
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडेलहरूलाई अगाडि बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । डिजिटल बैंकिङ क्षमतालाई अभिवृद्धि गर्ने र ग्राहकलाई उन्नत प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित यो साझेदारी भएको हो ।
सम्झौताअनुसार आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण र डेटा परिपक्वताको मूल्याङ्कन गरी आवश्यक सुधारका क्षेत्रहरू पहिचान गर्ने तथा रणनीतिक सुझाव प्रदान गर्नेछ । यसका साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरूको प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह दिनेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने भनाइ राखे । उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

आईएफसीका एसिया र प्यासिफिक रिजनल इन्डस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले यस साझेदारीले नेपालको डिजिटल वित्तीय सेवाहरूलाई विश्वस्तरीय बनाउन मद्दत गर्ने बताए ।
पछिल्लो अध्यावधिक: चैत १५, २०८१ १२:४३
सामाग्री श्रोत :
टेक पाना