काठमाडौँ । बल्क एसएमएस क्षेत्रमा काम गर्दै आएको आकाश टेकले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) सेवा सञ्चालनमा ल्याएको छ । विदेशी सफ्टवेयरमाथिको निर्भरता हटाउँदै सस्तो र सुलभ सेवा दिने उद्देश्यले नेपालमै यस्तो प्रविधि तयार पारिएको कम्पनीले जनाएको छ ।

आईभीआर एक स्वचालित टेलिफोन प्रविधि हो, जसले फोन कलमा प्रयोगकर्तालाई पूर्व-रेकर्ड गरिएको आवाजमार्फत आवश्यक जानकारी प्रदान गर्न वा सम्बन्धित व्यक्तिसम्म पुग्न निर्देशन दिन्छ ।
उदाहरणका लागि, जब हामी कुनै बैंकमा फोन गर्छौं, सुरुमा ‘नेपालीका लागि १ थिच्नुहोस्’ वा ‘अंग्रेजीका लागि २ थिच्नुहोस्’ जस्ता निर्देशनहरू सुन्न पाइन्छ । त्यसपछि प्रयोगकर्ताको समस्या वा जिज्ञासासँग सम्बन्धित थप विकल्पहरू प्रस्तुत गरिन्छ । ती विकल्पहरूमा क्रमशः नम्बर थिच्दै जाँदा अन्ततः प्रयोगकर्ता सम्बन्धित प्रतिनिधिसँग जोडिन्छ । यस सम्पूर्ण प्रक्रिया सञ्चालन गर्ने प्रणाली र सफ्टवेयरलाई नै आईभीआर भनिन्छ ।
आकाश टेकका प्रमुख कार्यकारी अधिकृत ब्रिजेश गुप्ताले यो सिस्टम पूर्ण रूपमा नेपालमै तयार पारिएको र यस्तो सेवा दिने पहिलो नेपाली सफ्टवेयर भएको दाबी गरे ।

“अन्य कम्पनीहरूले विदेशी सफ्टवेयर प्रयोग गरेर यो सेवा दिने गरेका छन्, तर हामीले नेपालमै विकास गरेका हौँ,” गुप्ताले भने, “यसले गर्दा हाम्रो सेवा लागतको हिसाबले निकै सस्तो छ ।” उनका अनुसार यो सेवा मोबाइल एप्लिकेसन र वेबमा आधारित दुवै माध्यमबाट उपलब्ध गराइनेछ ।
हाल कम्पनीले १० हजारभन्दा बढी व्यावसायिक संस्थाहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ । कम्पनीका विक्री विभाग प्रमुख राजन कोइरालाका अनुसार आकाश टेकका विभिन्न सेवाहरू एक करोड १२ लाखभन्दा बढी व्यक्तिले प्रयोग गरिरहेका छन्, जसमा बैंक तथा वित्तीय संस्थाहरू प्रमुख ग्राहक छन् ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १५:४४
सामाग्री श्रोत :
टेक पाना