काठमाडौँ । अब विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नहुने भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार (५ साउन) आफू मातहतका जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै आरोपीहरूको फोटो/भिडिओ सार्वजनिक नगर्न निर्देशन दिएको हो ।

अबदेखि आरोपीलाई समेत प्रेस मिटहरूमा सार्वजनिक नगर्ने निर्णय भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । उनले भने, “कुनै कसुरमा पक्राउ परेका आरोपी अदालतले प्रमाणित नगर्दासम्म घटनाको दोषी नै हुन् भन्न सकिँदैन । त्यसैले पक्राउ परेकै आधारमा उनीहरूलाई सार्वजनिक नगर्न भनेका हौँ ।”
यसअघि महान्यायाधिवक्ताको कार्यालयले १९ असारमा कुनै पनि कसुरको आरोपीहरूलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आरोपी सार्वजनिक नगर्न परिपत्र गरिएको डीआईजी घिमिरेले बताए ।
घटनाका आरोपी सार्वजनिक गर्नै पर्ने अवस्था आएमा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृतिपछि मात्र सार्वजनिक गर्न सकिने जानकारी उनले दिए ।

नेपाल प्रहरीको साइबर ब्युरोले भने यसअघि देखि नै आरोपीको फोटो तथा भिडिओ सार्वजनिक नगर्ने अभ्यास अपनाउँदै आइरहेको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १९:४५
सामाग्री श्रोत :
टेक पाना