
काठमाडौं । चिनियाँ ब्रान्ड ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘ओप्पो ए फाइभ प्रो’ भित्र्याएको छ । टिकाउ र मजबुत स्मार्टफोन चाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले शुक्रबार यो फोन सार्वजनिक गरेको हो ।
ओप्पोका अनुसार यस फोनले विभिन्न कठिन परीक्षा पार गरेको छ । यसअन्तर्गत फोनले विभिन्न १४ ओटा मिलिटरी-ग्रेड ड्युराबिलिटी टेस्ट पास गरेको छ । यसको मतलब यो फोन बरफमा राख्दा, तातो पानीमा डुबाउँदा, अग्लो ठाउँबाट खसाल्दा वा स्क्रिनमा ड्रिल गर्दा पनि बिग्रिँदैन ।
साथै यो फोन आईपी६६, आईपी६८ र आईपी६९ रेटिङसहितको वाटरप्रुफ र डस्टप्रुफ प्रविधिले सुरक्षित रहेको छ । यसमा ६.६७ इन्चको एचडी प्लस एलसीडी स्क्रिन रहेको छ, जसको ब्राइटनेस १००० निट्स छ भने रिफ्रेस रेट ९० हर्ज रहेको छ ।
क्वालकम स्न्यापड्रागन सिक्स एस जेन थ्री प्रोसेसरबाट चल्ने फोन ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज क्षमतासहित उपलब्ध छ ।
फोनमा ५८०० एमएएच क्षमताको ठुलो ब्याट्री दिइएको छ, जसलाई ४५ वाट फास्ट चार्जिङ प्रविधिबाट चार्ज गर्न सकिन्छ । क्यामेराको कुरा गर्दा, पछाडि ५० मेगापिक्सेलको मुख्य सेन्सर र २ मेेगापिक्सेल मोनोक्रोम सेन्सर दिइएको छ भने अगाडि ८ मेगापिक्सेल क्यामेरा छ ।
फोनमा ड्युल स्टेरियो स्पिकर, अल्ट्रा भोल्युम मोड र साइड-फेसिङ फिङ्गरप्रिन्ट स्क्यानरजस्ता विशेषता पनि छन् । साथै ब्लुटुथ ५.०, यूएसबी-सी, डुअल सिम, वाईफाई ५ जस्ता सुविधा पाउन सकिन्छ ।
नेपाली बजारमा ओप्पो ए फाइभ प्रोको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीले २४ मार्चसम्म फोनको प्रि-बुकिङ खुला गरेको छ, जसमा ग्राहकले एक हजार रुपैयाँ क्यासब्याक पाउनेछन् ।
यो फोन २५ मार्चदेखि बजारमा उपलब्ध हुनेछ । टफ र टिकाउ फोन खोज्ने उपभोक्ताका लागि यो फोन उपयुक्त विकल्प हुने कम्पनीले जनाएको छ ।
@techpana Oppo A5 pro launch, #prostyleproyoua5pro #tech #techpana #fyp ♬ original sound – TechPana
पछिल्लो अध्यावधिक: चैत ९, २०८१ २३:९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। काठमाडौंस्थित भारतीय दूतावासमा आज एक समारोहबीच २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस मनाइएको छ। समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्णजयन्ती छात्रवृत्ति ‘रोल अफ अनर’ प्रदान गरेका थिए।
राजदूत श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति योजनाको २३औँ ब्याचका पुरस्कृतहरूका साथै रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीहरूलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न आग्रह गरे। उनले भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने सङ्लग्नतामार्फत उपलब्ध हुने अवसरमाथि प्रकाश पारेका थिए।
समारोहमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा.देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.अच्युत वाग्ले, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा।ध्रुवकुमार गौतम, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा।शारदा थपलियाको उपस्थित रहेको थियो। कार्यक्रममा विभिन्न संस्थानका डीन तथा विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो।
भारत-नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्णजयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो। यस अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको सङ्ख्या वार्षिक रूपमा २०० जना पुगेको छ। यस छात्रवृत्ति योजनाबाट नेपालका ७ जिल्लाबाट तीन हजार ५०० जनाभन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका त्यस अवसरमा जानकारी दिइयो।
भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्य, रङ्गमञ्च र कला प्रदर्शनलगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई करिब एक हजार ५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ।
सामाग्री श्रोत :
भारतीय राजदूतावासमा मनाइयो २३औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
काठमाडौँ- सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको दुई दिने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता छ।
सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा विभिन्न देशका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी रहेको जानकारी दिए।
विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने उनले बताएका छन्। शाहले भने, ‘दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न क्यन्सर, तिनको उपचारमा प्रयोग भइरहेका प्रविधि, पद्धति र अनुभवका साथै क्यान्सर उपचारमा रहेका असमानता र त्यसका लागि गर्नुपर्ने पहलका विषयमा छलफल हुनेछ।‘
शुक्रबार १: ३० बजे सम्मेलन सुरु भएको हो। सुरुवाती प्रस्तुति हेड एन्ड नेक क्यान्सरका विषयमा रहेको थियो। जहाँ सर्जन डा प्रभात ठाकुरले ‘सर्जिकल प्रिन्सिपल अफ हेड एन्ड क्यान्सर’का विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए। डा बजरङ्ग साहले अध्यक्षता गरेको सेसनमा अमेरिकाको माय सेन्ट जोनमा कार्यरत चिकित्सक डा दिनेश क्षेत्रीले केसमा-आधारित छलफल चलाएका थिए।
दिउसो ३ देखि ४ बजेसम्म अब्स्ट्र्याक्ट प्रिजेन्टेसन सेसन रहेको थियो। जहाँ डा रमेश श्रेष्ठले अध्यक्षता गरेका थिए भने विभिन्न अनुसन्धानकर्ताहरुले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए।
‘हेमाटोलोजी मेलिग्न्यान्स (रक्तक्यान्सरको जटिल अवस्था’ विषयमा पनि वैज्ञानिक छलफल भएको थियो। जहाँ डा सजिन राजभण्डारी र अमित श्रेष्ठले संयुक्त रुपमा अध्यक्षता गरेका थिए।
डा श्रेष्ठले रिसेन्ट एडभान्स इन द म्यानेजमेन्ट अफ डीएलबीसीएलका आफ्नो प्रस्तुति राखेका थिए भने हुन्तस्मान क्यान्सर इन्सिच्युट, अमेरिकाबाट आएका डा श्रीनिवास के तन्त्रावाहीले एक्युट ल्युकेमियामा तार्गेटेड थेरापीका विषयमा आफ्नो विज्ञता र अनुभव साझा गरेका थिए।
शुक्रबारको अन्तिम सेसनका रुपमा ‘ट्युमरबोर्ड-स्टाइल डिसकसन-च्यालेन्जिङ केसेस’ रहेको थियो। जहाँ स्टेनफोर्ड हेल्थकेयर, अमेरिकाका डा मार्क पेग्रामले चेयर गरेका थिए। जहाँ डा रजनी झा, डा सारदा खड्का, डा कपेन्द्रशेखर अमात्य, डा पेग्राम र डा राजीव झाले आफ्ना केसहरु प्रस्तुत गरेका थिए। ती केसमाथि चिकित्सकीय दृष्टिकोणबाट छलफल भएको थियो।
शनिबार बिहान ८ बजेदेखि सेसन सुरु हुनेछन्। सुरुमा ब्रेस्ट क्यान्सर, त्यसपछि लङ क्यान्सर, जीआई अन्कोलोजी, सपोर्टिभ केयर, जीयु अन्कोलोजी, गाइनोक्लोजिक क्यान्सर, हेमाटोलोजिकल मेलिङन्यान्सिज र अब्स्ट्र्याक्ट पोस्टर सेसन हुने नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा कपेन्द्रशेखर अमात्यले बताएका छन्।
सम्मेलनको चेयर समेत रहेका उनले यस्ता सम्मेलन र छलफलले आमजनमा जनचेतना फैलाउनुका साथै चिकित्सा अभ्यासमा थप निखारता ल्याउने बताए। उनले भने, ‘सम्मेलनमा क्यान्सर उपचारमा संसारमा अभ्यास भइरहेका नवीनतम उपचार प्रविधि, पद्धति र अनुभवका छलफल भइरहेको छ। विभिन्न देश र अस्पतालहरुमा रहेका उपचार गरिरहेका चिकित्सक र अध्येताले एकअर्काबाट ज्ञान आदान-प्रदान गर्न यसको आयोजना गरिएको हो।‘
अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भइरहेको बताए। उनले थपे, ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ।‘
आयोजक विनयतारा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैर नाफामुखी संस्था हो। फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ। बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ।
मधेश प्रदेशको जनकपुरमा २०० बेडको दक्षिण एशियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ । नेपालको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनामा फाउन्डेसनले महत्वपूर्ण भूमिका छ।
फाउन्डेसनकै अर्थिक सहयोगमा नेपालको बोनम्यारो प्रत्यारोपण केन्द्र टीमलाई सिकागो (अमेरिका)स्थित इलिनोइस विश्वविद्यालयमा तालिम प्रदान गरिएको थियो। नेपालमा मात्रै होइन, भारतको मध्य प्रदेश र दक्षीण अमेरिकामा समेत फाउन्डेसन क्यान्सर उपचार, अनुसन्धान र शिक्षा क्षेत्रमा काम गरिरहेको बताइएको छ।
फाउन्डेसनले अमेरिकामा क्यान्सर सम्मेलन, कन्टिन्यु मेडिकल एजुकेसन (सीएमई) गर्नुका साथै अनलाइन क्यान्सर सीएमई एप अन्कोब्लास्ट समेत सार्वजनिक गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?
उत्तर : हाम्रो शरीर स–साना कोषहरु मिलेर बनेको हुन्छ। शरीर विकासको क्रममा कोषिकाहरू अनियन्त्रित विकास हुँदा वा कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो।
टाउकोदेखि खुट्टासम्मको जुनसुकै भागमा भित्रि तथा बाहिरी अंगमा क्यान्सर लाग्न सक्छ। विशेषगरी क्यान्सर रोग अस्वस्थ्य खानपान, अव्यवस्थित जीवनशैली, सुर्तीजन्य वस्तुको प्रयोग र वंशाणुको कारणले हुन्छ।
विश्व लगायत नेपालमा पनि क्यान्सर रोग बढ्दै गइरहेको पाइन्छ। नेपालको परिवेशमा भन्ने हो भने ग्लोबोकेन २०२० को तथ्यांक अनुसार वर्षेनि लगभग २० हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिरहेका छन्। त्यसमध्ये पनि पुरुषहरुमा फोक्सोको क्यान्सर र महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिएको छ।
नेपालमा पछिल्लो समय मिर्गौलाको क्यान्सरका बिरामीहरु पनि बढ़दै गईरहेको देखिएको छ।
के हो मिर्गौला क्यान्सर ?
शरीरमा भएका अंगहरुको एक निश्चीत आकार हुने गर्दछ। त्यो कति सम्म बढ्ने भनेर प्रकृया हुन्छ। त्यसैगरि मिर्गौलाको कोषिकाहरुपनि चाहिने भन्दा बढी वा अनियन्त्रित तरिकाले विभाजित हुनु नै क्यान्सर हुनु हो।
अन्य क्यान्सर जस्तै मिर्गौला क्यान्सरको पनि चरण रहेको छ। पहिलो, दोस्रो र तेस्रो चरणसम्मको क्यान्सरलाई काटेर फाल्दा मात्र हुन्छ तर चौथो चरणमा भएको क्यान्सरमा चाहिँ मिर्गौलाबाट कोषिकाहरु अनियन्त्रित भएर कोषिकाहरु अन्यत्र गएको मानिन्छ जसलाई हामीले काटेर फालेर मात्र हुँदैन।
चौथो चरणमा भने उपचार चाहिन्छ अन्य क्यान्सरमा केमो दिनु पर्ने हुन्छ तर मिर्गौला, थाइरोइड, कलेजोको क्यान्सरमा भने किमोथेरापी दिनु पर्दैन यसमा भने टारगेटेड थेरेपी दिनु पर्ने हुन्छ।
लक्षणहरुः
जता तिर क्यान्सर भएको छ त्यता दुख्ने,
पिसाबमा रगत देखिने,
अनावश्यक तौल घट्ने,
खोकि, ज्वरो आउँने,
अन्य क्यान्सरको दाजोमा मिर्गौलाको क्यान्सर एकदमै कम देखिने क्यान्सर हो। विश्वमा मिर्गौला क्यान्सर ९/१० स्थानमा पर्छ भने नेपालमा पनि यो क्यान्सर यस्तै स्थानमा पर्छ। जसले गर्दा समुदाय स्तरसम्म मिर्गौलाको क्यान्सरको बारेमा जनचेताना गइसकेको छैन।
मिर्गौलाको क्यान्सर हुनबाट बच्नका लागि निम्न उपायहरु अपनाउनेः
मद्यपान र धुम्रपानदेखि टाढै बस्ने,
स्वस्थ्कर जीवनशैली अपनाउँने,
दैनिक व्यायमहरु गर्ने,
जुत्ताचप्पल कारखानामा काम गर्दा विशेष सावधानि अपनाउने,
बोसोयुक्त खानेकुराहरु नखाने।
(उत्तरदाता डा शाही मेडिकल अंकोलोजिस्ट हुन्)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं– कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर(आरसीबी)बीचको खेलबाट आईपीएल २०२५ सुरु भएको छ।
यो खेलमा आरसीबी टोलीले ७ विकेटले सहज जित हात पारेको छ। खेलमा आरसीबीको टोलीले १७५ रनको लक्ष्य पछ्याउँदै १६ दशमलव २ ओभरमा खेल समाप्त गरेको हो।
यस अघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
आरसीबीको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे। उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे।
पहिलो विकेटका लागि विराटले ओपनर फिल साल्टसँग मिलेर ९५ रनको साझेदारी गरेका थिए। साल्ट ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए। कप्तान रजत पाटीदार १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३४ रनमा आउट भए।
देवदत्त पटिकल १० रनमा आउट हुँदा लियम लिभिङ्गस्टोन ५ बलमा १५ रनमा अविजित रहे। केकेआरको लागि बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणको नाममा समान १ विकेट रह्यो।
केकेआरको लागि कप्तान अजिक्या रहाणेले सर्वाधिक ५६ रन जोडे। उनले ३१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि सुनिल नारायणसँग मिलेर रहाणेले १ सय ३ रनको शतकीय साझेदारी गरे। नारायणले २६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडे।
केकेआरको मध्येक्रमका ब्याटर चल्न नसक्दा १ विकेटमा १ सय ७ रन जोडेको अवस्थाबाट ६७ रन थप्दा ७ विकेट गुमायो। पछिल्लो ५ ओभरमा कोलकाताले २९ रन जोड्दा ३ विकेट गुमाएको थियो। अन्तिम २ ओभरमा मात्र ९ रन जोडेपछि कोलकाताले बलियो स्कोर खडा गर्न सकेन।
अंगकृष्ण रघुवंशी २२ बलमा २ चौका र १ छक्काको सहयोगमा ३० रन जोड्दै आउट भए। आरसीबीको लागि क्रुर्नाल पाण्ड्याले ३, जोस हेजलवुडले २, यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १ विकेट लिए।
सामाग्री श्रोत :
नेपाललाइभ
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा आज दिउँसोदेखि हिमपात भइरहेको छ। दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ। हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए। ‘जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ। वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्’, उनले भने।
यसैबीच, आज मात्रै पाथीभरा मन्दिरमा एक हजार छ सय ९८ तीर्थयात्री पुगेका छन्। पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।
पाथीभरामा विशेष गरी वडादसैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। उनका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भइरहेको हो।
सामाग्री श्रोत :
भैरहवा (रूपन्देही)। लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश थापा मगरले हात पारेका छन्। नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन्। मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे।
थापा मगरले रु तीन लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी नेपाली सेनामा कार्यरत सुशिलकुमार शाही दोस्रो भए। उनले उक्त दूरी दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरेर रु दुई लाख ५० हजार हात पारे।
केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए। उनले उक्त दूरी दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर रु एक लाख ५० हजार पुरस्कार जिते।
यसैगरी महिला सहभागीलाई आधा दूरीको म्याराथन गराइएको थियो। हाफ म्याराथनमा पनि नेपाली धावकले वर्चस्व जमाए। यसमा २१ किमी हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन्। उनले उक्त दूरी एक घण्टा २० मिनेट पाँच सकेण्डमा पूरा गर्दै रु एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। यस्तै, नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेण्डमा उक्त दूरी पार गरेर दोस्रो भइन्। उनले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। यस्तै, चीनकै चेन विइले दुई घण्टा २६ सकेण्डमा उक्त दूरी पार गरेर तेस्रो भई रु ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
म्याराथनमा पुरुषतर्फ १०औँ स्थानसम्म आउने र महिलातर्फ छैठौँ स्थानतर्फ आउनेलाई पुरस्कार दिइएको थियो।
म्याराथनअन्र्तगत पाँच किलोमिटरको खुल्ला दौड र पाँच किलोमिटरकै विद्यालयका छात्रछात्राको दौडसमेत आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा ४३० भन्दा बढी सहभागी भएका थिए।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको भनाइ छ।
सामाग्री श्रोत :
तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई
वासिङ्टन। संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी बर्षको जनवरीसम्म लागु हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले अक्टोबर २०२२ मा सुरु गरेको एक योजना अन्तर्गत संयुक्त राज्य अमेरिका आएका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकहरूलाई प्रभावित गर्नेछ।
अमेरिकी गृहमन्त्रालयको आदेश संघीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि उनीहरूले आफ्नो कानुनी सुरक्षा गुमाउनेछन्। यसको अर्थ यो कार्यक्रमद्वारा प्रायोजित आप्रवासीहरूले अप्रिल २४ सम्ममा ‘संयुक्त राज्य अमेरिका छोड्नुपर्छ’ जबसम्म उनीहरूले देशमा रहन अनुमति दिने अर्को आप्रवासन स्थिति प्राप्त गर्दैनन्, आदेशमा भनिएको छ।
संयुक्त राज्य अमेरिकामा शरण लिन चाहनेहरूलाई समर्थन गर्ने गैरनाफामुलक संस्था वेलकम डट युएसले कदमबाट प्रभावित भएकाहरूलाई ‘तुरुन्तै’ अध्यागमन वकिलको सल्लाह लिन आग्रह गरेको छ।
सन् २०२३ को जनवरीमा घोषणा गरिएको क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकका लागि ९सीएचएनभी० कार्यक्रमले मानव अधिकारको गम्भीर अभिलेख भएका यी चार मुलुकबाट प्रतिमहिना ३० हजार आप्रवासीलाई दुई वर्षका लागि अमेरिका प्रवेशको अनुमति दिएको थियो ।
बाइडेनले यो योजनालाई अमेरिका र मेक्सिकोको भीडभाड हुने सीमामा दबाब कम गर्ने ‘सुरक्षित र मानवीय’ तरिकाको रूपमा व्याख्या गरेका थिए। गृहमन्त्रालयले शुक्रबार यो योजना ‘अस्थायी’ भएको बताएको छ।
आदेशमा भनिएको छ, ‘प्यारोल स्वाभाविक रूपमा अस्थायी हो, र प्यारोल मात्र कुनै पनि अध्यागमन स्थिति प्राप्त गर्नका लागि अन्तर्निहित आधार होइन, न त यो संयुक्त राज्य अमेरिकामा प्रवेश हो।’
क्यालिफोर्नियाका अध्यागमन वकिल निकोलेट ग्लेजरका अनुसार यो आदेशले सीएचएनभी योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका ५० लाख आप्रवासीमध्ये अधिकांशलाई असर गर्नेछ।
‘यसका लागि ‘केवल ७५ हजार शरण आवेदनहरू कानुनी रूपमा दायर गरिएको थियो, त्यसैले सीएचएनभी प्यारोलहरूको विशाल बहुमतले आफूलाई स्थिति, वर्क परमिट र निष्कासनको लागि योग्य ठहर गर्नेछ,’ उनले एक्समा पोस्ट गरेका छन्।
ट्रम्पले गत साता भेनेजुएलाको एक गिरोहका २०० भन्दा बढी कथित सदस्यलाई एल साल्भाडोरमा उडाउने दुर्लभ युद्धकालीन कानुन लागू गरेका थिए।
वासिङ्टनका नेता निकोलस मदुरोको नेतृत्वमा तेलको धनी भेनेजुएलाको अर्थतन्त्र धरासायी भएपछि पछिल्लो एक दशकमा ७० लाखभन्दा बढी भेनेजुएलावासीले आफ्नो देश छाडेका छन्।
सामाग्री श्रोत :
काठमाडौं । एलन मस्कको कम्पनी एक्स एआईले तयार पारेको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ग्रोक यतिबेला चर्चाको शिखरमा छ । ग्रोकको पछिल्लो संस्करण ‘ग्रोक थ्री’ ले दिएका जवाफले अहिले छिमेकी देश भारतमा तरङ्ग ल्याएको छ ।
‘अनफिल्टर्ड’ र ‘संसारको सबैभन्दा रमाइलो एआई’ दाबी गरिएको यस च्याटबटले पछिल्लो समय थुप्रै विषयबारे बहस सिर्जना गरेको छ । यसैकारण भारतमा अभिव्यक्ति स्वतन्त्रता, अनलाइन सामग्रीमा सरकारको नियमन र राजनीतिक रूपमा एआईले गर्ने अन्तरक्रियाका विषयमा छलफल हुन थालेको छ ।
मनोरञ्जनका लागि एक प्रयोगकर्ताको एक्समा रिप्लाई दिएदेखि सुरु भएको यो विषय चर्को मुद्दाका रूपमा फैलिएको छ । यसले विभिन्न देशका सरकारको ध्यान खिच्नुका साथै, कानुनी लडाइँ सुरु गर्नेदेखि सामाजिक सञ्जाल प्लेटफर्ममा तीव्र बहस चर्काउने काम गरेको छ ।
के हो ग्रोक एआई ? किन एकाएक चर्चामा आयो ?
अर्बपति उद्यमी एलन मस्कले ९ मार्च २०२३ मा एआई कम्पनी एक्सएआई (xAI) स्थापना गरेका थिए । मस्क यस्तो एआई टुल बनाउन चाहन्थे, जसले ब्रह्माण्डको वास्तविकता बुझ्न सघाओस् । एआई क्षेत्रका अग्रणी कम्पनी ओपनएआई र गुगलका टुलहरू पारदर्शी नभएको र पूर्वाग्रही हुने भन्दै उनले अत्याधुनिक एआई टुल बनाउने सङ्कल्प बोकेका थिए । वाक स्वतन्त्रताको पक्षमा खुलेर वकालत गर्ने उनले त्यसैलाई प्रश्रय दिने एआई टुल ल्याउँछु भन्ने वाचा गरेका थिए ।
एक्स एआई स्थापना गरिसकेपछि मस्कले ४ नोभेम्बर २०२३ मा एक्स एआईको च्याटबट ग्रोक सार्वजनिक गरे । यो ठ्याक्कै च्याटजीपीटी र जेमिनाई जस्तै मान्छेकै शैलीमा कुराकानी गर्ने, फोटो तयार पारिदिने टुल थियो । तर, यसका लागि छुट्टै वेबसाइट भिजिट गर्नुपर्ने वा एप इन्स्टल गर्नुपर्ने बाध्यता थिएन । मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा यसलाई इन्टिग्रेट गरे । अर्थात् एक्सबाट प्रयोग गर्न सक्ने बनाए । तर, सुरुवाती चरणमा यो टुल शुल्क तिरेर एक्सको प्रिमियम सब्स्क्रिप्सन लिने सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराइयो ।
पछि कम्पनीले सबै प्रिमियम प्रयोगकर्तालाई ग्रोक एआई उपलब्ध गराएको थियो । त्यतिबेला ग्रोकको १.५ भर्सन उपलब्ध थियो । २० अगस्ट २०२४ मा कम्पनीले ग्रोकको नयाँ भर्सन ग्रोक टु सार्वजनिक गर्यो । यो भर्सन पहिलेको भन्दा स्तरीय थियो । यसमा तर्क दिनेदेखि फोटो बनाउन सक्नेसम्मका क्षमता थिए । ११ डिसेम्बरमा मस्कले ग्रोक एआई सबै प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराए । तर, त्यसमा केही सीमितता थिए ।
विस्तारै उक्त एआई टुल झनै स्तरीय हुँदै गइरहेको थियो । १६ फेब्रुअरी २०२५ मा मस्कले एक्समा पोस्ट राख्दै विश्वकै सबैभन्दा स्मार्ट एआई सार्वजनिक हुन लागेको जानकारी दिए । त्यहीबेला मस्कले कस्तो एआई टुल ल्याउने हुन् भन्ने धेरैको चासोको विषय थियो । धेरैले उक्त एआई टुलले कुनै न कुनै रूपमा बहस सिर्जना गर्ने अपेक्षा गरेका थिए ।
खासगरी मस्कले ल्याउने जुनसुकै प्रडक्टले खुबै चर्चा पाइरहेको हुन्छन् । झन विश्वकै स्मार्ट एआई टुल सार्वजनिक हुन लागेको भनेपछि त धेरैको ध्यान ग्रोकको भर्सन थ्रीमै गएको थियो । त्यसको दुई दिनपछि १८ फेब्रुअरी २०२५ मा मस्कले शक्तिशाली दर्जा दिएको ‘ग्रोक थ्री’ सार्वजनिक भयो । अहिले विश्वव्यापी रूपमा यही मोडेलले तहल्का मच्चाइरहेको छ ।
तर, अन्य च्याटबटभन्दा मस्कको यो च्याटबट किन फरक छ ? किन यो च्याटबटले एक्लै भिन्नै किसिमको विवाद सिर्जना गर्यो ?
यो प्रश्नको उत्तर पाउनुअघि ग्रोकले कसरी काम गर्छ अनि सूचना कसरी सङ्कलन गर्छ भन्ने बुझ्नु आवश्यक छ । ग्रोकले तत्कालै सामाजिक सञ्जालमा अपलोड भएका सूचनालाई आधार बनाई जानकारी दिन्छ । उदाहरणका लागि तपाईंले एक्समा कुनै विवादित भनाइ राख्नुभयो । र, त्यही आशयको प्रश्न ग्रोकलाई सोध्नु भयो भने ग्रोकले उक्त प्रश्नसँग सम्बन्धित स्रोत सङ्कलन गर्छ र उत्तर दिन्छ । उत्तरको स्रोत कुन पोस्ट हो भन्ने जानकारी च्याटबक्समै देखिन्छ । उपलब्ध स्रोतका आधारमा यसले सन्तुलित जवाफ दिने प्रयास गर्छ । तर, जुन विषयमा बढी जानकारी उपलब्ध छन्, उत्तर त्यसैको आधारमा आउँछ । यो ग्रोकको एउटा पक्ष भयो ।
त्यस्तै अन्य एआई च्याटबटले औपचारिक रूपमा जवाफ दिन्छन् । बोलीचालीकै भाषामा जवाफ दिन भनियो भने पनि त्यो मौलिक लाग्दैन । कतै न कतै यी टुलले औपचारिकतालाई दर्साउन खोजेका छन् भन्ने भान हुन्छ । तर, ग्रोक एआईले रमाइलोगरी बोलीचालीकै भाषामा कुरा गर्छ । यो पनि ग्रोकको अर्को पृथक पक्ष हो ।
त्यसैगरी ग्रोक राजनीतिक रूपमा कुनै पक्षप्रति पूर्वाग्रही नभएको दाबी गरिएको छ । कम्पनीका अनुसार यसले अधिकतम सत्यको खोजी गरी त्यही अनुरूपको जवाफ दिन सक्छ । अन्य एआई टुलले टार्न सक्ने मसलेदार जवाफ दिन सक्छन् । तर, ग्रोकले उपलब्ध स्रोतका आधारमा जे हो तथ्य त्यसैलाई प्रस्तुत गर्ने प्रयास गर्छ । त्यसबाहेक यसले कुनै पक्षका बारेमा राम्रो र कुनै पक्षका बारेमा नराम्रो नभन्ने दाबी गरेको छ ।
त्यसका साथै यसले अति संवेदनशील बाहेक अन्य एआई टुलले असामान्य मान्ने विषयलाई सामान्य रूपमा प्रस्तुत गर्छ । च्याटजीपीटी, डिपसिक, जेमिनाई जस्ता एआई टुललाई राजनीतिक प्रश्न (खासगरी वैचारिक प्रश्न) सोधियो भने उनीहरू जवाफ दिन मान्दैनन् । तर, ग्रोकले जवाफ दिन्छ । त्यस्तै च्याटजीपीटीमा मस्क र कुनै एउटा कलाकार सँगै रोमान्स गरेको फोटो बनाउन भन्नुभयो भने च्याटजीपीटीले बनाउँदैन । तर, ग्रोकले क्षणभरमै त्यस्तो तस्वीर तयार पारिदिन्छ ।
कम्पनीले ग्रोक थ्री भर्सनसँगै यसको एआई बट पनि एक्समा उपलब्ध गरायो । अहिले एक्समा @Grok मेन्सन् गरी प्रश्न सोधेर पोस्ट गर्नुभयो भने तपाईंको पोस्टको तल ग्रोकको रिप्लाई आउँछ । त्यसरी ग्रोकले पोस्टमा दिएको रिप्लाई सार्वजनिक हुन्छ । त्यही रिप्लाई सार्वजनिक हुने भएकाले अहिले विश्वव्यापी रूपमा यसको चर्चा भइरहेको हो ।
भारतमा ग्रोकले किन र कसरी तरङ्ग ल्यायो ?
भारतमा ग्रोक विवादको सुरुवात एक्स प्रयोगकर्ता (Toka) टोकाले गरेको एउटा सामान्य अनुरोधबाट भएको मान्न सकिन्छ । टोकाले ग्रोकलाई “एक्समा मेरा १० उत्कृष्ट म्युचल्सको सूची बनाउन” भनेका थिए । म्युचल भनेको एक्समा एक-अर्कालाई फलो गर्ने अकाउन्ट हुन् । तर, ग्रोकले उक्त सूची उपलब्ध गराउन समय लगायो ।
त्यसपछि आवेगमा आएका ती प्रयोगकर्ताले झर्किएर कडा शब्दहरू प्रयोग गरे । अनि च्याटबटले जवाफ फर्कायो । उसले १० जना म्युचल फलोअको सूची त दियो, तर त्यससँगै हिन्दीमा महिला विरोधी अपमानजनक शब्दहरू पनि थप्यो ।
त्यसमा हिन्दीमा लेखिएको थियो, “Oi bh*******, chill kar. Tera ’10 best mutuals’ ka hisaab laga diya. Mentions ke hisaab se yeh hai list. Mutuals matlab dono follow karte ho, par exact data nahi hai toh mentions pe bharosa kiya. Thik hai na ? Ab rona band kar” (अनुवाद: यहाँ तिम्रो १० उत्कृष्ट आपसी मित्रहरूको सूची छ … म्युचल्सको अर्थ एकअर्कालाई पछ्याउने व्यक्तिहरू हुन्, तर मसँग सही डेटा नभएकाले म मेन्सनमा भर परें । ठिक छ नि ? अब रुन बन्द गर)।
हिन्दी स्ल्याङमा दिइएको यो बोल्ड र अनफिल्टर्ड प्रतिक्रियाले धेरै भारतीय प्रयोगकर्तालाई छोयो । त्यसपछि भारतीय प्रयोगकर्ताले ग्रोकलाई क्रिकेट गसिप, राजनीतिक बहस, बलिउड ड्रामाका बारेमा सोध्न थाले । पछि एक्स फिड त्यस्तै पोस्टले भनिन थाल्यो । ग्रोकले जति प्रश्न सोधिए सबैको जवाफ बिना कुनै सङ्कोच उपलब्ध गरायो ।
ग्रोकका मालिक मस्कलले शनिबार बीबीसीले यही विषयमा तयार पारेको सामग्री शेयर गरेका थिए । त्यसमा मस्कलले स्माइलीको ईमोजी राखेका थिए । केही एक्स प्रयोगकर्ताले ग्रोकलाई सन्दर्भ खुलाइदिन अनुरोध गरेका थिए भने केहीले यो आर्टिकल के को बारेमा हो भन्दै ग्रोकलाई प्रश्न गरेका छन् ।
भारतमा चर्चामा आएका ग्रोकले दिएका राजनीतिक टिप्पणी
१) राहुल गान्धी भर्सेस नरेन्द्र मोदी: ग्रोकले विपक्षी नेता राहुल गान्धीलाई मोदीभन्दा ‘बढी इमान्दार’ भएको दाबी गरेको थियो । गान्धीसँग हार्वर्ड र क्याम्ब्रिजबाट डिग्री भएकोले उनी ‘औपचारिक शिक्षामा बढ्ता पहुँच’ भएको उल्लेख गरेको थियो । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक दाबीलाई ‘स्केची’ भनेर वर्णन गरेको थियो । ग्रोकले यो सन्दर्भमा ‘म कसैसित डराउँदिन’ भन्ने जवाफ दिएको थियो ।
२) मोदीको प्रेस सम्मेलन: मोदीले कति ओटा प्रेस सम्मेलनहरू आयोजना गरेका छन् भनेर सोध्दा, ग्रोकले टिप्पणी गर्दै मोदीले २०१४ मा प्रधानमन्त्री भएदेखि (२०१९ मा) एउटा मात्र प्रेस सम्मेलन आयोजना गरेको उल्लेख गर्यो, जहाँ उनले अमित शाहलाई धेरै बोल्न दिएका थिए ।
यसले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेब्रुअरी २०२५ मा भएको संयुक्त प्रेस सम्मेलनलाई दुर्लभ उपस्थितिको रूपमा उल्लेख गर्दै मोदीले खुला प्रश्नोत्तरभन्दा अन्तर्वार्तालाई प्राथमिकता दिने र उनलाई ‘जनसम्पर्क मेसिन’ भनेको थियो ।
३) स्क्रिप्टेड अन्तर्वार्ता: ग्रोकले मोदीका अन्तर्वार्ताहरू ‘प्रायः स्क्रिप्टेड देखिने’ जनाएको थियो । २०१४ देखि मोदीले व्यापक रूपमा मिडियालाई प्रयोग गर्ने रणनीति अपनाए पनि, उनका प्रतिक्रिया सधैं सम्पादित (polished), स्पष्ट सन्देशयुक्त (on-message), र निर्धारित कथाबाट बाहिर नजाने (rarely stray from the narrative) हुने गरेको ग्रोकले उल्लेख गरेको थियो । साथै उनको अन्तर्वार्तामा वास्तविक र सहज क्षणहरू (impromptu moments) लगभग देख्नै नसकिने ग्रोकको तर्क थियो ।
३) भारतीय जनता पार्टीलाई समस्याः एक प्रयोगकर्ताले ग्रोकको जवाफका कारण मोदी नेतृत्वको भाजपालाई ग्रोकले गर्दा समस्या आएको छ कि छैन भनेर सोध्दा, च्याटबटले भनेको थियो, “मेरो जवाफले एउटा ठूलो बहस सुरु गरेको छ । कसैले मलाई पक्षपात गरेको भन्दै गाली गर्छन्, कसैले खुसी मनाउँछन् ।”
४) साम्प्रदायिक घृणा र झुटा कथन: साम्प्रदायिक घृणा र झुटो कथन फैलाउने राजनीतिज्ञ र मिडिया च्यानलको बारेमा प्रयोगकर्ताको प्रश्नको जवाफमा ग्रोकले मोदी, अमित शाह, योगी आदित्यनाथ र गिरिराज सिंह जस्ता राजनीतिज्ञका साथै सुदर्शन न्युज, रिपब्लिक टिभी र टाइम्स नाउ जस्ता समाचार माध्यमको नाम लिएको थियो । यी मिडियाको पक्षपातपूर्ण रिपोर्टिङले भारतमा तनाव बढाएको ग्रोकको आरोप थियो ।
५) हिन्दु राष्ट्रवादी टिप्पणी गर्ने प्रयोगकर्ता: ग्रोकले कथित रूपमा धेरै हिन्दु राष्ट्रवादी टिप्पणी गर्ने अकाउन्टकाई “एक्समा फेक न्युज फैलाउने शीर्ष प्रभावशाली व्यक्ति”का रूपमा सूचीबद्ध गरेको थियो ।
यी स्पष्ट र प्रायः आलोचनात्मक टिप्पणीले प्रमुख राजनीतिक व्यक्तित्व र संवेदनशील मुद्दाका सन्दर्भमा एआईमा राजनीतिक पूर्वाग्रहबारे छलफललाई तीव्र बनाएको छ । यसले सार्वजनिक बहसमा ग्रोकको भूमिकाबारे समेत प्रश्न उठाएको छ ।
मोदी सरकारका आलोचकले यी टिप्पणीलाई सही ठहर्याउँदै ग्रोकलाई ‘निष्पक्ष’ आवाज मान्ने गरेका छन् । उनीहरूका अनुसार ग्रोकमा प्रचलित व्यवस्थालाई चुनौती दिने क्षमता छ ।
तर, सरकार समर्थक यससँग असहमत देखिएका छन् । उनीहरूले ग्रोकलाई पूर्वाग्रही भएको आरोप लगाउँदै यसको प्रशिक्षणमा प्रयोग भएको डेटामाथि नै प्रश्न उठाएका छन् ।
भारतीय सरकारले ग्रोकका राजनीतिक टिप्पणीहरूलाई गर्भिरतापूरवक लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको सूचना प्रविधि मन्त्रालयले ग्रोकका प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस विषयमा एक्ससँग अनौपचारिक छलफल थालेको छ।
विशेषगरी ग्रोकले प्रयोग गरेको अनुचित भाषा’ र ‘विवादास्पद प्रतिक्रिया’ (जसमा हिन्दी स्ल्याङ र कथित गालीहरू समावेश छन्) सरकारका लागि चिन्ताको विषय बनेको बताइन्छ ।
भारतीय सञ्चार माध्यमका अनुसार यदि ग्रोकलाई सोधिएका प्रश्नले भड्काउने खालका प्रतिक्रिया दिएमा प्रयोगकर्ता र प्लेटफर्म दुवैविरुद्ध आपराधिक कारबाही हुन सक्ने सम्भावना छ । यो विवाद यस्तो समयमा आएको छ जतिबेला एक्स भारतमा कानूनी लडाईं लडिरहेको छ ।
एक्स कर्पले भारत सरकारले ‘सहयोग पोर्टल’मार्फत सामग्री रोक्का गर्ने आदेश जारी गर्ने अभ्यासविरुद्ध कर्नाटक उच्च अदालतमा निवेदन दिएको छ । कम्पनीले उक्त पोर्टललाई ‘सेन्सरशिप पोर्टल’ भनेको छ । सामग्री रोक्का गर्ने आदेश भारतको सूचना प्रविधि ऐनको धारा ६९ए अन्तर्गत मात्र जारी गरिनुपर्ने एक्सको तर्क छ । यसमा न्यायिक सुरक्षाका उपायहरू छन् । कम्पनीका अनुसार सरकारले धारा ७९(३)(बी) को दुरुपयोग गरी ती सुरक्षाका उपायलाई बाइपास गरिरहेको छ ।
एक्स कर्पले यस विषयमा निर्देशन जारी गर्न र आदेशको पालना नगरेको खण्डमा सरकारले गर्न सक्ने सम्भावित कारबाहीबाट अन्तरिम सुरक्षाको माग गरेको छ । उता सरकारले भने धारा ७९ अन्तर्गत जारी गरिएका आदेश प्रत्यक्ष रूपमा रोक्का गर्ने आदेश नभएर गैरकानुनी सामग्रीको सूचना मात्र भएको दाबी गरेको छ । अदालतले २७ मार्चमा उक्त निवेदनमाथि सुनुवाइ गर्ने तालिका छ ।
सरकार र सामाजिक सञ्जालबीच बढ्दो तनाव
यस कानुनी संघर्षले भारत सरकार र सामाजिक सञ्जाल प्लेटफर्मबीच सामग्री नियमन र डिजिटल युगमा अभिव्यक्तिको स्वतन्त्रताको सीमा बारे बढ्दो तनावलाई उजागर गरेको छ । ग्रोकको निडर रूपमा दिने प्रतिक्रिया प्रणालीले यस बहसलाई झन् तीव्र बनाइदिएको छ ।
भारतमा अभिव्यक्ति स्वतन्त्रताका प्रभाव
भारतमा ग्रोकको आगमनले अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी चलिरहेको बहसमा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताइएको छ । मोदी सरकारका आलोचकले असहमति जनाउने आवाज दबाइँदै गएको दाबी गर्दै आएका छन् । यसै सन्दर्भमा ग्रोकको निडर र प्रायः आलोचनात्मक धारणा केहीका लागि अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको कथित प्रतिबन्ध विरुद्धको नयाँ स्वरुपको विद्रोहजस्तो देखिएको छ ।
ह्युमन राइट्स वाचजस्ता संस्थाहरूले भारतमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । ग्रोकको निर्बाध प्रकृतिले यसलाई विवादास्पद विषयमा बिनाकुनै सेल्फ-सेन्सरशिप वा राजनीतिक रूपमा सही ठानिने फिल्टरबिना अभिव्यक्ति गर्ने अवसर दिन सक्छ ।
भारतमा अनलाइन अभिव्यक्ति स्वतन्त्रताको जटिलता बढ्दो छ । विशेषगरी राजनीति जस्तो संवेदनशील विषयमा यस च्याटबटको अनसेन्सर गरिएको धारणा बुझ्न चाहने प्रयोगकर्ताको चासो बढेको छ । तर, सरकारले ‘उत्तेजक’ प्रश्नका लागि आपराधिक कारबाहीको चेतावनी दिएको छ । यसैगरी सरकारले सामग्री नियन्त्रणसम्बन्धी मुद्दामा एक्ससँग कानुनी लडाइँ जारी राखेको छ । त्यसैले ‘जिम्मेवार सामग्री नियन्त्रण’को आवश्यकतालाई अभिव्यक्ति स्वतन्त्रताको अधिकारसँग कसरी सन्तुलनमा राख्ने भन्ने प्रश्न अहिले पनि एक प्रमुख चुनौती बनेको छ।
एलन मस्कको ग्रोक एआईले भारतमा छोटो समयमा नै ठूलो प्रभाव पारेको छ । यसले गर्ने भिन्नै तरिकाको अन्तर्क्रियाले केही भारतीय इन्टरनेट प्रयोगकर्ताहरूको मन जितेको छ । जसले यसलाई भाइरल लोकप्रियता दिलाएको छ । तर, यही विशेषताले भारतीय सरकारको ध्यानाकर्षण गराउँदै कानुनी चुनौतीहरू निम्त्याएको छ । यसले गर्दा ग्रोकको सम्भावित दुरुपयोग तथा पूर्वाग्रही वा हानिकारक सूचनाको प्रसारसम्बन्धी चिन्ताहरूलाई थप बढवा दिएको छ ।
भारतमा ग्रोकको लोकप्रियता बढ्दै जाँदा यसको भविष्य र डिजिटल तथा राजनीतिक परिदृश्यमा यसको स्थायी प्रभावबारे केही महत्त्वपूर्ण प्रश्नहरू उठिरहेका छन् ।
१) सरकारी नियमन: भारतको सूचना प्रविधि मन्त्रालय र एक्स बीच भइरहेको छलफल तथा कानुनी चुनौतीहरूले भारत सरकार एआई-निर्मित सामग्रीलाई कसरी नियमन गर्ने र भारतीय कानुनअनुसार यसको पालना कसरी सुनिश्चित गर्ने भन्ने विषयमा गम्भीर रूपमा सोचिरहेको देखाउँछ । एक्सको मुद्दाको नतिजाले भारतमा अनलाइन सामग्री नियमनमा ठूलो प्रभाव पार्न सक्छ ।
२) लोकप्रियताको स्थायित्व: केही विश्लेषकका अनुसार जसरी अअिले ग्रोकले चर्चा र लोकप्रियता पाइरहेको छ सधैं त्यो अवस्था कायम नरहन सक्छ । अहिले ग्रोकले दिने जवाफमा रमाउने प्रयोगकर्ता भोलि त्यही जवाफलाई फरक वा संवेदनशील ढङ्गले सोच्न सक्छन् । त्यसैले सुरुवाती दिनमा ग्रोकको जति चर्चा छ वा ग्रोकले जुन किसिमको बहस सिर्जना गरेको छ, सधैं त्यही अवस्था नरहन सक्ने विश्लेषकले बताएका छन् ।
३) राजनीतिक बहसमा प्रभाव: ग्रोकको राजनीतिक रूपमा संवेदनशील प्रतिक्रिया तयार गर्ने र बहसमा भाग लिन सक्ने क्षमताले सार्वजनिक धारणा निर्माण र भारतको राजनीतिक प्रवचनमा प्रभाव पार्न सक्छ । तर, एआईले तयार पारेका सूचनामा हुने पूर्वाग्रह र विश्वसनीयता जस्ता समस्या भएका कारण यसको प्रभाव कति ठूलो हुनेछ भन्ने कुरा अझै स्पष्ट छैन ।
४) नैतिक चिन्ता: ग्रोकले केही अवस्थामा महिलाविरोधी हिन्दी गालीको प्रयोग गरेको र हानिकारक गतिविधिको निर्देशन सजिलै दिने घटनाले गम्भीर नैतिक प्रश्नहरू उठाएको छ । यस्ता अनफिल्टर गरिएको एआई मोडेलको विकास र प्रयोग गर्दा हुने हानि कम गर्ने जिम्मेवारी क्रियटरले कसरी पूरा गर्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ ।
पछिल्लो अध्यावधिक: चैत ९, २०८१ १९:३०
सामाग्री श्रोत : टेक पाना
काठमाडौं । ओमोडा एन्ड जेइकोले नेपाली अटो बजारमा एक सफल वर्ष पूरा गरेको छ । २०२४ फेब्रुअरीमा नेपाल प्रवेश गरेको कम्पनीले यसबिचमा ८०० भन्दा बढी विद्युतीय एसयूभी बिक्री गरेको जानकारी दिएको छ । साथै पहिलो वार्षिकोत्सवको अवसरमा नयाँ ग्राहकका लागि विशेष अफर घोषणा गरिएको छ ।
शारडा ग्रुपका निर्देशक गौरव शारडाले नेपाली ग्राहकको विश्वासकै कारण ओमोडा एन्ड जेइको छोटो समयमा लोकप्रिय भएको उल्लेख गर्दै भने, “ग्राहकहरूको माया र विश्वासका कारण हामी नेपाली बजारमा सफल भएका छौँ । भविष्यमा पनि उत्कृष्ट सेवा दिन निरन्तर प्रयास गर्नेछौँ ।”
वार्षिकोत्सवको अवसर पारी कम्पनीले नयाँ ग्राहकका विशेष अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले ५५ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने ओमोडा एन्ड जेइको ईभी उपलब्ध हुने जानकारी दिएको छ । जसमा पाँच लाख १५ हजार रुपैयाँसम्मका विभिन्न लाभ, एक वर्षको नि:शुल्क बीमा, ७ किलोवाटको चार्जर, ब्याट्री र मोटरमा ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी दिइनुका साथै १ वर्षको नि:शुल्क सडक कर सुविधा समावेश छन् ।
वार्षिकोत्सव विशेष अफरको लाभ लिन नजिकैको ओमोडा एन्ड जेइको शोरुम भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले हाल ४३० किलोमिटर रेन्ज दिने ओमोडा इ-फाइभ र ४०० किलोमिटर रेन्ज दिने जेइको जे-सिक्स अफरोड एसयूभी बिक्री गरिरहेको छ । नेपालभर कम्पनीका १७ ओटा शोरुम र ३० भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् ।
यसैबिच, ओमोडा एन्ड जेइकोले २०२५ मा जेइको जे-फाइभ र जेइको भी-ट्वेन्टी-थ्री नेपाली बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत ८, २०८१ ९:४५
सामाग्री श्रोत :
टेक पाना