काठमाडौँ । च्याटजीपीटी जस्ता प्रविधि निर्माता ओपनएआईले सार्वजनिक सेवाहरूमा उत्पादकत्व बढाउनका लागि बेलायत सरकारसँग रणनीतिक साझेदारी गरेको छ । बेलायतको एआई पूर्वाधारलाई तीव्र पार्ने र सार्वजनिक सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबार यस्तो समझदारी भएको हो ।

विज्ञान, आविष्कार तथा प्रविधि विभाग र ओपनएआईबिच भएको सम्झौता अनुसार बेलायतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई तीव्रता दिइनेछ । साथै देशको ‘एआई अवसर कार्य योजना’ का लक्ष्यहरू समेत पूरा गरिनेछ । एआईले बेलायतको परिवर्तन र आर्थिक वृद्धिमा मौलिक भूमिका खेल्ने त्यहाँका प्रविधि सचिव पिटर काइलले बताएका छन् ।
ओपनएआईका सीईओ साम अल्टम्यानले यो योजनाले सबैका लागि समृद्धि प्रदान गर्ने उल्लेख गरेका छन् । सम्झौताले ओपनएआईलाई सरकारी डेटामा पहुँच दिन सक्छ । जसको सफ्टवेयर शिक्षा, रक्षा, सुरक्षा र न्याय प्रणालीमा प्रयोग गर्न सकिने सम्भावना रहेको उल्लेख छ ।
बेलायत र ओपनएआईले जनताको सुरक्षा र लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्ने सुरक्षा उपायहरू विकास गर्नेछन् । ओपनएआईले बेलायतको एआई सुरक्षा संस्थानसँग पनि प्राविधिक सूचना आदानप्रदान कार्यक्रम विकास गर्न सहयोग गर्नेछ ।

यो सम्झौताले एआई पूर्वाधारमा लगानीको खोजी गर्नेछ, जसमा प्रायः डेटा सेन्टरहरू निर्माण वा विस्तारको काम पर्छ । ओपनएआईले ‘एआई ग्रोथ जोन’ मा लगानी र सहयोग उपलब्ध गराउनेछ ।
बेलायत सरकारले हाल आफ्नो सार्वजनिक सेवामा उत्पादकत्व बढाउन ‘हमफ्रे’ (Humphrey) नामक एआई टुलहरू प्रयोग गरिरहेको छ । जसले ओपनएआईका मोडेलहरू प्रयोग गर्दछ ।
उदाहरणका लागि जीपीटी-४ओको प्रयोग ‘कन्सल्ट’ (Consult) नामक उपकरणमा गरिएको छ, जसले सार्वजनिक परामर्शको प्रतिक्रियाहरू स्वचालित रूपमा क्रमबद्ध गरेर नीति निर्माण प्रक्रियालाई तीव्रता दिन्छ । कर्मचारीहरूलाई हप्ता लाग्ने उक्त काम एआईले मिनेटमै पूरा गर्दछ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ २१:११
सामाग्री श्रोत :
टेक पाना