सामाजिक सञ्जालमा पछिल्लो समय नेपाली कन्सुलेट, निकोसियाले लिने राजश्व र सेवा शुल्कलाई लिएर विभिन्न किसिमका बहस, टिप्पणी र आलोचना देखिन थालेपछि त्यसलाई स्पष्ट पार्ने उद्देश्यले कन्सुलेटले आधिकारिक सेवा शुल्क सूची सार्वजनिक गरेको छ।
विशेषगरी Cyprus मा पासपोर्ट नवीकरण शुल्क महँगो भएको, कन्सुलेटले बढी पैसा लिएको तथा होलिडे पेपरमा तोकिएभन्दा बढी रकम असुल गरिएको भन्ने बुझाइ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। यसले धेरै सेवाग्राहीमा अन्योल सिर्जना गरेपछि वास्तविक शुल्क संरचना स्पष्ट जानकारीका लागि यो सेवा शुल्क सूची सार्वजनिक गरिएको कन्सुलेटले जनाएको छ।
कन्सुलेटका अनुसार पासपोर्ट नवीकरण, यात्रा अनुमति पत्र तथा अन्य कागजातसम्बन्धी मुख्य शुल्कहरू कन्सुलेटले निर्धारण गर्ने होइन। यी सबै शुल्क नेपाली दूतावास इजरायलबाटै तोकिएका fixed fee हुन्। नेपाली कन्सुलेट, निकोसियाबाट लिइने स्थानीय सेवा शुल्क भने पासपोर्टको हकमा जम्मा १० युरो मात्र रहेको स्पष्ट पारिएको छ।
सेवाग्राहीले तिरेको कुल रकम धेरै देखिनुको मुख्य कारण दूतावासको राजस्व र कागजात पठाउँदा तथा फिर्ता ल्याउँदा लाग्ने DHL courier शुल्क हो। कागजात लाई नेपाली दुतावास इजरायल पठाउँदा करिब ५० युरो र पुनः फिर्ता ल्याउँदा अर्को ५० युरो लाग्ने भएकाले पासपोर्ट renewal को कुल लागत बढेर देखिएको कन्सुलेटले जनाएको छ।

यसअघि सेवा शुल्क घटाउनका लागि नेपाली कन्सुलेट, निकोसियाले नेपाली दूतावास, इजराइलसँग पटक–पटक ताकेता गरेको र यस विषयमा NRNA Cyprus तथा अन्य संघ–संस्थाहरूले पनि ध्यानाकर्षण गराउँदै आएको जनाइएको छ। तर हालको अवस्थामा पासपोर्टसम्बन्धी शुल्क घटाउने निर्णय सम्भव नदेखिएको कन्सुलेटको भनाइ छ, किनकि शुल्क निर्धारण कन्सुलेटको अधिकार क्षेत्रभित्र नपर्ने बताइएको छ।

सार्वजनिक गरिएको सेवा शुल्क विवरण यसप्रकार रहेको छः
-
अधिकृत वारेसनामा–१ पेज : ५ अमेरिकी डलर
-
अधिकृत वारेसनामा–२ पेज : ५० अमेरिकी डलर
-
राहदानी (पासपोर्ट) नविकरण : १०० अमेरिकी डलर
-
हराएको वा नासिएको पासपोर्ट : १५० अमेरिकी डलर
-
एकतर्फी यात्रा अनुमति पत्र : ५० अमेरिकी डलर
-
कागजात प्रमाणीकरण : ५० अमेरिकी डलर
-
होलिडे पेपर (अनुसूची–५) : २५ युरो, सेवा शुल्क नलाग्ने।
कन्सुलेटले सार्वजनिक गरेको यो सुची कुनै नयाँ शुल्क वृद्धि गर्नका लागि नभई दूतावासले लिने शुल्क, DHL लागत र कन्सुलेटको वास्तविक सेवा शुल्क कति हो भन्ने कुरा स्पष्ट रूपमा देखाउनका लागि जारी गरिएको जनाएको छ। यसमार्फत सामाजिक सञ्जालमा फैलिएको भ्रम हटाउने र सेवाग्राहीलाई सही तथा पारदर्शी जानकारी प्रदान गर्ने कन्सुलेटको उद्देश्य रहेको उल्लेख गरिएको छ।
कन्सुलेटले सेवाग्राहीलाई सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनामा विश्वास नगर्न र Nepali Consulate Nicosia fee सम्बन्धी जानकारीका लागि सेवा लिनुअघि आधिकारिक सूचना तथा सेवा शुल्क सुची हेरेर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।













