लिमासोल — साइप्रसमा सक्रिय विभिन्न जातीय नेपाली संघ–संस्थाहरूले कुनै पनि सांस्कृतिक कार्यक्रम घोषणा गर्नुअघि सम्बन्धित जातीय संस्थासँग सल्लाह–समन्वय गर्न समुदायका सबैलाई आग्रह गरेका छन्। संस्थाहरूले मौलिक पर्वको दिन वा त्यसको आसपास प्रतिस्पर्धी कार्यक्रम नराख्न विशेष अनुरोध गर्दै समुदायको एकता र सांस्कृतिक समन्वयलाई कमजोर नपार्न सचेत गराएका छन्।
नेपाल तामाङ घेदुङ साइप्रससहित सात संस्थाले मङ्गलबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सोसल मिडियामा फैलिएका सोनाम ल्होछार विशेष कार्यक्रम स्थगित वा मिति परिवर्तन गरिएको भन्ने सूचनाहरू पूर्णतः भ्रामक रहेको उल्लेख छ। संस्थाहरूका अनुसार फेब्रुअरी ८ मा हुने सोनाम ल्होछार विशेष कार्यक्रम तय गरिएको मितिमै भव्य रूपमा सम्पन्न हुने बताइएको छ।
विज्ञप्तिमा साइप्रसमा करिब १५ हजार नेपाली बसोबास गरिरहेको र उनीहरूले आफ्नो भाषा, धर्म, परम्परा एवं सांस्कृतिक पहिचान संरक्षणका लागि विभिन्न संघ–संस्थाहरू मार्फत सक्रिय रहँदै आएको स्मरण गराइएको छ। विशेषगरी घरेलु क्षेत्रमा कार्यरत नेपाली महिलाहरू महिनामा एक दिन मात्र विदा पाउने भएकाले, विभिन्न जातीय संस्थाहरूले आफ्ना पर्व–उत्सव एक–अर्कासँग नजुध्ने गरी तालमेल गर्दै आएको उल्लेख गर्दै यस समन्वयात्मक अभ्यासले समुदायमा आपसी सहयोग, सम्मान र व्यापक सहभागिता बढाएको संस्थाहरूको भनाइ छ।
विज्ञप्तिमा, पछिल्ला दिनमा केही व्यक्तिहरूले अनौपचारिक माध्यममार्फत भ्रम फैलाउने गतिविधि थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। संस्थाहरूका अनुसार यस्ता क्रियाकलापले संस्थागत उद्देश्य कमजोर पार्न सक्ने, समुदायमा सांस्कृतिक मूल्यप्रति नकारात्मक प्रभाव पर्ने बारे चिन्ता व्यक्त गरिएको छ। साथै आपसी विश्वासमा आघात पुर्याउन र मौलिक पर्वबारे गलत धारणा बन्ने जोखिम समेत बढाउ सक्ने बताइएको छ।

संयुक्त संस्थाहरूले विशेष रूपमा कार्यक्रम आयोजना गर्ने समूह तथा व्यक्तिगत आयोजकलाई समुदायको हितलाई प्राथमिकता दिँदै पारदर्शिता, सहकार्य र समन्वयका आधारमा अघि बढ्न आग्रह गरेका छन्।

नेपाल मगर संघ साइप्रस , NRNA साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस , तमु समाज साइप्रस, किराँत राई यायोख्खा साइप्रस , किराँत याक्थुङ चुम्लुङ साइप्रस तथा शेर्पा किदुग साइप्रसका अध्यक्षहरूद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ, “समुदायको एकता, आपसी सम्मान र साँस्कृतिक गौरवको रक्षा हाम्रो साझा उत्तरदायित्व हो, जातिय पर्वलाई प्राथमिकता दिई सहकार्यको भावना प्रकट गर्नु नै सामुहिक प्रगतिको बाटो हो ।।”
संस्थाहरूले साइप्रसमा रहेका सबै नेपालीलाई सामूहिक हित र सांस्कृतिक गौरवलाई प्राथमिकता दिन, समुदायभित्र देखिने साना भ्रम वा विवादलाई संवाद र समझदारीबाट समाधान गर्दै अघि बढ्न आह्वान गरेका छन्। उनीहरूको भनाइमा, सहकार्य र एकतामा आधारित भावनाले साइप्रसमा रहेका नेपालीहरूको सामाजिक छवि र बन्धुत्व अझ मजबुत बनाउँदै आएको छ।














