जनकपुरधाम- मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो प्रदेश बनेको छ।
जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र प्रदेश खोप समन्वय समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादवलाई प्रदान गरिएको छ।
परिवार कल्याण महाशाखाका डा अभियान गौतमले मधेश प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले घोषणा सभामा बोल्दै देशमै मधेशलाई पहिलो प्रदेश बनाउन सहयोग गरेका स्वास्थ्यकर्मीहरुप्रति धन्यवाद व्यक्त गरे।
स्वास्थ्यकर्मीहरु घरघरमा पुगेर खोप लगाउनका लागि प्रेरित गर्नुका साथै ताकेता गरेको परिणाम स्वरुप मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको मन्त्री सिंहले थपे।
खोपले नै समाज निरोग हुने भएकाले यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा मन्त्री सिंहले जोड दिए। तोकेको समयमा बालबालिकालाई खोप लगाएर निरोग समाज निर्माणमा सहयोग पुर्याउन उनले सबैमा आग्रह पनि गरे।
सो अवसरमा मधेश प्रदेशका मुख्य सचिव मदन भुजेलले स्वास्थ्यकर्मीहरुको मिहिनेत, समन्वय र सहकार्यले आज मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन सफल भएको बताए। ‘अब यसलाई दिगोपना दिनुपर्नेमा सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘दिगोपना दिन सकेनौं भने घोषणको कुनै अर्थ हुँदैन । त्यसैले यसको दिगोपनामा जोड दिनुपर्छ।’
घोषणा सभामा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले मधेशमा खोप कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए। स्वास्थ्यकर्मीहरुको योगदानले मधेश आज देशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा हुन सफल भएकोमा सबैमा उनले धन्यवाद व्यक्त गरे।
सो अवसरमा परिवार कल्याण महाशाखाका डा गौतमले मधेश देशमै पहिलो हुन सफल भएकोमा सबैमा बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले खोप यसै वर्षका लागि होइन, आगामी दिनमा पनि संचालन गर्नुपर्ने भएकाले निरन्तरता जरुरी छ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले खोप सोझै स्वास्थ्यसित जोडिएकाले यसलाई प्रभावकारी रुपले अगाडि बढाउनुपर्नेमा जोड दिए । घोषणा भइसकेपछि स्वास्थ्यकर्मीहरु थप जिम्मेवार भएर खोप अभियान संचालन गर्नुपर्ने धारणा उनको थियो।
प्रदेश खोप समन्वय समिति, मधेश प्रदेशले आयोजना गरेको घोषणा सभामा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुन सिंह, प्रदेश खोप समन्वय समिति सदस्य डा गरिबदास ठाकुर लगायतले मन्तव्य राखेका थिए ।
१५ महिनासम्मका १ लाख १५ हजार एक सय ३९ बालबालिका र १६ देखि २३ महिनासम्मका एक लाख १८ हजार सात सय ६८ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर अधिकृत लक्ष्मेश्वर झाले बताए।
सामाग्री श्रोत :
swasthyakhabar

