काठमाडौँ । एप्पलले आफ्नो आगामी अपरेटिङ सिस्टम आईओएस २६ को चौथो डेभलपर बेटा भर्सन सार्वजनिक गरेको छ । नयाँ अपडेटमा ‘लिक्विड ग्लास’ (Liquid Glass) डिजाइनमा केही परिमार्जन गरिएको छ भने एआईद्वारा गरिने समाचार सारांश (News Summarize) को सुविधालाई फिर्ता ल्याइएको छ

गत महिना सार्वजनिक भएको आईओएस २६ को तेस्रो बेटामा ‘लिक्विड ग्लास’ को पारदर्शी इफेक्टलाई कम गरिएको थियो । यो परिवर्तन मन नपराएका धेरै प्रयोगकर्ताले यसलाई ‘फ्रस्टेड ग्लास’ को संज्ञा दिएका थिए ।
तर, चौथो बेटामा एप्पलले प्रयोगकर्ताको प्रतिक्रियालाई ध्यानमा राख्दै यसको पारदर्शीपनलाई बढाएको छ । अहिलेको लिक्विड ग्लास बेटा २ को जस्तै देखिएको छ ।
फोटो, म्युजिक, एप स्टोर जस्ता एपहरूमा नेभिगेसन बारहरू अब थप पारदर्शी बनाइएको छ । यसले गदा ब्याकग्राउन्डको रङलाई प्रष्टसँग देखाउन मद्दत पुग्छ । लक स्क्रिनमा नोटिफिकेसन स्क्रोल गर्दा ब्याकग्राउन्ड स्वतः गाढा हुने बनाइएको छ । यसले नोटिफिकेसन पढ्न सजिलो हुनेछ ।

यो अपडेटको अर्को विशेषता भनेको ‘एप्पल इन्टेलिजेन्स’ द्वारा सञ्चालित समाचार र मनोरञ्जन एपहरूको लागि नोटिफिकेसन सारांश हो । केही महिनाअघि गलत सूचना प्रवाह भएको गुनासो आएपछि एप्पलले यो सुविधालाई अस्थायी रूपमा बन्द गरेको थियो । यो सुविधालाई पुनः सुरु गरिएको छ । सेटअप प्रक्रियाको क्रममा प्रयोगकर्ताहरूलाई “सारांशले मूल शीर्षकको अर्थ परिवर्तन गर्न सक्छ“ भनेर सूचित गरिने एप्पलले जनाएको छ ।
बेटा ४ मा अन्य केही सुधारहरू पनि गरिएका छन् :
क्यामेरा एप : क्यामेरा एपको आइकनमा सामान्य परिवर्तन छ र एप खोल्दा नयाँ परिवर्तनहरू बारे जानकारी दिने ‘स्प्लास स्क्रिन’ देखाइएको छ ।
कल स्क्रिनिङ : फोन एपमा अपरिचित नम्बरबाट आएका कलहरूलाई व्यवस्थापन गर्न नयाँ सेटिङहरू थपिएका छन ।
डाइनामिक वालपेपर : एउटा नयाँ डाइनामिक वालपेपर थपिएको छ जसको रङ समयअनुसार स्वतः परिवर्तन हुन्छ ।
यो चौथो डेभलपर बेटालाई अन्तिम बेटा मानिएको छ र अब चाँडै नै आईओएस २६ को पब्लिक बेटा भर्सन सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १९:३८
सामाग्री श्रोत :
टेक पाना