साइनअप गरिसकेपछि ५०० क्रेडिट पाइन्छ ।

त्यसपछि एआई टुलले तयार पारेको टेक्सलाई नोएआई जीपीटीको च्याटबक्समा पेस्ट गर्नुपर्ने हुन्छ । तपाईंले शुल्क तिर्नु भएको छैन भने एक पटकमा ५०० शब्द मात्र ह्युमनाइज गर्न सकिन्छ । 

यसरी ह्युमनाइज भएको टेक्स्ट राइटर, जीपीटी जेरो, जेरोजीपीटी, टर्निटिन (Turnitin), अनडिटेक्टएबल जस्ता टुलमा परीक्षण गर्दा उक्त लेख मान्छेले लेखेको सम्भावना अत्यधिक रहेको देखाउँछ । 

रञ्जितकारले यसका लागि टर्निटिनसँग पनि सहकार्य गरेका छन् । उक्त टुलले सम्पूर्ण रिपोर्ट नै उपलब्ध गराउँछ । टर्निटिनले कसरी रिपोर्ट तयार पार्छ भन्ने थाहा पाउन यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

प्रयोगकर्ताले दिएको टेक्स्टलाई नोएआईजीपीटीले प्रशोधन (प्रोसेस) गरेर मान्छेले लेखेको जस्तो बनाउँछ । यो प्रणाली जीपीटी ३.५ जस्तो शक्तिशाली भाषा मोडेलमा आधारित छ, जसलाई विशेष डेटासेट प्रयोग गरेर तालिम दिइएको रञ्जितकारले जनाएका छन् । यसको मुख्य प्रक्रियामा ‘फाइन-ट्युनिङ’ पर्दछ, जहाँ जीपीटी ३.५ जस्तो ठुलो मोडेललाई एआईले लेखेको र मान्छेले लेखेको टेक्स्टको ठुलो डेटासेटबाट तालिम दिइन्छ ।

हजारौं वाक्यहरू समावेश भएको यो डेटासेटले एआईलाई मान्छेको लेखन शैली बुझ्न र एआई डिटेक्टरहरूबाट बच्न मद्दत गर्छ । यस मोडेललाई टर्निटिनजस्ता एआई डिटेक्टरहरूलाई छल्नसक्ने गरी तयार पारिएको छ । रञ्जितकारका अनुसार यो सिस्टम सञ्चालन गर्न लाग्ने खर्च ओपनएआई मोडेलले प्रशोधन गर्ने टोकनको सङ्ख्यामा आधारित हुन्छ, जहाँ धेरै शब्द वा जटिल इनपुट भएमा लागत बढ्छ । हाल यो मोडेलले अङ्ग्रेजी भाषालाई मात्र सपोर्ट गर्छ । तर अन्य २५ ओटा भाषामा पनि विस्तार गर्ने योजना छ । 

लगानी र आर्थिक पक्ष

एआई-आधारित ह्युमनाइजर टुल आजको आवश्यकता भएको रञ्जितकारको अनुभव छ । उनी भन्छन्, “हामीले यो प्रणाली विद्यार्थी र लेखकहरूलाई उनीहरूको लेखनमा एआईको प्रयोग पत्ता लगाउन र त्यसलाई सुधार गर्न मद्दत गर्ने उद्देश्यले विकास गरेका हौं ।” तर, यो यात्रा सहज छैन।

सबैभन्दा ठुलो चुनौती डेटाको उपलब्धता हो । एआई मोडेललाई तालिम दिन पर्याप्त डेटा चाहिन्छ, तर रञ्जितकार गुनासो पोख्छन्, “विभिन्न स्रोतबाट डेटा सङ्कलन गर्न धेरै समय लाग्यो ।” डेटाको अभावले प्रणालीको गुणस्तरमा सीधा असर पार्छ ।

अर्को चुनौती नेपाली भाषाको सपोर्ट हो ।  हुन त अहिले एआई टुलले प्रभावकारी रूपमा नेपालीमै आकर्षक लेख लेखिदिने भन्ने हुँदैन । तर, पछि यो सुविधा आयो भने त्यसलाई पनि मानव शैलीमा परिणत गर्ने सिस्टम बनाउने उनको योजना छ । 

अहिले भने यस टुलले अङ्ग्रेजी भाषा मात्र सपोर्ट गर्छ ।

कम्पनी दर्ता र भुक्तानीको समस्या पनि त्यत्तिकै जटिल भएको उनी सुनाउँछन् । खासगरी पूर्ण रूपमा अहिले उनीहरूलाई ओपनएआईमा निर्भर हुनुपर्ने अवस्था छ । “हामी आफ्नै लार्ज ल्याङ्ग्वेज मोडेल बनाउन सक्दैनौं । बनाइरहेका छौं । तर, अहिले नै त्यो बजारमा ल्याउँदैनौं । खर्चका हिसाबले यो महँगो छ । हामीले ठुलो डेटासेटमा तालिम गराउन खोजेका छौं । तर, भुक्तानीको प्रक्रिया जटिल छ । बैंकले ५०० डलरभन्दा बढी एउटा कार्डबाट खर्च गर्न दिंदैन । त्यो पनि एक वर्षमा । हाम्रो महिनामै ३०० डलर हाराहारी खर्च आउँछ,” उनी सुनाउँछन् । 

भुक्तानीको प्रक्रिया सहज भए मोडेल अझ अत्यधुनिक बनाएर बजारमा राम्रो प्रभाव पार्न सकिने उनको विश्वास छ । नेपालबाटै पर्याप्त रकम खर्च गरेर सिस्टमलाई सञ्चालन गर्न सकियो भने त्यसबाट राम्रो आम्दानी गर्न सकिनेमा उनी विश्वस्त छन् । उनी अगाडि भन्छन्, “अहिले हाम्रा १५ हजार बढी सक्रिय प्रयोगकर्ता छन् । त्यसमा पनि ५०० बढी प्रिमियम प्रयोगकर्ता छन् ।”

उनका अनुसार प्रिमियम प्रयोगकर्तामा पनि ८० प्रतिशतभन्दा बढी नेपाल बाहिरका प्रयोगकर्ता छन् । नेपालीले भने फोनपेबाटै भुक्तानी गरेर प्रिमियम सेवा लिन सक्छन् । एक पटक ४९९ रुपैयाँ तिर्‍यो भने १० हजार शब्द प्रशोधन गर्न सकिन्छ । त्यस्तै ९९९ रुपैयाँ तिर्ने हो भने २० हजार शब्द र १९९९ रुपैयाँ तिर्ने हो भने ५० हजार शब्द प्रशोधन गर्न सकिन्छ । “हामीले विदेशी प्लेटफर्मको तुलनामा नेपाली प्लेटफर्ममार्फत भरपर्दो र सस्तो सेवा दिन खोजेका हौं,” रञ्जितकार अगाडि भन्छन्, “यो न्यूनतम खर्च हो । हामीले हरेक पटक शब्द प्रशोधन गर्दा ओपनएआईको टोकन खपत हुन्छ । र, त्यसबापतको रकम तिर्नुपर्ने हुन्छ ।” 

विदेशी प्रयोगकर्ताको हकमा भने यो शुल्क केही महँगो छ । नेपालमा डलरमा भुक्तानी गर्न र विदेशी कम्पनीहरूसँग कारोबार गर्न कठिनाइ भएको उनको अनुभव छ । रञ्जितकार भन्छन्, “नेपालबाट डलरमा भुक्तानी गर्न धेरै समस्या छ ।” यसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो बनाएको छ ।

लगानीको अभावले पनि यो प्रणालीको विकासलाई रोकेको छ । रञ्जितकार भन्छन्, “हामी विदेशी लगानीकर्ता खोजिरहेका छौं, जसले हामीलाई डलरमा भुक्तानी गर्न सजिलो बनाउन सक्छ ।” 

रञ्जितकार अगाडि भन्छन्, “एआई-आधारित टेक्स्ट ह्युमनाइजर टुल विद्यार्थी र लेखकहरूका लागि उपयोगी उपकरण बन्न सक्छ, तर यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न डेटाको उपलब्धता, भाषा सपोर्ट, भुक्तानी र लगानी जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक छ ।” यदि यी चुनौतीहरूलाई पार गर्न सकियो भने यो प्रणालीले प्रयोगकर्ताहरूका अपेक्षाहरू पूरा गर्न र लेखनको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनी सुनाउँछन् ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८१ २०:२





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट