२०८२ श्रावण ८ बुधबार
२०८२ श्रावण ८ बुधबार

परिवार-साथीहरूसँग कुरा गर्दै हुनुहुन्छ ? फोन टेबलमा घोप्टाएर राख्नुहोस्, यस्ता हुन्छन् फाइदा

काठमाडौँ । स्मार्टफोनको बढ्दो प्रयोगले सामाजिक व्यवहार र मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ । यसै कारण धेरैले फोनको स्क्रिन तल फर्काएर राख्ने सानो तर प्रभावकारी अभ्यास सुरु गरेका छन् । यो सामान्य अभ्यासले सामाजिक शिष्टाचार, ध्यान केन्द्रित गर्ने क्षमता र ब्याट्री जोगाउने काममा महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

हामीमध्ये धेरैले अनुभव गरेका छौँ, साथीसँग क्याफेमा बसेर कुराकानी गर्दै गर्दा उनी फोनमा व्यस्त हुन्छन् । यस्तो अवस्थाले सम्बन्धमा दूरी बढाउन सक्छ । सार्वजनिक स्थान, कसैसँग कुराकानी गर्दा वा कुनै भेटघाटमा फोनको स्क्रिन तल पारेर राख्नु किन आवश्यक छ भन्नेबारे तल तीन मुख्य बुँदामा चर्चा गरिएको छ: 

सामाजिक प्रतिष्ठा र सम्मानको संकेत

फोनको स्क्रिन तलपट्टि फर्काउनु सामाजिक रूपमा एक सकारात्मक संकेत हो । यसले तपाईं आफ्नो वरपरका व्यक्तिप्रति सचेत हुनुहुन्छ र उनीहरूको कुरामा ध्यान दिइरहनुभएको छ भन्ने जनाउँछ । आँखा जुधाएर कुरा गर्दा तपाईंको सामाजिक प्रतिष्ठामा टेवा पुग्छ र तपाईंले कुरा गरिरहनुभएको व्यक्तिलाई पनि प्रभाव पार्न सक्नुहुन्छ ।

तर, यदि तपाईं समय-समयमा मोबाइल हेर्दै कुरा गर्नुहुन्छ भने, यो प्रभावकारी नहुन सक्छ । मोबाइल घोप्टो नपारी राख्दा बारम्बार आउने नोटिफिकेसनले तपाईंको ध्यान तान्छ र तपाईं मोबाइल चलाउन थाल्नुहुन्छ । यसले कुराकानीको प्रभावकारिता घटाउन सक्छ ।

ब्याट्री बचत

फोनको स्क्रिन बारम्बार अन हुँदाको उज्यालोले ध्यान मात्र तान्दैन, यसले ब्याट्री पनि धेरै खपत गर्छ । दिनभर सयौँ नोटिफिकेसन आउने प्रयोगकर्ताहरूका लागि यो झन् चुनौतीपूर्ण हुन सक्छ ।

एउटा वा दुईटा नोटिफिकेसनले ब्याट्रीमा खासै फरक नपारे पनि लगातार नोटिफिकेसन आउँदा यसले ब्याट्रीलाई असर गर्न सक्छ । यदि प्रयोगकर्ताले सबै एपहरूमा नोटिफिकेसन सक्रिय गरेका छन् वा धेरै ग्रुप च्याटमा छन् भने, दिनभर स्क्रिन दर्जनौँ पटक अन हुन सक्छ। कतिपय किशोरकिशोरीहरूले त दिनमा सयौँ नोटिफिकेसन पाउँछन् । फोनको स्क्रिन तल फर्काउँदा नोटिफिकेसन देखिँदैन र अनावश्यक रूपमा ब्याट्री खर्च हुँदैन।

फोनको सुरक्षा

फोनको स्क्रिन तल फर्काएर राख्दा स्क्रिन सुरक्षित रहन्छ । टेबलमा राखिएको फोन नजिकै पानीको गिलास वा कफीको मग राख्दा आकस्मिक रुपमा पानी पोखिने जोखिम हुन्छ । स्क्रिन तल भएकाले यस्तो जोखिम कम हुन्छ । साथै फोनमा कभर प्रयोग गर्दा धुलो, कण र टुक्राहरूबाट पनि बचाउ मिल्छ । फोनलाई स्क्रिन माथि फर्काएर राख्दा स्क्रिनमा कुनै वस्तु खसेमा चर्किने सम्भावना बढ्छ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ ९:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट