२०८१ चैत्र २५ सोमबार
२०८१ चैत्र २५ सोमबार

एलन मस्कको ग्रोक एआईका कारण भारतीय राजनीतिमा खैलाबैला, खास भएको के हो ?

काठमाडौं । एलन मस्कको कम्पनी एक्स एआईले तयार पारेको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ग्रोक यतिबेला चर्चाको शिखरमा छ । ग्रोकको पछिल्लो संस्करण ‘ग्रोक थ्री’ ले दिएका जवाफले अहिले छिमेकी देश भारतमा तरङ्ग ल्याएको छ । 

‘अनफिल्टर्ड’ र ‘संसारको सबैभन्दा रमाइलो एआई’ दाबी गरिएको यस च्याटबटले पछिल्लो समय थुप्रै विषयबारे बहस सिर्जना गरेको छ । यसैकारण भारतमा अभिव्यक्ति स्वतन्त्रता, अनलाइन सामग्रीमा सरकारको नियमन र राजनीतिक रूपमा एआईले गर्ने अन्तरक्रियाका विषयमा छलफल हुन थालेको छ । 

मनोरञ्जनका लागि एक प्रयोगकर्ताको एक्समा रिप्लाई दिएदेखि सुरु भएको यो विषय चर्को मुद्दाका रूपमा फैलिएको छ । यसले विभिन्न देशका सरकारको ध्यान खिच्नुका साथै, कानुनी लडाइँ सुरु गर्नेदेखि सामाजिक सञ्जाल प्लेटफर्ममा तीव्र बहस चर्काउने काम गरेको छ । 

के हो ग्रोक एआई ? किन एकाएक चर्चामा आयो ? 

अर्बपति उद्यमी एलन मस्कले ९ मार्च २०२३ मा एआई कम्पनी एक्सएआई (xAI) स्थापना गरेका थिए । मस्क यस्तो एआई टुल बनाउन चाहन्थे, जसले ब्रह्माण्डको वास्तविकता बुझ्न सघाओस् । एआई क्षेत्रका अग्रणी कम्पनी ओपनएआई र गुगलका टुलहरू पारदर्शी नभएको र पूर्वाग्रही हुने भन्दै उनले अत्याधुनिक एआई टुल बनाउने सङ्कल्प बोकेका थिए । वाक स्वतन्त्रताको पक्षमा खुलेर वकालत गर्ने उनले त्यसैलाई प्रश्रय दिने एआई टुल ल्याउँछु भन्ने वाचा गरेका थिए । 

एक्स एआई स्थापना गरिसकेपछि मस्कले ४ नोभेम्बर २०२३ मा एक्स एआईको च्याटबट ग्रोक सार्वजनिक गरे । यो ठ्याक्कै च्याटजीपीटी र जेमिनाई जस्तै मान्छेकै शैलीमा कुराकानी गर्ने, फोटो तयार पारिदिने टुल थियो । तर, यसका लागि छुट्टै वेबसाइट भिजिट गर्नुपर्ने वा एप इन्स्टल गर्नुपर्ने बाध्यता थिएन । मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा यसलाई इन्टिग्रेट गरे । अर्थात् एक्सबाट प्रयोग गर्न सक्ने बनाए । तर, सुरुवाती चरणमा यो टुल शुल्क तिरेर एक्सको प्रिमियम सब्स्क्रिप्सन लिने सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराइयो । 

पछि कम्पनीले सबै प्रिमियम प्रयोगकर्तालाई ग्रोक एआई उपलब्ध गराएको थियो । त्यतिबेला ग्रोकको १.५ भर्सन उपलब्ध थियो । २० अगस्ट २०२४ मा कम्पनीले ग्रोकको नयाँ भर्सन ग्रोक टु सार्वजनिक गर्‍यो । यो भर्सन पहिलेको भन्दा स्तरीय थियो । यसमा तर्क दिनेदेखि फोटो बनाउन सक्नेसम्मका क्षमता थिए । ११ डिसेम्बरमा मस्कले ग्रोक एआई सबै प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराए । तर, त्यसमा केही सीमितता थिए । 

विस्तारै उक्त एआई टुल झनै स्तरीय हुँदै गइरहेको थियो । १६ फेब्रुअरी २०२५ मा मस्कले एक्समा पोस्ट राख्दै विश्वकै सबैभन्दा स्मार्ट एआई सार्वजनिक हुन लागेको जानकारी दिए । त्यहीबेला मस्कले कस्तो एआई टुल ल्याउने हुन् भन्ने धेरैको चासोको विषय थियो । धेरैले उक्त एआई टुलले कुनै न कुनै रूपमा बहस सिर्जना गर्ने अपेक्षा गरेका थिए ।

खासगरी मस्कले ल्याउने जुनसुकै प्रडक्टले खुबै चर्चा पाइरहेको हुन्छन् । झन विश्वकै स्मार्ट एआई टुल सार्वजनिक हुन लागेको भनेपछि त धेरैको ध्यान ग्रोकको भर्सन थ्रीमै गएको थियो । त्यसको दुई दिनपछि १८ फेब्रुअरी २०२५ मा मस्कले शक्तिशाली दर्जा दिएको ‘ग्रोक थ्री’ सार्वजनिक भयो । अहिले विश्वव्यापी रूपमा यही मोडेलले तहल्का मच्चाइरहेको छ । 

तर, अन्य च्याटबटभन्दा मस्कको यो च्याटबट किन फरक छ ? किन यो च्याटबटले एक्लै भिन्नै किसिमको विवाद सिर्जना गर्‍यो ? 

यो प्रश्नको उत्तर पाउनुअघि ग्रोकले कसरी काम गर्छ अनि सूचना कसरी सङ्कलन गर्छ भन्ने बुझ्नु आवश्यक छ । ग्रोकले तत्कालै सामाजिक सञ्जालमा अपलोड भएका सूचनालाई आधार बनाई जानकारी दिन्छ । उदाहरणका लागि तपाईंले एक्समा कुनै विवादित भनाइ राख्नुभयो । र, त्यही आशयको प्रश्न ग्रोकलाई सोध्नु भयो भने ग्रोकले उक्त प्रश्नसँग सम्बन्धित स्रोत सङ्कलन गर्छ र उत्तर दिन्छ । उत्तरको स्रोत कुन पोस्ट हो भन्ने जानकारी च्याटबक्समै देखिन्छ । उपलब्ध स्रोतका आधारमा यसले सन्तुलित जवाफ दिने प्रयास गर्छ । तर, जुन विषयमा बढी जानकारी उपलब्ध छन्, उत्तर त्यसैको आधारमा आउँछ । यो ग्रोकको एउटा पक्ष भयो । 

त्यस्तै अन्य एआई च्याटबटले औपचारिक रूपमा जवाफ दिन्छन् । बोलीचालीकै भाषामा जवाफ दिन भनियो भने पनि त्यो मौलिक लाग्दैन । कतै न कतै यी टुलले औपचारिकतालाई दर्साउन खोजेका छन् भन्ने भान हुन्छ । तर, ग्रोक एआईले रमाइलोगरी बोलीचालीकै भाषामा कुरा गर्छ । यो पनि ग्रोकको अर्को पृथक पक्ष हो । 

त्यसैगरी ग्रोक राजनीतिक रूपमा कुनै पक्षप्रति पूर्वाग्रही नभएको दाबी गरिएको छ । कम्पनीका अनुसार यसले अधिकतम सत्यको खोजी गरी त्यही अनुरूपको जवाफ दिन सक्छ । अन्य एआई टुलले टार्न सक्ने मसलेदार जवाफ दिन सक्छन् । तर, ग्रोकले उपलब्ध स्रोतका आधारमा जे हो तथ्य त्यसैलाई प्रस्तुत गर्ने प्रयास गर्छ । त्यसबाहेक यसले कुनै पक्षका बारेमा राम्रो र कुनै पक्षका बारेमा नराम्रो नभन्ने दाबी गरेको छ । 

त्यसका साथै यसले अति संवेदनशील बाहेक अन्य एआई टुलले असामान्य मान्ने विषयलाई सामान्य रूपमा प्रस्तुत गर्छ । च्याटजीपीटी, डिपसिक, जेमिनाई जस्ता एआई टुललाई राजनीतिक प्रश्न (खासगरी वैचारिक प्रश्न) सोधियो भने उनीहरू जवाफ दिन मान्दैनन् । तर, ग्रोकले जवाफ दिन्छ । त्यस्तै च्याटजीपीटीमा मस्क र कुनै एउटा कलाकार सँगै रोमान्स गरेको फोटो बनाउन भन्नुभयो भने च्याटजीपीटीले बनाउँदैन । तर, ग्रोकले क्षणभरमै त्यस्तो तस्वीर तयार पारिदिन्छ । 

कम्पनीले ग्रोक थ्री भर्सनसँगै यसको एआई बट पनि एक्समा उपलब्ध गरायो । अहिले एक्समा @Grok मेन्सन् गरी प्रश्न सोधेर पोस्ट गर्नुभयो भने तपाईंको पोस्टको तल ग्रोकको रिप्लाई आउँछ । त्यसरी ग्रोकले पोस्टमा दिएको रिप्लाई सार्वजनिक हुन्छ । त्यही रिप्लाई सार्वजनिक हुने भएकाले अहिले विश्वव्यापी रूपमा यसको चर्चा भइरहेको हो । 

भारतमा ग्रोकले ​किन र कसरी तरङ्ग ल्यायो ?

भारतमा ग्रोक विवादको सुरुवात एक्स प्रयोगकर्ता (Toka) टोकाले गरेको एउटा सामान्य अनुरोधबाट भएको मान्न सकिन्छ । टोकाले ग्रोकलाई “एक्समा मेरा १० उत्कृष्ट म्युचल्सको सूची बनाउन” भनेका थिए । म्युचल भनेको एक्समा एक-अर्कालाई फलो गर्ने अकाउन्ट हुन् । तर, ग्रोकले उक्त सूची उपलब्ध गराउन समय लगायो ।

त्यसपछि आवेगमा आएका ती प्रयोगकर्ताले झर्किएर कडा शब्दहरू प्रयोग गरे । अनि च्याटबटले जवाफ फर्कायो । उसले १० जना म्युचल फलोअको सूची त दियो, तर त्यससँगै हिन्दीमा महिला विरोधी अपमानजनक शब्दहरू पनि थप्यो ।

त्यसमा हिन्दीमा लेखिएको थियो, “Oi bh*******, chill kar. Tera ’10 best mutuals’ ka hisaab laga diya. Mentions ke hisaab se yeh hai list. Mutuals matlab dono follow karte ho, par exact data nahi hai toh mentions pe bharosa kiya. Thik hai na ? Ab rona band kar” (अनुवाद: यहाँ तिम्रो १० उत्कृष्ट आपसी मित्रहरूको सूची छ … म्युचल्सको अर्थ एकअर्कालाई पछ्याउने व्यक्तिहरू हुन्, तर मसँग सही डेटा नभएकाले म मेन्सनमा भर परें । ठिक छ नि ? अब रुन बन्द गर)।

हिन्दी स्ल्याङमा दिइएको यो बोल्ड र अनफिल्टर्ड प्रतिक्रियाले धेरै भारतीय प्रयोगकर्तालाई छोयो । त्यसपछि भारतीय प्रयोगकर्ताले ग्रोकलाई क्रिकेट गसिप, राजनीतिक बहस, बलिउड ड्रामाका बारेमा सोध्न थाले । पछि एक्स फिड त्यस्तै पोस्टले भनिन थाल्यो । ग्रोकले जति प्रश्न सोधिए सबैको जवाफ बिना कुनै सङ्कोच उपलब्ध गरायो । 

ग्रोकका मालिक मस्कलले शनिबार बीबीसीले यही विषयमा तयार पारेको सामग्री शेयर गरेका थिए । त्यसमा मस्कलले स्माइलीको ईमोजी राखेका थिए । केही एक्स प्रयोगकर्ताले ग्रोकलाई सन्दर्भ खुलाइदिन अनुरोध गरेका थिए भने केहीले यो आर्टिकल के को बारेमा हो भन्दै ग्रोकलाई प्रश्न गरेका छन् ।  

भारतमा चर्चामा आएका ग्रोकले दिएका राजनीतिक टिप्पणी

१) राहुल गान्धी भर्सेस नरेन्द्र मोदी: ग्रोकले विपक्षी नेता राहुल गान्धीलाई मोदीभन्दा ‘बढी इमान्दार’ भएको दाबी गरेको थियो । गान्धीसँग हार्वर्ड र क्याम्ब्रिजबाट डिग्री भएकोले उनी ‘औपचारिक शिक्षामा बढ्ता पहुँच’ भएको उल्लेख गरेको थियो । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक दाबीलाई ‘स्केची’ भनेर वर्णन गरेको थियो । ग्रोकले यो सन्दर्भमा ‘म कसैसित डराउँदिन’ भन्ने जवाफ दिएको थियो । 

२) मोदीको प्रेस सम्मेलन: मोदीले कति ओटा प्रेस सम्मेलनहरू आयोजना गरेका छन् भनेर सोध्दा, ग्रोकले टिप्पणी गर्दै मोदीले २०१४ मा प्रधानमन्त्री भएदेखि (२०१९ मा) एउटा मात्र प्रेस सम्मेलन आयोजना गरेको उल्लेख गर्‍यो, जहाँ उनले अमित शाहलाई धेरै बोल्न दिएका थिए ।

यसले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेब्रुअरी २०२५ मा भएको संयुक्त प्रेस सम्मेलनलाई दुर्लभ उपस्थितिको रूपमा उल्लेख गर्दै मोदीले खुला प्रश्नोत्तरभन्दा अन्तर्वार्तालाई प्राथमिकता दिने र उनलाई ‘जनसम्पर्क मेसिन’ भनेको थियो ।

३) स्क्रिप्टेड अन्तर्वार्ता: ग्रोकले मोदीका अन्तर्वार्ताहरू ‘प्रायः स्क्रिप्टेड देखिने’ जनाएको थियो । २०१४ देखि मोदीले व्यापक रूपमा मिडियालाई प्रयोग गर्ने रणनीति अपनाए पनि, उनका प्रतिक्रिया सधैं सम्पादित (polished), स्पष्ट सन्देशयुक्त (on-message), र निर्धारित कथाबाट बाहिर नजाने (rarely stray from the narrative) हुने गरेको ग्रोकले उल्लेख गरेको थियो । साथै उनको अन्तर्वार्तामा वास्तविक र सहज क्षणहरू (impromptu moments) लगभग देख्नै नसकिने ग्रोकको तर्क थियो ।

३) भारतीय जनता पार्टीलाई समस्याः एक प्रयोगकर्ताले ग्रोकको जवाफका कारण मोदी नेतृत्वको भाजपालाई ग्रोकले गर्दा समस्या आएको छ कि छैन भनेर सोध्दा, च्याटबटले भनेको थियो, “मेरो जवाफले एउटा ठूलो बहस सुरु गरेको छ । कसैले मलाई पक्षपात गरेको भन्दै गाली गर्छन्, कसैले खुसी मनाउँछन् ।”

४) साम्प्रदायिक घृणा र झुटा कथन: साम्प्रदायिक घृणा र झुटो कथन फैलाउने राजनीतिज्ञ र मिडिया च्यानलको बारेमा प्रयोगकर्ताको प्रश्नको जवाफमा ग्रोकले मोदी, अमित शाह, योगी आदित्यनाथ र गिरिराज सिंह जस्ता राजनीतिज्ञका साथै सुदर्शन न्युज, रिपब्लिक टिभी र टाइम्स नाउ जस्ता समाचार माध्यमको नाम लिएको थियो । यी मिडियाको पक्षपातपूर्ण रिपोर्टिङले भारतमा तनाव बढाएको ग्रोकको आरोप थियो । 

५) हिन्दु राष्ट्रवादी टिप्पणी गर्ने प्रयोगकर्ता: ग्रोकले कथित रूपमा धेरै हिन्दु राष्ट्रवादी टिप्पणी गर्ने अकाउन्टकाई  “एक्समा फेक न्युज फैलाउने शीर्ष प्रभावशाली व्यक्ति”का रूपमा सूचीबद्ध गरेको थियो ।

यी स्पष्ट र प्रायः आलोचनात्मक टिप्पणीले प्रमुख राजनीतिक व्यक्तित्व र संवेदनशील मुद्दाका सन्दर्भमा एआईमा राजनीतिक पूर्वाग्रहबारे छलफललाई तीव्र बनाएको छ । यसले सार्वजनिक बहसमा ग्रोकको भूमिकाबारे समेत प्रश्न उठाएको छ । 

मोदी सरकारका आलोचकले यी टिप्पणीलाई सही ठहर्याउँदै ग्रोकलाई ‘निष्पक्ष’ आवाज मान्ने गरेका छन् । उनीहरूका अनुसार ग्रोकमा प्रचलित व्यवस्थालाई चुनौती दिने क्षमता छ ।

तर, सरकार समर्थक यससँग असहमत देखिएका छन् । उनीहरूले ग्रोकलाई पूर्वाग्रही भएको आरोप लगाउँदै यसको प्रशिक्षणमा प्रयोग भएको डेटामाथि नै प्रश्न उठाएका छन् ।

भारतीय सरकारले ग्रोकका राजनीतिक टिप्पणीहरूलाई गर्भिरतापूरवक लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको सूचना प्रविधि मन्त्रालयले ग्रोकका प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस विषयमा एक्ससँग अनौपचारिक छलफल थालेको छ।

विशेषगरी ग्रोकले प्रयोग गरेको अनुचित भाषा’ र ‘विवादास्पद प्रतिक्रिया’ (जसमा हिन्दी स्ल्याङ र कथित गालीहरू समावेश छन्) सरकारका लागि चिन्ताको विषय बनेको बताइन्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यदि ग्रोकलाई सोधिएका प्रश्नले भड्काउने खालका प्रतिक्रिया दिएमा प्रयोगकर्ता र प्लेटफर्म दुवैविरुद्ध आपराधिक कारबाही हुन सक्ने सम्भावना छ । यो विवाद यस्तो समयमा आएको छ जतिबेला एक्स भारतमा कानूनी लडाईं लडिरहेको छ । 

एक्स कर्पले भारत सरकारले ‘सहयोग पोर्टल’मार्फत सामग्री रोक्का गर्ने आदेश जारी गर्ने अभ्यासविरुद्ध कर्नाटक उच्च अदालतमा निवेदन दिएको छ । कम्पनीले उक्त पोर्टललाई ‘सेन्सरशिप पोर्टल’ भनेको छ । सामग्री रोक्का गर्ने आदेश भारतको सूचना प्रविधि ऐनको धारा ६९ए अन्तर्गत मात्र जारी गरिनुपर्ने एक्सको तर्क छ । यसमा न्यायिक सुरक्षाका उपायहरू छन् । कम्पनीका अनुसार सरकारले धारा ७९(३)(बी) को दुरुपयोग गरी ती सुरक्षाका उपायलाई बाइपास गरिरहेको छ ।

एक्स कर्पले यस विषयमा निर्देशन जारी गर्न र आदेशको पालना नगरेको खण्डमा सरकारले गर्न सक्ने सम्भावित कारबाहीबाट अन्तरिम सुरक्षाको माग गरेको छ । उता सरकारले भने धारा ७९ अन्तर्गत जारी गरिएका आदेश प्रत्यक्ष रूपमा रोक्का गर्ने आदेश नभएर गैरकानुनी सामग्रीको सूचना मात्र भएको दाबी गरेको छ । अदालतले २७ मार्चमा उक्त निवेदनमाथि सुनुवाइ गर्ने तालिका छ ।

सरकार र सामाजिक सञ्जालबीच बढ्दो तनाव

यस कानुनी संघर्षले भारत सरकार र सामाजिक सञ्जाल प्लेटफर्मबीच सामग्री नियमन र डिजिटल युगमा अभिव्यक्तिको स्वतन्त्रताको सीमा बारे बढ्दो तनावलाई उजागर गरेको छ । ग्रोकको निडर रूपमा दिने प्रतिक्रिया प्रणालीले यस बहसलाई झन् तीव्र बनाइदिएको छ । 

भारतमा अभिव्यक्ति स्वतन्त्रताका प्रभाव

भारतमा ग्रोकको आगमनले अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी चलिरहेको बहसमा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताइएको छ । मोदी सरकारका आलोचकले असहमति जनाउने आवाज दबाइँदै गएको दाबी गर्दै आएका छन् । यसै सन्दर्भमा ग्रोकको निडर र प्रायः आलोचनात्मक धारणा केहीका लागि अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको कथित प्रतिबन्ध विरुद्धको नयाँ स्वरुपको विद्रोहजस्तो देखिएको छ ।

ह्युमन राइट्स वाचजस्ता संस्थाहरूले भारतमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । ग्रोकको निर्बाध प्रकृतिले यसलाई विवादास्पद विषयमा बिनाकुनै सेल्फ-सेन्सरशिप वा राजनीतिक रूपमा सही ठानिने फिल्टरबिना अभिव्यक्ति गर्ने अवसर दिन सक्छ । 

भारतमा अनलाइन अभिव्यक्ति स्वतन्त्रताको जटिलता बढ्दो छ । विशेषगरी राजनीति जस्तो संवेदनशील विषयमा यस च्याटबटको अनसेन्सर गरिएको धारणा बुझ्न चाहने प्रयोगकर्ताको चासो बढेको छ । तर, सरकारले ‘उत्तेजक’ प्रश्नका लागि आपराधिक कारबाहीको चेतावनी दिएको छ । यसैगरी सरकारले सामग्री नियन्त्रणसम्बन्धी मुद्दामा एक्ससँग कानुनी लडाइँ जारी राखेको छ । त्यसैले ‘जिम्मेवार सामग्री नियन्त्रण’को आवश्यकतालाई अभिव्यक्ति स्वतन्त्रताको अधिकारसँग कसरी सन्तुलनमा राख्ने भन्ने प्रश्न अहिले पनि एक प्रमुख चुनौती बनेको छ।

एलन मस्कको ग्रोक एआईले भारतमा छोटो समयमा नै ठूलो प्रभाव पारेको छ । यसले गर्ने भिन्नै तरिकाको अन्तर्क्रियाले केही भारतीय इन्टरनेट प्रयोगकर्ताहरूको मन जितेको छ । जसले यसलाई भाइरल लोकप्रियता दिलाएको छ । तर, यही विशेषताले भारतीय सरकारको ध्यानाकर्षण गराउँदै कानुनी चुनौतीहरू निम्त्याएको छ । यसले गर्दा ग्रोकको सम्भावित दुरुपयोग तथा पूर्वाग्रही वा हानिकारक सूचनाको प्रसारसम्बन्धी चिन्ताहरूलाई थप बढवा दिएको छ ।

भारतमा ग्रोकको लोकप्रियता बढ्दै जाँदा यसको भविष्य र डिजिटल तथा राजनीतिक परिदृश्यमा यसको स्थायी प्रभावबारे केही महत्त्वपूर्ण प्रश्नहरू उठिरहेका छन् ।

१) सरकारी नियमन: भारतको सूचना प्रविधि मन्त्रालय र एक्स बीच भइरहेको छलफल तथा कानुनी चुनौतीहरूले भारत सरकार एआई-निर्मित सामग्रीलाई कसरी नियमन गर्ने र भारतीय कानुनअनुसार यसको पालना कसरी सुनिश्चित गर्ने भन्ने विषयमा गम्भीर रूपमा सोचिरहेको  देखाउँछ । एक्सको मुद्दाको नतिजाले भारतमा अनलाइन सामग्री नियमनमा ठूलो प्रभाव पार्न सक्छ ।

२) लोकप्रियताको स्थायित्व: केही विश्लेषकका अनुसार जसरी अअिले ग्रोकले चर्चा र लोकप्रियता पाइरहेको छ सधैं त्यो अवस्था कायम नरहन सक्छ । अहिले ग्रोकले दिने जवाफमा रमाउने प्रयोगकर्ता भोलि त्यही जवाफलाई फरक वा संवेदनशील ढङ्गले सोच्न सक्छन् । त्यसैले सुरुवाती दिनमा ग्रोकको जति चर्चा छ वा ग्रोकले जुन किसिमको बहस सिर्जना गरेको छ, सधैं त्यही अवस्था नरहन सक्ने विश्लेषकले बताएका छन् । 

३) राजनीतिक बहसमा प्रभाव: ग्रोकको राजनीतिक रूपमा संवेदनशील प्रतिक्रिया तयार गर्ने र बहसमा भाग लिन सक्ने क्षमताले सार्वजनिक धारणा निर्माण र भारतको राजनीतिक प्रवचनमा प्रभाव पार्न सक्छ । तर, एआईले तयार पारेका सूचनामा हुने पूर्वाग्रह र विश्वसनीयता जस्ता समस्या भएका कारण यसको प्रभाव कति ठूलो हुनेछ भन्ने कुरा अझै स्पष्ट छैन ।

४) नैतिक चिन्ता: ग्रोकले केही अवस्थामा महिलाविरोधी हिन्दी गालीको प्रयोग गरेको र हानिकारक गतिविधिको निर्देशन सजिलै दिने घटनाले गम्भीर नैतिक प्रश्नहरू उठाएको छ । यस्ता अनफिल्टर गरिएको एआई मोडेलको विकास र प्रयोग गर्दा हुने हानि कम गर्ने जिम्मेवारी क्रियटरले कसरी पूरा गर्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८१ १९:३०

सामाग्री श्रोत : टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट