
काठमाडौँ । इन्टरनेट तथा टिभी सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सको स्वतन्त्र सञ्चालकमा परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रमा लामो समयको अनुभव संगालेका क्षेत्रीको विज्ञताले कम्पनीको भावी यात्रामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास भायानेटले लिएको छ । क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड) बाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।
त्यसयता उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र बैंक अफ एसियामा वरिष्ठ पदमा रहेर काम गरिसकेका छन् । उनी जनता बैंक र ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत बनेका थिए ।

क्षेत्री सन् २०२० मा ग्लोबल आइएमई बैंकको सीईओ पदबाट अवकास लिएका हुन् । भायानेटले क्षेत्रीको नियुक्तिसँगै उनको तीन दशकभन्दा लामो अनुभवले कम्पनीलाई थप सशक्त बनाउन र दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत पुग्ने अपेक्षा राखेको छ ।
पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १६:७
सामाग्री श्रोत :
टेक पाना