काठमाडौँ । देशका दुई ठुला डिजिटल वालेट कम्पनी खल्ती र आइएमई पे एक-आपसमा गाभिएर एउटा विशाल डिजिटल वालेट, अझ त्योभन्दा पनि माथि ‘सुपर वालेट’ बन्ने दौडमा छन् । लामो समयदेखि चलिरहेको प्रक्रिया सकाउँदै १ साउनदेखि ‘खल्ती बाई आइएमई’ को नामले यो वालेट नयाँ रूपसहित सञ्चालनमा आइसकेको छ । एकअर्कामा गाभिएका फिचरसहित केही नयाँ सुविधाहरू लिएर कम्पनी बजारमा आउँदैछ । तर किन खल्तीलाई सुपर वालेटको रूपमा परिचित गराइँदैछ त ?

कम्पनीका सीईओ विनय खड्काका अनुसार अब खल्ती केवल डिजिटल वालेटमा सीमित रहने छैन । उनले खल्तीलाई वालेटबाहेकका विविध सेवाहरू समेटेर डिजिटल फाइनान्सियल सर्भिसेज को रूपमा अघि बढाइने जानकारी दिए । “निकट भविष्यमा खल्ती खर्च गर्ने प्लेटफर्म मात्र नभई बचत, लगानी, पुँजी निर्माण लगायत सम्पूर्ण वित्तीय सेवाहरू समेटेर बजारमा आउनेछ,” खड्काले भने, “खल्तीले सम्पूर्ण आर्थिक कारोबारको एकीकृत समाधान दिनेछ ।”
सुरुमा, सुपर वालेट भनेको के हो भनेर बुझौँ:
सुपर वालेट भनेको एउटा यस्तो डिजिटल समाधान हो, जसले परम्परागत भुक्तानी र वित्तीय सेवाभन्दा अगाडि बढेर एउटै प्लेटफर्मबाट मानिसको दैनिक जीवनमा आइपर्ने विभिन्न आर्थिक गतिविधिहरूलाई समेट्न सक्छ । जस्तै; लगानी, बीमा, ईकमर्स, ट्राभल बुकिङ, टिकेटिङ, बचत लगायतका सेवा एउटै एपभित्र उपलब्ध हुन्छन् ।

सुपर वालेटको उद्देश्य प्रयोगकर्ता, वित्तीय संस्था, व्यापारी र सेवा प्रदायकलाई एउटै प्लेटफर्ममा जोडेर ग्राहक केन्द्रित इकोसिस्टम निर्माण गर्नु हो । जसले कारोबारलाई सहज बनाउँछ र समग्र वित्तीय अनुभव प्रदान गर्छ । खल्ती पनि यस्तै इकोसिस्टम बनाउने तयारीमा छ ।
अन्य वालेटहरू जस्तै, खल्तीले पनि टिकेटिङ पार्टनरसिप, बस तथा हवाई टिकट बुकिङ र विभिन्न इभेन्टमा अनलाइन भोटिङ सेवाहरू दिइरहेको छ ।
आइएमई पेले भने रेमिट्यान्स सेवालाई डिजिटल वालेटसँग जोडेर भुक्तानी सेवामा नयाँपन ल्याएको छ । विशेषगरी विदेशबाट रकम पठाउने र प्राप्त गर्ने सेवामा सहजता ल्याएर यो सेवा लोकप्रिय भएको हो । मर्जरपछि अब यी सुविधाहरू खल्तीमा पनि समावेश भएका छन् ।
सीईओ खड्काका अनुसार यस्ता थप नयाँ र उपयोगी फिचरहरू क्रमशः ल्याउने तयारीमा कम्पनी जुटेको छ । पछिल्लो समय राइड-हेलिङ एप इनड्राइभ का चालकहरूले कमिसनको रकम आइएमई पेमार्फत बुझाउँथे, अब सोही सुविधा खल्तीमा पनि उपलब्ध भइसकेको छ ।
रेमिट्यान्स सेवा, ब्याज पाउने सेवा, अनलाइन भोटिङ जस्ता सुविधाहरू अहिले पनि प्रभावकारी नै छन् । खल्तीले बचत सेवा सुरु गरिसकेको छ भने अब सानो रकमको ऋण दिने योजना पनि बनाएको छ ।
छिट्टै साना ऋण सुविधा सुरु गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, बैंक खाता खोल्ने, भिसा कार्ड लिने तथा ऋण सेवा उपलब्ध गराउने योजनासमेत रहेको कम्पनीले जनाएको छ ।
सबै वालेटहरूमार्फत क्यूआर कोड स्क्यान गरेर रकम पठाउने सुविधा थप्ने तयारी पनि भइरहेको छ । यसका लागि अन्य वालेटहरूसँग छलफल जारी रहेको खल्तीले बताएको छ ।
यो सेवा सुरु गर्ने तयारीमा लामो समयदेखि लागिपरेका वालेट कम्पनीहरूमध्ये खल्ती अग्रपंक्तिमा देखिएको छ । हाम्रो दैनिक जीवनका सबैजसो आर्थिक कारोबार एउटै एपबाट गर्न मिल्ने भएपछि खल्तीलाई ‘सुपर वालेट’ को रूपमा लिइएको हो ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ ८:३०
सामाग्री श्रोत :
टेक पाना