गिटार थेरापी भन्नाले गिटारलाई मानसिक वा शारीरिक स्वास्थ्यको उपचार प्रक्रियामा प्रयोग गर्नु हो। यो संगीत–चिकित्सा (म्युजिक थेरापी) को एक हिस्सा हो, जहाँ गिटार बजाउने, सुन्ने वा संगीत सृजना गर्ने कार्यमार्फत् रोगीको उपचार प्रक्रियालाई अगाडि बढाइन्छ।
गिटार एक प्राचीन तारयुक्त वाद्ययन्त्र हो जसको विकास लामो समयको इतिहाससँग जोडिएको छ। यसको उत्पत्ति विभिन्न सभ्यताबाट हुँदै आएको हो र अहिलेको आधुनिक गिटारको रूप धेरै चरणहरू पार गरेर विकसित भएको हो। म्युजिक थेरापी अन्तर्गत गिटारलाई मनोरन्जनको साधनको अलावा कसरी स्वास्थ्य उपचारमा सहयोगीसिद्ध रहेको छ भन्ने कुरा चर्चा गरिएको छ।
प्राचीन समय गिटारजस्तै देखिने वाद्ययन्त्रहरू करिब ४,००० वर्ष पहिले मेसोपोटामिया, मिश्र र भारतमा पाइन्थे। प्राचीन ग्रीसमा ‘किथारा’ नामको वाद्ययन्त्र बजाइन्थ्यो, जुन गिटारको नामसँग पनि सम्बन्धित छ।
मध्य युग (५औं – १५औं शताब्दी) युरोपमा अरबहरूले ल्याएको ‘उद’ नामक वाद्ययन्त्रले गिटारको विकासमा ठूलो भूमिका खेलेको मानिन्छ। स्पेनमा ‘विहुएला’ नामक वाद्ययन्त्र लोकप्रिय बन्यो, जुन आधुनिक गिटारको प्रारम्भिक रूप थियो।
१७औं – १९औं शताब्दी स्पेनमा आधुनिक शास्त्रीय गिटारको विकास सुरु भयो। १८औं शताब्दीमा गिटारमा ६ तारहरू प्रचलनमा आए। प्रसिद्ध स्पेनिश गिटार निर्माता एंटोनियो टोरेसले १९औं शताब्दीमा आधुनिक शास्त्रीय गिटारको आकार र ध्वनि प्रणाली विकास गरे। २०औं शताब्दीमा आधुनिक गिटारको युगको सुरुवात भयो जहाँ इलेक्ट्रिक गिटार सन् १९३० को दशकमा आविष्कार गरियो।
गिटारको इतिहास हजारौं वर्ष पुरानो छ र यसले धेरै सभ्यताहरूको संगीत यात्रा समेटेको छ। आज गिटार केवल एउटा वाद्ययन्त्र नभई सांगीतिक अभिव्यक्तिको शक्तिशाली माध्यम बनिसकेको छ । नेपाली आधुनिक गीत, लोकपप र रकलगायत सम्पूर्ण गीतहरुमा गिटारले महत्त्वपूर्ण स्थान ओगटेको छ।
गिटार बजाउनुका फाइदाहरू
गिटार केवल मनोरञ्जनको साधन मात्र नभई, मानिसको मानसिक- शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उपचारको साधन पनि हो। यो विधि विशेष गरी मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, र आत्म-विकासका लागि निकै प्रभावकारी देखिएको छ।
गिटार मात्र होइन जुन सुकै वाध्य बाधक यन्त्र बजाउनुका फाइदाहरू प्रसस्त रहेका हुन्छन । यहाँ म गिटार बजाउनु बाट हुने फाइदाहरुको बारेमा विश्लेषण गर्दैछु । गिटार बजाउनुबाट शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा फाइदाहरु हुने गर्दछन्।
संगीत वाद्ययन्त्र बजाउनु केही मानसिक तथा शारीरिक समस्याहरूको उपचार प्रक्रियामा उपयोगी हुन सक्छ। यसलाई सङ्गीत-चिकित्सा (म्युजिक थेरापी) भनिन्छ।
म्युजिक थेरापी अन्तर्गत कुनै पनि बाध्ययन्त्र बजाउने, संगीत सुन्ने वा संगीतसँग सम्बन्धित गतिविधिहरू प्रयोग गरिन्छ। यसैक्रममा यहाँ गिटार बजाउदा मानसिक तथा शरीरिक समस्याहरुमा सुधार हुने कुराहरुको बारेमा उल्लेख गरेको छु ।
१. मानसिक स्वास्थ्यमा गिटारको लाभ
• गिटार बजाउँदा तनाव, चिन्ता र डिप्रेशन कम गर्न मद्दत गर्छ।
• गिटारले ध्यान केन्द्रित गराउने क्षमता बढाउँछ, जुन ध्यान केन्द्रित गर्न नसक्ने र अत्यधिक चञ्चल हुने मानसिक समस्या (एडीएचडी) भएका व्यक्तिका लागि फाइदाजनक हुन सक्छ।
• भावनात्मक अभिव्यक्ति सहज बनाउने भएकाले आन्तरिक पीडा कम गर्न सहयोग गर्छ।
२. भावनात्मक उपचारमा सहयोग
• संगीतमार्फत् आफूभित्रको भावना व्यक्त गर्न सकिने हुँदा, गिटारले मानिसलाई भावनात्मक रूपले सन्तुलनमा ल्याउँछ।
• आत्मसम्मान र आत्म–विश्वास बढाउँछ।
• एकान्तता र उदासी कम गर्न उपयोगी
३. ध्यान र मानसिक एकाग्रता
• गिटार बजाउँदा दिमाग, हात र कानको समन्वय आवश्यक पर्छ, जसले ध्यान केन्द्रित गर्न सहयोग गर्छ।
• यो माइन्डफुलनेस जस्तै काम गर्छ, जसले मानसिक शान्ति दिन्छ।
४. बृद्धावस्थामा मानसिक सक्रियता
• वृद्ध व्यक्तिहरूले गिटार बजाउँदा उनीहरूको मस्तिष्क सक्रिय रहन्छ र स्मृतिभ्रंश (डिमेन्सिया) जस्ता रोगको जोखिम कम हुन्छ।
५. बालबालिकामा विकासात्मक समस्या सुधार
• अटिज्म भएका बालबालिकामा गिटार संगीतमार्फत सञ्चार कौशल र सामाजिक व्यवहार सुधार गर्न सकिन्छ।
६. शारीरिक पुनर्स्थापनामा सहयोग
• हातको गति र समन्वय सुधार्ने भएकाले, केही शारीरिक पुनर्स्थापना (फिजियोथेरापी तथा रिहाबिलिटेसन) प्रक्रियामा पनि गिटार उपयोगी हुन्छ।
• स्ट्रोक, ट्रॉमाटिक ब्रेन इन्जुरी (टिबीआइ), वा हात–खुट्टाको चलायमानता गुमाएका व्यक्तिहरूका लागि उपयोगी।
विश्वका विभिन्न अस्पताल, पुनर्स्थापना केन्द्रहरू र मानसिक स्वास्थ्य संस्थाहरूले संगीत–चिकित्सा विधि अपनाएका छन्। प्रशिक्षित म्युजिक थेरापिस्टहरूले गिटार प्रयोग गरेर व्यक्तिको अवस्था अनुसार उपचार प्रक्रिया अपनाउँछन्।
मस्तिष्कको विकासमा सहयोग
गिटार बजाउँदा दुवै हात, कान, र दिमाग सक्रिय हुन्छन् जसले मस्तिष्कको समन्वय क्षमता बढाउँछ। एकाग्रता र सृजनशीलतामा सुधार हुनुको साथै बितेको पलहरुको याद लाई ताजा बनाउन सहयोग गर्दछ।
तनाव र चिन्ता कम गर्न सहयोग
अहिलेको व्यस्त जीवनशैलीले मानिसहरूमा बिभिन्न तनाव, चिन्ता र प्रेसरहरु उत्पन्न गराएको छ। संगीत बजाउँदा मन शान्त हुन्छ। गिटार एक किसिमको ध्यान जस्तै बन्न सक्छ। मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
आत्मविश्वास र अनुशासन विकास
गीतार बजाउन सिक्न धेर्यता र नियमित अभ्यासको जरुरत पर्दछ । लगातारको अभ्यासले धैर्य र अनुशासन सिकाउँछ। गीत बजाउदा आफूलाई आनन्द प्राप्त हुन्छ भने बजाएर अरुलाई सुनाउदा खुसी र आत्मविश्वास बढ्छ।
सामाजिक सम्बन्ध सुदृढ पार्छ
गिटार बजाउनेले साथीभाइ, समूह, ब्यान्ड वा सांगीतिक कार्यक्रममार्फत् समाजसँग जोडिन सक्छ। नयाँ मित्रता र सहकार्यको अवसर दिन्छ।
भावनात्मक अभिव्यक्ति सहज हुन्छ
गिटारमार्फत मानिसले आफ्नो भावना र अनुभवहरू अभिव्यक्त गर्न सक्छ – दु:ख, खुशी, प्रेम आदिका भावहरू।
व्यावसायिक सम्भावना
राम्रो बजाउन सक्नेले ब्यान्ड, रेकर्डिङ, कार्यक्रम वा शिक्षण मार्फत् आम्दानी गर्न सक्छ। संगीत शिक्षक वा कलाकार बन्ने सम्भावना रहन्छ ।
हातको गति र समन्वय सुधार हुन्छ
गिटारले हात, औंला र कलाईको लचकता तथा समन्वयमा सुधार ल्याउँछ।
ध्वनिमा संवेदनशीलता बढ्छ
सुर, ताल, र रागको राम्रो ज्ञान हुन्छ जसले संगीतप्रतिको बुझाइ गहिरो बनाउँछ।
गिटार वा संगीत वाद्ययन्त्र बजाउनु (विशेषगरी गिटार) ले विभिन्न रोगहरूको उपचार प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका केही यथार्थ घटनाहरू छन्। यस्ता घटनाहरूले प्रमाणित गर्छन् कि गिटार न केवल संगीतको साधन हो, यो एक प्रभावकारी थेरेपी पनि बन्न सक्छ।
अमेरिकामा युद्धबाट फर्किएका धेरै पूर्वसैनिकहरू (भेटरान्स) पोस्ट ट्रउमाटिक डिसअर्डर नामक मानसिक रोगबाट पीडित हुने गर्छन्। उनीहरूमा डर, तनाव, अवसाद, निद्रा नआउने जस्ता समस्या देखिन्छन्। गीतार फर भेट्स नामक एक संस्थाले युद्धबाट फर्केका पूर्वसैनिकहरूलाई गिटार सिकाउने काम गर्छ। गिटार बजाउन थालेर धेरै सैनिकहरूको मानसिक अवस्था सुध्रिएको पाइएको थियो । उनीहरूले गिटारलाई एक प्रकारको मानसिक औषधिको रूपमा लिएका थिए।
त्यसैगरी जापानमा गरिएको एक अध्ययनमा अटिज्म भएका बालबालिकालाई गिटार संगीतमा सहभागी गराइयो।
उनीहरूलाई गिटारको धुनमा सामेल गराएर ताली बजाउने, गाउने र विस्तारै तार छुन सिकाउने गरियो। बच्चाहरूको बोल्ने क्षमता, सामाजिक व्यवहार र प्रतिक्रिया दिने सीपमा उल्लेखनीय सुधार देखियो।
नर्थ डकोटा बिश्वबिद्यालय द्वारा गरिएको अनुसन्धान अनुसार एक ८५ वर्षीया महिलाको १३ हप्ते थेरापीमा रिदेमिक अडियोटरी स्टीमुलेसन गीतार पेसिङ पद्दतीको प्रयोग गरेपछि चल्ने क्षमता, सन्तुलन, स्थानान्तरणका मापदण्डहरूमा सुधार आएको थियो । त्यसैगरी पार्ककिन्सन रोग भएको अर्को केसमा पनि गिटार–संगीत–फिजियो थेरापीले ब्यालेन्स, चाल र आत्मबिश्वासमा सुधार आएको थियो ।
डिप्रेशन भएका व्यक्तिमा आत्म–उपचार (सेल्फ हिलिङ)का रूपमा गिटारको प्रयोग गरिएको थियो । कतिपय व्यक्तिहरूले डिप्रेशनको समय गिटार बजाउन थालेका थिए। उनीहरूले आफ्नो भावना व्यक्त गर्न, एक्लोपन हटाउन र मानसिक रूपमा व्यस्त रहन गिटारलाई माध्यम बनाएका थिए।
उदाहरणको रूपमा, एक अमान्दा नामको अमेरिकन युवतीले गहिरो डिप्रेशनको समयमा आत्महत्या गर्न खोजेकी थिइन्, गिटार सिक्न थालेपछि उनको मानसिक स्वास्थ्यमा सुधार आयो। उनले पछि संगीतकारको रूपमा नयाँ जीवन सुरु गरिन्।
बेलायतमा एक १६ वर्षको किशोर ट्राफिक दुर्घटनामा परेपछि ट्रमाटिक ब्रेन इन्जुरी (टिबीआई) भयो। उसले कुरा गर्न र ध्यान केन्द्रित गर्न सक्दैनथ्यो। चिकित्सकले औषधिको साथमा संगीत–थेरापीमा गिटार सिकाउने सल्लाह दिए। उक्त किशोरले गिटार सिक्न थालेपछि उसका शारीरिक र मानसिक प्रतिक्रिया द्रूत रूपमा सुधार हुन थाले।
सन् २००७ मा आर्थर ब्लुमद्वारा स्थापना गरिएको म्युजिक्रप एक उच्चस्तरीय संगीत पुनर्स्थापना कार्यक्रम हो, जुन वाल्टर रीड राष्ट्रिय सैनिक अस्पतालमा सञ्चालित छ। यस कार्यक्रमले गम्भीर रूपमा घाइते भएका पूर्वसैनिकहरूलाई गिटारजस्ता संगीत वाद्ययन्त्रहरू नयाँ रूपमा सिक्न वा पुनः सिक्न मद्दत गर्छ, जसले उनीहरूको शारीरिक र मानसिक पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुर्याउँछ।
अमेरिकाको म्युजिक्रप भन्ने कार्यक्रमले शारीरिक र मानसिक रूपले घाइते भएका सैनिकहरूलाई गिटार, ड्रम, पियानो जस्ता वाद्ययन्त्र सिकाएर पिटीएसडी बाट निको पार्न सफल भएको छ। धेरै सैनिकहरूले आत्महत्या गर्न खोजेका थिए, तर गिटारमार्फत आत्म–अभिव्यक्ति र आत्म–स्वीकारको माध्यम पाए भन्ने कुरा उल्लेख गरिएको छ।
यी सबै केस अध्ययनहरुले देखाउँछन् कि गिटार केवल मनोरञ्जनको साधन मात्र होइन, थेराप्युटिक टुल पनि हो। संगीत थेरापी (विशेषगरी गिटार) ले मानसिक स्वास्थ्य, न्यूरोलोजिकल डिसअर्डर, डिप्रेशन, पिटीएसडी, अटिज्म, र शारीरिक पुनःस्थापनामा अद्भुत सहयोग पुर्याउन सक्छ।
अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया लगायत बिश्वका केही अस्पताल र पुनःस्थापना केन्द्रहरूमा गिटार थेरापी सेवा उपलब्ध रहेको छ।
नेपालमा संगीत थेरापी सेवा सुविधा सन्चालन भइरहेका स्थानहरु
अटिस्म केयर नेपाल सोसाइेटीले अटिज्म भएका बालबालिकामा गिटार र अन्य वाद्ययन्त्रमार्फत सामाजिक, भाषिक र मोटर क्षमता विकास गर्न थेरापी प्रयोग गर्छ। गिटार बजाउने र गीत गाउने अभ्यासले धेरै सकारात्मक परिवर्तन देखाएको रिपोर्ट गरिएको छ।
इन्स्पाएर नेपालद्वारा संचालित संगीत थेरेपी प्रोजेक्टले विशेष आवश्यकता भएका बालबालिकालाई संगीत थेरापी सेवा दिन्छ, जसले सामाजिक–भावनात्मक विकासमा सहयोग पुर्याउँछ।
द म्युजिक थेरापी ट्रस्ट (नेपाल) काठमाडौंमा अवस्थित छ, जसले मानसिक र शारीरिक चुनौती सामना गरिरहेका व्यक्तिहरूलाई संगीत थेरापी प्रदान गर्छ।
त्यसैले म भन्छु गिटार बजाउन सिकौं, संगीत सृजना गरौं, शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपले स्वस्थ्य बनौं।
सामाग्री श्रोत :
swasthyakhabar

