२०८२ श्रावण ८ बुधबार
२०८२ श्रावण ८ बुधबार

टेरामक्स काण्डमा निलम्बित सांसद सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि हुनु लज्जास्पद: माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले टेरामक्स भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका व्यक्तिलाई प्रमुख अतिथि बनाएर सम्मान गरिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो काम सुशासन र कानुनी शासनमाथिको हमला भएको भन्दै गृह मन्त्रालयको आधिकारिक धारणा माग गरे ।

दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद प्रकरणमा मुछिएर विशेष अदालतमा मुद्दा दर्ता भएपछि सांसद पदबाट निलम्बनमा परेका कांग्रेस नेता मोहन बहादुर बस्नेतलाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले एक कार्यक्रममा प्रमुख अतिथि बनाएको विषयप्रति लक्षित गर्दै सांसद सापकोटाले संसदको समेत अवहेलना भएको बताए ।

“अख्तियारले मुद्दा चलाएपछि विशेष अदालतबाट निलम्बनमा परेका व्यक्तिलाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि बनाउनुभयो,” सापकोटाले भने, “रातो गलैँचा र ठुलो माला लगाएर सानका साथ फोटो खिचेर जिल्ला प्रशासन कार्यालयको फेसबुकमा अपलोड गरियो ।”

सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई संसदको प्रक्रियाअनुसार निलम्बन गरिएको स्मरण गराउँदै उनले कानुनी रूपमा मुद्दा लागेका व्यक्तिलाई सरकारी निकायबाटै सम्मान गरिनुले गलत सन्देश गएको बताए ।

“निलम्बनमा परेका र कानुनी रुपमा मुद्दा समेत लागेका व्यक्तिलाई आमन्त्रण गरेर राख्नु भनेको यो संसदको समेत अवहेलना हो,” उनले थपे, “यो सुशासन, प्रणाली, नैतिकता र जनताको विश्वासमाथिको ठुलो हमला हो ।”

जिल्लामा प्रमुख जिल्ला अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत प्रतिनिधिको रूपमा रहने, तर अख्तियारले नै मुद्दा चलाएको व्यक्तिलाई सम्मान गर्नु गम्भीर विषय भएको उनको भनाइ थियो । उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

टेरामक्स खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी छोडेको थियो । मन्त्री पदमा रहँदा राज्यलाई तीन अर्ब २१ करोड ८३ लाख रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्‍याउने गरी बदनियतपूर्वक टेरामक्स खरिद प्रक्रिया अघि बढाएको आरोप उनीमाथि लागेको छ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १४:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट