काठमाडौँ । गुगलले आईफोन प्रयोगकर्ताहरूका लागि क्रोम ब्राउजरमा एक अपडेट ल्याएको छ । यो नयाँ फिचरले प्रयोगकर्ताहरूलाई आफ्नो व्यक्तिगत र कामको लागि गरिने ब्राउजिङलाई सजिलैसँग छुट्याउनेछ ।

कम्पनीहरूमाझ काममा आउँदा आफ्नै डिभाइस बोकेर आउने (Bring your own device-BYOD) अभ्यास लोकप्रिय बन्दै गएको बेला गुगलले आईफोनको लागि यो सुविधा ल्याएको हो ।
यी फिचरहरू केही समयदेखि एन्ड्रोइड उपकरणहरूमा उपलब्ध थिए र अब आईफोनको लागि क्रोम अपडेटको रूपमा रोल आउट हुन थालेका छन् ।
गुगलले प्रयोगकर्ताहरूलाई क्रोममा आफ्नो व्यक्तिगत र अफिसियल अकाउन्टबीच सजिलै स्विच गर्नका लागि नयाँ र सजिलो विधि ल्याएको छ । प्रयोगकर्ताले आफ्नो आईफोनमा भएको गुगल क्रोममा आफ्नो प्रोफाइल आइकनमा क्लिक गरी व्यक्तिगत र कामको लागि क्रोममा छुट्टाछुट्टै प्रोफाइल बनाउन सक्नेछन् ।

यसले ट्याब, पासवर्ड, ब्राउजिङ हिस्ट्री र अन्य डेटाहरूलाई दुई भागमा छुट्याउँछ । यसले गर्दा व्यक्तिगत र कामको ब्राउजिङ हिस्ट्री व्यवस्थित हुन्छ ।
यसका साथै, आईफोनको क्रोममा अब यूआरएल फिल्टरिङ (URL Filtering)को सुविधा पनि थपिएको छ, जुन पहिले डेस्कटप र एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो ।
यो फिचरले कर्मचारीहरूलाई कम्पनीले अनुमति नदिएका वेबसाइट वा जेनेरेटिभ एआई उपकरणहरू चलाउनबाट रोक्छ । यसले कर्मचारीहरूले व्यक्तिगत डिभाइस प्रयोग गर्दा पनि कार्यालयको नीति पालना सुनिश्चित गर्दछ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १९:१५
सामाग्री श्रोत :
टेक पाना