२०८२ श्रावण ८ बुधबार
२०८२ श्रावण ८ बुधबार

‘एपिस्टन फाइल’मा मस्कले ट्रम्पलाई झोसेको आगो

काठमाडौँ । सन् २०१५ मा डोनल्ड ट्रम्प राजनीतिको मञ्चमा प्रवेश गरेदेखि कसैले गर्न नसकेको काम जुन ५ मा एलनन मस्कले गरे । उनले ‘मेक अमेरिका ग्रेट अगेन’ का अभियन्ता डोनल्ड ट्रम्पको सात्तो उडाइदिए । 

यो सबै घटनाको सुरुवात एक्समा भएको सनसनीपूर्ण पोस्टबाट सुरु भयो । “अब साँच्चै ठुलो बम खसाल्ने बेला आएको छ । डोनल्ड ट्रम्पको नाम पनि एपस्टिन फाइलमा छ,” मस्कले लेखेका थिए । “त्यही वास्तविक कारण हो कि ती फाइलहरू सार्वजनिक गरिएको छैन । तपाईंको दिन शुभ रहोस् ।” अहिले यो पोष्ट मस्कले हटाइसकेका छन् ।  

मस्कले चुपचाप मेटाउनुअघि नै यो पोस्ट भाइरल भइसकेको थियो । ट्रम्पको लागि ठुलो क्षति भइसकेको थियो । ट्रम्पले आफूले कुनै बेला अति विश्वास गरेको व्यक्तिबाट गम्भीर विद्रोहको सामना गरिरहेका थिए र यसैको झिल्को मस्कबाट आएको थियो । 

मस्कको नियोजित प्रहार

ट्रम्प-मस्क सम्बन्धमा आएको दरार अघिल्लो महिना सार्वजनिक रूपमा देखियो, जब अमेरिकी राष्ट्रपतिले मस्कको आलोचनाबाट क्रुद्ध हुँदै सरकारले मस्कका कम्पनीहरूलाई कामहरु खोज्ने संकेत दिए । ट्रम्पले यो घोषणा गरेको दिन नै टेस्लाको शेयर मूल्यमा ठुलो गिरावट आयो र यसको बजार मूल्यमा एकसय ५० अर्ब डलरको कमी आयो । 

तर सुरुमा धेरैले ध्यान नदिएको कुरा के थियो भने मस्कले ट्रम्पलाई असाध्यै विवादित घटनामा संलग्न गराउन खोजे- जेफ्री एपस्टिन ।

राजनीतिक, आर्थिक र मनोरञ्जन क्षेत्रका सम्भ्रान्तहरूसँग नजिकको सम्बन्ध भएका यौन अपराधका दोषी एपस्टिनको हत्या भएको ट्रम्पका समर्थकहरुको विश्वास छ । डेमोक्र्याट पार्टीका शक्तिशाली व्यक्तिहरुलाई एपस्टिन जोडिएको यौन अपराधबाट बचाउन उनको हत्या गरिएको विश्वास ट्रम्प समर्थकहरुले वर्षौदेखि गर्दै आएका छन् । 

एपस्टिनले गरेको बालयौन दूराचारको फाइल खोल्दा अमेरिकी शक्तिशाली व्यक्तिहरुसमेत मुछिन सक्ने भन्दै अनुमान गरिएको विषय अहिले विश्वव्यापी चर्चाको विषय बनिरहेको छ । तर, मस्कको त्यो पोष्टले यो आगोमा घ्यू थप्ने काम गर्‍यो । 

जेफ्री एपस्टिन फाइल के हो ? 

जेफ्री एपस्टिन अमेरिकाका लगानीकर्ता थिए । उनको गहिरो सम्बन्ध अमेरिकाका राजनीतिज्ञ, व्यापारी र मनोरञ्जन क्षेत्रका प्रभावशाली थियो । उनीमाथि नाबालिगलाई यौन दूराचारको गम्भीर आरोप लागेको थियो । एपस्टिनले नजिकका र शक्तिशाली व्यक्तिहरुलाई पाहुना बनाएर न्युयोर्क, फ्लोरिडा र क्यारेबियनस्थित निजी टापुमा भव्य पार्टीहरू आयोजना गर्ने गरेको र त्यहाँ नाबालिगहरूलाई यौनजन्य गतिविधिको लागि उपलब्ध गराउने गरेको आरोप छ । 

सन् २०१९ मा जेलमा रहेकै बेलामा उनको रहस्यमय मृत्यु भएको थियो । प्रहरीले यसलाई आत्महत्या भनेको छ । तर धेरैको विश्वास छ- यो मुद्दामा अन्य शक्तिशाली व्यक्तिहरु पनि तानिन सक्ने भएकाले प्रमाण नष्ट गर्नको लागि उनको हत्या गरिएको हो । 

यही विषयलाई अहिले चलनचल्तीको भाषामा एपस्टिन फाइल भन्ने गरिन्छ । यसले एपस्टिनको क्रियाकलाप, उनका साझेदारहरु, उनको पाहुना बनेका व्यक्तिहरु, नजिकका साथीहरु, अदालती प्रक्रियाका कागजात र अन्य प्रमाणहरु भएको फाइललाई जनाउँछ । 

आगोमा घ्यू थप्दै मस्क

जुलाई १७ मा एक्समा गरिएका श्रृंखलाबद्ध पोस्टहरूमा मस्कले आफ्नो एक्स प्लेटफर्ममा निर्मित एआई च्याटबट ग्रोकलाई एपस्टिनको बदनाम निजी टापु भ्रमण गर्ने व्यक्तिहरूको सूची बनाउन आग्रह गरे । 

“एपस्टिनले उपलब्ध गराएका नाबालिगहरूमाथि भएको सम्भावित बलात्कारको विषयमा अनुसन्धान गरिनुपर्छ,“ मस्कले लेखे । उनले सोही दिन यसमा संलग्न हुन भएका सम्भावित व्यक्तिहरुको सूची सम्भावित अपराधको गाम्भीर्यताको आधारमा सूची बनाउन पनि ग्रोकहलाई निर्देशन दिए । र, सोही जानकारी एक्सामार्फत् पोष्ट गरे । 

मस्कले एपिस्टन फाइलमा ट्रम्पको पनि संलग्नता हुन सक्ने आधार दिंदै गरेको पोष्टलाई एक षड्यन्त्रको सिद्धान्त (conspiracy theory) को रुपमा हेरिए पनि यो ट्रम्पलाई क्रुद्ध बनाउन पर्याप्त थियो । 

ट्रम्पले यी आरोपहरूलाई “मूर्खको हल्ला“ भन्दै नकारेका छन् र आफ्ना समर्थकलाई निश्चिन्त रहन भनेका छन् । ट्रम्पको यो आह्वानले उनका समर्थकलाई ढाडस दिए पनि उनका विरोधीहरुलाई भने उनको थप विरोधको लागि आधार दिएको छ । 

मस्कको यो कदमले अनलाइनमा क्रिया र प्रतिक्रिया तीव्र बन्दै #ReleaseTheEpsteinFile ह्यासट्याग फेरि सुरु भएको छ । 

यसैबिचमा, अमेरिकी न्याय विभागले यो मुद्दामा पुनः अनुसन्धानको लागि केही फाइल खोलेकी अनुसन्धानकर्ता मौरिन कोमीलाई बर्खास्त गरेपछि अनलाइनमा थप संशय उत्पन्न भयो । यो कदमले ट्रम्पले कतै आफैं विरुद्धको प्रमाण लुकाउन त यसो गरिरहेका छैनन् भन्ने आशंका गर्नेहरुलाई थप बल पुग्यो । 

विवाद र टकरावको श्रृंखला

मस्क र ट्रम्पबिचको विवाद एपस्टिन फाइलमा मात्र सीमित छैन । ट्रम्पले ल्याएको कर छुट र खर्च कटौतीसम्बन्धी ’बिग ब्युटिफुल बिल’ लाई लिएर पनि उनीहरूबिच चर्को भनाभन भयो । मस्कले उक्त बिललाई देशका लागि हानिकारक र रिपब्लिकन पार्टीका लागि “राजनीतिक आत्महत्या“ को संज्ञा दिएका थिए । विवाद बढ्दै जाँदा ट्रम्पले मस्कलाई अमेरिकाबाट निकाल्ने धम्की समेत दिन भ्याए । यसको प्रतिक्रियामा ट्रम्पले पनि आफू नयाँ पार्टी खोल्ने उत्तर दिए । 

यही विवादबिच ट्रम्पलाई विवादित बनाउन सक्ने एउटा आधार देखे–एपस्टिन फाइनल । 

पछिल्ला एक दशक अमेरिकी राजनीतिमा ट्रम्पले हलचल ल्याउँदै आएका थिए । उनको राजनीतिक यात्रा विपक्षीप्रतिको शंका र नैतिक प्रश्नमा केन्द्रित थियो । तर, यसको स्क्रिप्ट मस्कले उल्टाइदिए । मस्कको कदमको प्रभाव पनि देखियो । 

ट्रम्पले स्थापना गरेको स्पेसएक्स धेरै हदसम्म अमेरिकी संघीय सरकारले उपलब्ध गराएको ठेक्कामा निर्भर छ । यसैकारण, धेरैले यी दुईबिचको विवाद मस्कको लागि घाटा हुने आंकलन गरेका थिए । तर, ट्रम्पलाई एपिस्टन फाइलको विवादको आगोमा झोसेर मस्क आफ्नो काममा फर्किएका छन् । तर, ट्रम्पलाई अहिलेसम्म पनि यो आगोले पोल्न छाडेको छैन । 

आफ्नो राजनीतिक उदयको लागि विपक्षीलाई नैतिक प्रश्नको घेरामा राख्ने ट्रम्पविरुद्ध उस्तै खाले नैतिक प्रश्न तेर्स्याएर ट्रम्पले रणनीतिक प्रहार गरेका छन् । अमेरिकी राजनीतिमा एजेन्डा सेटरको रुपमा स्थापित ट्रम्प पहिलो पटक कुनै एजेण्डा सेट गरिरहेका छैनन्– उनी अरु कसैलाई प्रतिक्रिया दिएर बसेका छन् । र, यसको रिमोट मस्कको हातमा छ । 

अहिलेलाई : मस्क–१. ट्रम्प–० ।

गिजमोडो र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीको आधारमा तयार पारिएको ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ ७:२९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट