२०८२ श्रावण १२ आईतवार
२०८२ श्रावण १२ आईतवार

काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धूम्रपान पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरी प्रमुख राजु पाण्डेले गत असार ३२ गते सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध गर्ने व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार साउन ९ गतेदेखि एक महिनासम्म यसबारे प्रचारप्रसार गरिनेछ भने भदौ १ गतेबाट कारबाही प्रक्रिया सुरु हुनेछ।

सार्वजनिक स्थानमा धूम्रपान गरेको पाइएमा पहिलोपटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ। दोहोर्‍याएर उल्लंघन गरेमा जरिवाना दोब्बर गरिने व्यवस्था छ।

प्रमुख पाण्डेले भने, ‘सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि हाम्रो हटलाइनमा त्यस्तो गुनासो धेरै आएको थियो। अब निजी बाहेकका सबै स्थलहरूमा धूम्रपान निषेध गरिएको छ।’

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन अनुसार सार्वजनिक स्थल

३. सार्वजनिक स्थल मानिनेः (१) देहायको स्थललाई सार्वजनिक स्थल मानिनेछ:–

(क) राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय,
(ख) शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था,
(ग) विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन,
(घ) बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब,
(ङ) सार्वजनिक शौचालय,
(च) उद्योग तथा कल कारखानाका कार्यस्थल,

स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “कार्यस्थल” भन्नाले उद्योग तथा कल कारखानाले काम गर्न छुट्याएको कार्यालय वा स्थल सम्झनुपर्छ ।

(छ) चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला,
(ज) होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह,
(झ) रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस,
(ञ) डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट,
(ट) धर्मशाला तथा धार्मिक स्थल,
(ठ) सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर ।
(२) उपदफा (१) मा उल्लिखित स्थलको अतिरिक्त कुनै ठाउँको महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थल समेत सार्वजनिक स्थल मानिनेछ ।

४. सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुनेः (१) कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न पाउने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापकले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलको कुनै खास ठाउमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम धूम्रपान तथा सूर्ति सेवनको लागि छुट्याइएको ठाउँमा कायम गर्नु पर्ने आधारभूत कुराहरु तोकिए बमोजिम हुनेछन्।
५. सूचना टास गर्नु पर्ने : व्यवस्थापकले आफुसग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउ“मा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टास गर्नु पर्नेछ ।
६. घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न हुँदैन ।

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट