काठमाडौं । चीनले एउटा यस्तो अनौठो फ्याक्ट्री बनाएको छ, जहाँ न कामदार छन्, न बत्ती नै बल्छ । तर पनि यो फ्याक्ट्री २४ सै घण्टा स्वचालित रूपमा चलिरहेको छ । सामाजिक सञ्जालमा ‘डार्क फ्याक्ट्री’ को नामले चर्चित यो फ्याक्ट्रीले विश्वभरका प्रविधिमा अगाडि बढ्ने होडमा लागेका देशहरूलाई चकित पारेको छ ।

चीनको चाङपिङ सहरमा रहेको यो फ्याक्ट्री पूर्ण रूपमा रोबटद्वारा सञ्चालित छ । यहाँ बत्तीको प्रयोग हुँदैन, केवल सामान वेल्डिङ गर्दा निस्कने झिल्काको उज्यालो मात्र देखिन्छ । बत्तीको पैसा बचाउनु भन्दा पनि रोबटहरूलाई प्रकाशको आवश्यकता नपर्ने भएकाले यहाँ बत्तीको व्यवस्था गरिएको छैन । अब अनुमान गर्नुहोस्, यो अनौठो फ्याक्ट्री कसको होला ?
यो फ्याक्ट्री अरू कसैको नभई हामीले सधैँ सुन्ने नाम साओमी कम्पनीको हो । साओमीले गत वर्षदेखि यो पूर्ण स्वचालित फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । यहाँ २४सै घण्टा, हप्ताको सातै दिन र वर्षको ३६५ दिन नै काम हुन्छ, तर कुनै मान्छेको उपस्थिति बिना ।
रोबटहरूले यहाँ स्मार्टफोन उत्पादन गर्छन् । कच्चा पदार्थलाई एसेम्बल गरेर अन्तिम उत्पादन तयार पार्ने सबै काम रोबटले नै गर्छन् । यसले कम्पनीको मोबाइल उत्पादन क्षमता दोब्बर बनाएको चर्चा छ ।

यो फ्याक्ट्री स्मार्टफोन उत्पादनमा मात्र सीमित छैन । यहाँका रोबटहरूले कामको क्रममा आउने सामान्य समस्याहरूका साथै अन्य रोबटहरूमा देखा पर्ने प्राविधिक समस्याहरू समेत आफैं समाधान गर्छन् ।
साओमीले फ्याक्ट्रीभित्र निस्कने फोहोर सफा गर्न स्वचालित मेसिनहरू पनि जडान गरेको छ । विभिन्न सञ्चार माध्यमहरूका अनुसार यो अत्याधुनिक फ्याक्ट्री निर्माण गर्न साओमीले करिब २.५ अर्ब युआन (लगभग ४५.५ अर्ब नेपाली रुपैयाँ) खर्च गरेको छ । यो फ्याक्ट्रीले वार्षिक एक करोड उपकरण उत्पादन गर्न सक्ने क्षमता राख्छ ।
–न्युज डटकम डट एयूको सहयोगमा
पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १८:७
सामाग्री श्रोत :
टेक पाना