२०८२ श्रावण ८ बुधबार
२०८२ श्रावण ८ बुधबार

गणित ओलम्पियाडमा एआईले जित्यो स्वर्ण, सुरु भयो नयाँ विवाद

 

काठमाडौँ । ओपनएआई र गुगल डीपमाइन्डका एआई मोडेलहरूले सन् २०२५ को अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) मा स्वर्ण पदक स्तरको अङ्क हासिल गरेका छन् । 

विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने यो उच्च माध्यमिक तहको गणित प्रतियोगितामा एआईले उत्कृष्ट प्रदर्शन गरेपछि दुवै कम्पनीले हालै छुट्टाछुट्टै रूपमा यसको पुष्टि गरेका हुन् । 

यो परिणामले एआई प्रणालीहरू कति द्रुत गतिमा अघि बढिरहेका छन् भन्ने कुरालाई मात्र देखाउँदैन, गुगल र ओपनएआई बीचको एआई दौड कति प्रतिस्पर्धात्मक छ भन्ने पनि प्रस्ट पार्छ । 

एआई कम्पनीहरू आफू दौडमा अगाडि रहेको देखाउन पनि चर्को प्रतिस्पर्धा गरिरहेका छन् । धेरै एआई अनुसन्धानकर्ताहरू प्रतिस्पर्धी गणितको पृष्ठभूमिबाट आएका हुनाले आईएमओ जस्ता बेन्चमार्कहरूले उनीहरूका लागि विशेष अर्थ राख्छ ।

गत वर्ष गुगलले ‘फर्मल’ “formal” प्रणाली प्रयोग गरेर आईएमओमा रजत पदक जितेको थियो । ’फर्मल’ प्रणालीको अर्थ मानिसले गणितका प्रश्नहरूलाई कम्प्युटरले बुझ्ने विशेष ढाँचामा अनुवाद गरिदिनु पर्थ्यो। तर, यो वर्ष दुवै कम्पनीले ’इन्फर्मल’ ‘informal’ प्रणालीलाई प्रतिस्पर्धामा उतारे ।  

यसले मानव अनुवाद बिना नै प्राकृतिक भाषामा सोधिएका प्रश्नहरू बुझ्न र प्रमाणमा आधारित उत्तरहरू दिन सक्यो । दुवै कम्पनीले आफ्ना एआई मोडलहरूले आईएमओको परीक्षामा ६ मध्ये ५ प्रश्न सही हल गरेको दाबी गरेका छन् जुन अधिकांश उच्च माध्यमिक तहका विद्यार्थी र गुगलको गत वर्षको एआई मोडलभन्दा उत्कृष्ट स्कोर हो ।

टेकक्रन्चसँगको अन्तर्वार्तामा ओपनएआई र गुगलका अनुसन्धानकर्ताहरूले यो स्वर्ण–पदक स्तरको प्रदर्शनलाई एआईको तर्क क्षमतामा भएको एक ठूलो सफलताको रूपमा व्याख्या गरेका  छन् । 

सामान्यतया एआई मोडलहरूले सरल गणित वा कोडिङजस्ता सिधा उत्तर भएका प्रश्नहरूमा राम्रो प्रदर्शन गर्छन् । तर, राम्रो कुर्सी कसरी किन्ने वा जटिल अनुसन्धानमा कसरी मद्दत गर्ने जस्ता अस्पष्ट वा फरक फरक समाधान भएका काममा भने उनीहरूलाई कठिनाइ हुन्छ ।

तर, ओपनएआईले आफ्नो स्वर्ण–पदकको प्रदर्शनको घोषणा र परीक्षण गरेको तरिकालाई लिएर गुगलले प्रश्न उठाएको छ । 

ओपनएआईले शनिबार बिहान आफ्नो सफलताको घोषणा गरेलगत्तै गुगल डीपमाइन्डका सीईओ र अनुसन्धानकर्ताहरूले सोसल मिडियामा ओपनएआईको आलोचना गरे । उनीहरूले ओपनएआईले आईएमओको आधिकारिक मूल्याङ्कन बिना र समयभन्दा पहिले नै स्वर्ण पदकको घोषणा गरेको आरोप लगाए ।

गुगल डीपमाइन्डका वरिष्ठ अनुसन्धानकर्ता तथा आईएमओ प्रोजेक्टका प्रमुख थाङ लुओङले टेकक्रन्चलाई बताएअनुसार गुगलले प्रतिस्पर्धामा सहभागी विद्यार्थीहरूलाई सम्मान गर्न आफ्नो नतिजा घोषणा गर्न पर्खिएको थियो । 

उनका अनुसार गुगलले गत वर्षदेखि नै आयोजकहरूसँग मिलेर यो एआई परीक्षणको तयारी गरिरहेको थियो । 

ओपनएआईका वरिष्ठ अनुसन्धानकर्ता नोआम ब्राउनका अनुसार आईएमओले केही महिनाअघि ओपनएआईलाई गणित प्रतियोगितामा भाग लिन औपचारिक रूपमा सम्पर्क गरेको थियो । 

आफ्नो एआई मोडलको प्रदर्शनको मूल्याङ्कन गर्न तेस्रो–पक्ष मूल्याङ्कनकर्ताहरू (तीन पूर्व आईएमओ पदक विजे) नियुक्त गरेको ओपनएआईले जनाएको छ । 

स्वर्ण–पदक स्तरको स्कोर थाहा पाएपछि कम्पनीले आईएमओलाई सम्पर्क गरेको र आईएमओले शुक्रबार रातिको पुरस्कार समारोहपछि मात्र घोषणा गर्न आग्रह गरेको ब्राउनले बताए ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८२ २०:९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट