
काठमाडौँ । ई-सिम (eSIM) अर्थात् इम्बेडेड सिम (embedded SIM) एक डिजिटल सिम हो, जसले गर्दा मोबाइलमा भौतिक सिम कार्ड राखिरहनु पर्ने आवश्यकता पर्दैन । यसले तपाईँको मोबाइल भित्रै रहेको चिप प्रयोग गर्छ, जसले परम्परागत भौतिक सिम कार्ड घुसाउने र निकाल्ने झन्झटबाट मुक्ति दिन्छ । अर्थात् ईसिमले भौतिक सिम कार्ड बोक्ने झन्झट अन्त्य गर्छ ।
यदि तपाईँको फोन क्यारियर-अनलक गरिएको छ भने तपाईँले विभिन्न क्यारियरहरूबाट भौतिक सिमसँगै थुप्रै ईसिम समेत प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि, एउटा ईसिम स्लटमा एक पटकमा एउटा मात्र नम्बर प्रयोग गर्न सकिन्छ ।
खासगरी विभिन्न देशको यात्रा गर्दा अन्तर्राष्ट्रिय ईसिम प्रयोग गर्न सकिन्छ । यसरी तपाईँ यामा निस्किनु अघि नै डेटा प्लान अनलाइनबाटै खरिद गर्न सक्नुहुन्छ र आफ्नो गन्तव्यमा पुग्ने बित्तिकै आनन्तसँग डेटा चलाउन सक्नु हुन्छ । जसले गर्दा सिम कार्ड पाउने स्टोर खोज्नुपर्ने वा रोमिङ शुल्क तिर्नुपर्ने झन्झट पनि हुँदैन । ईसिमका कारण भविष्यका फोनहरूमा भौतिक सिम कार्ड स्लट नै नहुन पनि सक्छ ।

मोबाइलमा ईसिम सपोर्ट गर्छ कि गर्दैन, कसरी जाँच्ने ?
कुनै पनि मोबाइलले ईसिम सपोर्ट गर्छ कि गर्दैन भन्ने कुरा त्यसको निर्माता कम्पनीले ईसिम समावेश गरेको छ कि छैन भन्नेमा निर्भर गर्छ । एन्ड्रोइड एक ओपन-सोर्स अपरेटिङ सिस्टम भएकोले कुनै पनि मोबाइल उपकरण निर्माता वा क्यारियरले यसलाई कस्टमाइज गर्न सक्छन् ।
केही देश र क्षेत्रहरूमा ईसिम क्षमता बिनाका डिभाइस सार्वजनिक गरिएका हुन सक्छन् । अथवा तपाईँले डिभाइस खरिद गर्नुभएको क्यारियरले ईसिम फिचर इनेबल नगरेको हुन सक्छ । आईओएस उपकरणहरूको लागि पनि चीन, हङकङ र मकाओ जस्ता देशहरूमा उपलब्ध मोडेलहरूमा ईसिम क्षमता नहुन सक्छ । आफ्नो फोनमा ईसिमको फिचर छ कि छैन भन्ने कुरा तपाईँ आफैँ चेक गर्न सक्नु हुन्छ ।
यसका लागि आफ्नो फोनको डायल प्याडमा *#06# डायल गरी कल बटन थिच्नुहोस् । यदि तपाईँको मोबाइल ईसिम कम्प्याटिबल छ भने तपाईँले आफ्नो डिभाइसको ईसिमको इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआईडी-EID) हेर्न सक्नु हुनेछ ।
यदि तपाईँले EID देख्नुभयो भने तपाईँको फोनले ईसिम सपोर्ट गर्न सक्छ । तर यहाँनिर एमईआईडी (MEID) देखा परेमा ईसिम सपोर्ट गर्छ भन्ने नठान्नु होस् । यो तरिका सामान्यतया आईफोन र एन्ड्रोइड दुवैका लागि काम लाग्छ ।
यस बाहेक एन्ड्रोइड फोनहरूमा निर्माता कम्पनीहरू अनुसार फरक फरक तरिकाहरू पनि अपनाउन सक्नु हुन्छ । जसमा सामसङ ग्यालेक्सी फोनहरूका लागि सेटिङबाट कनेक्सनमा ट्याप गरेर सिम म्यानेजरमा पुग्नुहोस् । यदि त्यहाँ Add eSIM विकल्प उपलब्ध छ भने बुझ्नुहोस्, तपाईँको फोनले ईसिम सपोर्ट गर्छ ।
यदि गुगल पिक्सेल फोन छ भने सेटिङहुँदै Network & Internet मा ट्याप गर्नुहोस् । त्यहाँ SIMs को छेउमा रहेको + चिन्हमा ट्याप गर्दा Connect to mobile network पेजमा “Download a SIM instead?” विकल्प छ भने मान्नुहोस् तपाईँको पिक्सेलमा ईसिम चल्छ । यसको विकल्पमा तपाईँले Advanced मा जाँदा Add Operator पनि देख्न सक्नुहुन्छ ।
त्यस्तै ह्वावे, मोटोरोला, ओप्पो, साओमी फोनहरूमा पनि आआफ्नै उपायहरू छन् । ह्वावेका लागि Settings > Mobile Networks > SIM Management मा जानुहोस् । यदि तपाईँले सिम वा ईसिम थप्ने विकल्प देख्नुभयो भने तपाईँको फोन ईसिम कम्प्याटिबल छ। मुख्यतयाः ह्वावेका फ्ल्यागशिप फोनहरूमा ईसिम सुविधा पाउन सकिन्छ ।
मोटोरोला फोनको हकमा Settings > Internet & Networks > Mobile Network > Advanced > Carrier मा जानुहोस् । त्यसपछि Add Carrier विकल्पमा ट्याप गर्नुहोस् र Next गर्नुहोस् । यदि क्यूआर कोड स्क्यान गर्ने स्क्रिन देखा पर्यो भने बुझ्नुहोस् तपाईँको मोटोरोला फोनमा ईसिम लाग्छ ।
यदि तपाईँँसँग ओप्पो फोन छ भने माथि भनिए जस्तै *#06# डायल गर्ने तरिका प्रयोग गर्नुहोस् । त्यसको विकल्पमा Settings > About > Status info मा जानुहोस् । यदि ईआईडी फिल्ड देखियो भने मान्नुहोस्, तपाईँको मोबाइलमा ईसिम प्रयोग गर्न मिल्छ ।
साओमी फोनहरूको हकमा धेरैजसो मोडेलहरूले ईसिम सपोर्ट गर्दैनन् । तर, साओमी १२ टी प्रो, साओमी १३ र १४ सिरिजका फोन तथा साओमी ब्ल्याकशार्क ३मा ईसिम सपोर्ट उपलब्ध छ । यी फोनहरूमा रहेको नेटवर्क सेटिङमा ईसिम थप्ने विकल्प देखा पर्छ ।
आईफोन र आईप्याडमा के गर्ने ?
आईफोनका लागि सेटिङबाट General हुँदै About मा गएर Model Number मा लगातार ट्याप गर्नुहोस् । AXXXX मोडेल नम्बर चीन, हङकङ र मकाओबाट नभएको यकिन गर्नुहोस् । यदि AXXXX मोडेल नम्बर यी क्षेत्रहरूबाट नभएको मोडेल नम्बर हो भने तपाईँको आईफोन ईसिम कम्प्याटिबल हुनुपर्छ ।
यसको विकल्पमा Settings हुँदै Cellular मा जानुहोस् । त्यहाँ तपाईँले Add eSIM विकल्प देख्नुभयो भने बुझ्नुहोस् तपाईँको आईफोनमा ईसिम सपोर्ट छ । मोडेल अनुसार सन् २०१८ मा सार्वजनिक आईफोन एक्सआर र एक्सएससँगै त्यसपछिका सबै आईफोनले ईसिम सपोर्ट गर्छन् । तर आईफोन एक्स वा पुराना मोडेलहरूमा भने भौतिक सिम कार्ड मात्र प्रयोग गर्न सकिन्छ ।
यदि तपाईँसँग आईप्याड छ भने सेटिङबाट General>About हुँदै मोडेल नम्बरमा लगातार ट्याप गर्नुहोस् । जबसम्म AXXXX मोडेल नम्बर देखिन्छ, त्यसले तपाईँको आईप्याड चीन, हङकङ र मकाओ भेरियन्ट नभएको पुष्टि हुन्छ । यदि तपाईँको डिभाइसको मोडेल नम्बर यी क्षेत्रहरूबाट नभएको यकिन भएमा त्यो ईसिम कम्प्याटिबल हुनुपर्छ ।
नेपालमा कसरी लिने ईसिम ?
नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवा प्रदायकले ईसिम उपलब्ध गराउँदै आएका छन् । एनसेलले वर्तमान प्रयोगकर्ताहरूलाई आफ्नो सिमलाई ईसिममा अपग्रेड गर्न र नयाँ प्रयोगकर्तालाई ईसिम खरिद गर्ने विकल्प दिँदै आएको छ ।
आफूले चलाइरहेको एनसेलको भौतिक सिमकार्ड ईसिममा रूपान्तरण गर्न नागरिकता नम्बर र ईमेल आईडी टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्ने हुन्छ । प्रमाणीकरण पछि सिम ईसिममा अपग्रेड हुन्छ ।
यसको विकल्पमा यहाँ क्लिक गरेर ईसिमका लागि अनलाइन आवेदन दिन पनि सकिन्छ । हालको सिमलाई ईसिममा अपग्रेड गर्दा एनसेलले १०० रुपैयाँ शुल्क लिन्छ ।
नयाँ ईसिम खरिद गर्नका लागि भने तपाईँले परिचयपत्र र फोटो सहित नजिकैको एनसेल सेन्टरमा जानुपर्ने हुन्छ ।
नेपाल टेलिकमको विद्यमान सिमकार्डलाई ईसिममा परिवर्तन गर्न भने ५० रुपैयाँ मात्र लाग्छ । यसको तरिका बारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । नयाँ ग्राहकले भने आवश्यक कागजात सहित ईसिमका लागि टेलिकमको ग्राहक सेवा केन्द्रमै पुग्नुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ ७:४१
सामाग्री श्रोत :
टेक पाना