काठमाडौं । आगामी २६ चैतमा माइक्रोसफ्टले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेहरूले ५० दिने एआई तालिममा निःशुल्क सहभागी हुने मौका पाउने भएका छन् । कम्पनीले विश्वव्यापी रूपमा आयोजना गर्ने ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट २०२५’ का सहभागीले यस्तो अवसर पाउने भएका हुन् ।

यो कार्यक्रम अस्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न हुने यो २४-घण्टे विश्वव्यापी कार्यक्रममा एआई सम्बन्धी सिकाइ गतिविधिहरू समावेश हुनेछन् ।
उक्त कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले २४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले बहुस्तरीय अनलाइन एआई सम्बन्धी पाठ लिने गिनिज वर्ल्ड रेकर्ड्स (GUINNESS WORLD RECORDS) को उपाधि हासिल गर्ने लक्ष्य लिएको छ ।
सिक्ने, प्रतिस्पर्धा गर्ने र कीर्तिमान कायम गर्ने यो विश्वव्यापी कार्यक्रमको हिस्सा बन्न माइक्रोसफ्टले संसारभरका युवाहरूलाई आह्वान गरेको छ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र (आईसीटी ल्याब पोखरा) सँगको सहकार्यमा मनाउन लागिएको ‘माइक्रोसफ्ट एआई फेस्ट नेपाल २०२५’ मा नेपालभरबाट अनलाइन र कम्तीमा एक हजार जना पोखरा, काठमाडौं र दाङ्गमा प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको छ ।

८ अप्रिलको यो कार्यक्रममा भाग लिने सबै सहभागीहरू ५० दिनको निःशुल्क एआई सिकाइ तथा शिक्षण यात्रामा सहभागी हुन पाउने बताइएको छ । अप्रिल ८ को उद्घाटन समारोहपछि एआई स्किल्स फेस्ट थप ५० दिनसम्म अर्थात् मे २८, २०२५ सम्म जारी रहनेछ । जसमा विविध सिकाइ अवसरहरू उपलब्ध हुनेछन् । विद्यार्थी, शिक्षक, व्यवसायी, प्रविधिका पेसाकर्मी लगायत एआईबारे जानकारी लिन चाहने सबैले यो तालिम लिन पाउने जेनेस सोलुसन्सले जनाएको छ ।
उक्त सिकाइ यात्रामा ह्याकाथन, प्रत्यक्ष तथा भर्चुअल तालिम, आफ्नो उपयुक्त समयमा अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम, ‘माइक्रोसफ्ट लर्न च्यालेन्ज’ लगायतका थुप्रै गतिविधिहरूमा सहभागी हुन सकिने माइक्रोसफ्ट यूकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्र नेपालका सल्लाहकार हरिकृष्ण न्यौपानेले बताए ।
‘माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट’ मा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर फाराम भर्नुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १८:५३
सामाग्री श्रोत :
टेक पाना