काठामडौं नेपाली बजारमा उपलब्ध लक्जरी इलेक्टिक एसयूभी स्काइवेलले काठमाडौंको नक्सालमा आफ्नो फ्ल्यागशिप शोरुम सञ्चालनमा ल्याएको छ । नारायणचौरमा रहेको उक्त शोरुममा नेपालकै सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काइवेल ईटी ५ राखिने बताइएको छ । एक वर्ष अगाडि भित्रिएको स्काइवेलको यो नेपालमा पाँचौँ बिक्री कक्ष हो ।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मध्यपूर्व, रुस, सहित एसियामा समेत आफ्नो बलियो बजार बनाइरहेको छ । स्काइवेल चिनियाँ इलेक्ट्रोनिक्सको दिग्गज कम्पनी स्काइवर्थको ब्रान्ड हो ।
भक्तपुरको राधे राधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा आएको स्काइवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयूभीको विक्री वितरण सुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै कम्पनीले १०० भन्दा बढी एसयूभीहरू नेपालमा विक्री गरिसकेको उल्लेख छ ।
जी मोटर्स नेपालका लागि स्काइवेलको आधिकारिक वितरक कम्पनी हो । एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काइवेलका एसयूभीको सुरुवाती भेरियन्ट ४१० किलोमिटर रेन्जको मूल्य नै ७९ लाख ९० हजार रुपैयाँ पर्छ । यसै वर्ष स्काइवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी पनि नेपाली बजारमा भित्र्याउने दाबी गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८१ ११:१४
सामाग्री श्रोत :
टेक पाना