काठमाडौँ । विश्वभरका सरकारी कार्यालय र व्यावसायिक संस्थाहरूले प्रयोग गर्ने सर्भर सफ्टवेयरमाथि साइबर आक्रमण भइरहेको भन्दै माइक्रोसफ्टले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै माइक्रोसफ्टले सर्भर सुरक्षाका लागि तुरुन्तै सेक्युरिटी अपडेट गर्न सबै ग्राहकलाई अनुरोध गरेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस घटनाबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जानकारी पाइसकेको छ । र, अनुसन्धानका लागि सरकारी तथा निजी निकायसँग समन्वय गरिरहेको छ ।
माइक्रोसफ्टले सर्भर सफ्टवेयरको शेयरप्वाइन्ट सर्भरमा मात्र यो समस्या देखिएको उल्लेख गरेको छ । क्लाउडमा सञ्चालित माइक्रोसफ्ट ३६५ मा रहेको शेयरप्वाइन्ट अनलाइन भने सुरक्षित रहेको बताइएको छ ।
‘द वाशिङ्टन पोस्ट’ का अनुसार पछिल्लो केही दिनयता अज्ञात ह्याकरहरूले नयाँ पत्ता लागेको कमजोरीमार्फत अमेरिकी र अन्तर्राष्ट्रिय सरकारी तथा व्यवसायिक संस्थाहरूलाई निशाना बनाउँदै आएका छन् ।

विशेषज्ञहरूले ‘जिरो डे’ आक्रमणको रूपमा चिनिने यस हमलाले अघिल्लो कुनैपनि समयमा पत्ता नलागेको कमजोरीमार्फत आक्रमण गरिएको बताएका छन् । जसका कारण विश्वभरका दशौं हजार सर्भरहरू जोखिममा परेको उनीहरूको भनाइ छ ।
माइक्रोसफ्टका अनुसार सर्भर सफ्टवेयरमा कमजोरीका कारण आधिकारिक पहुँच भएका व्यक्तिले समेत नेटवर्कमार्फत ‘स्पुफिङ आक्रमण’ गर्न सक्ने सम्भावना देखिएको छ । यस्तो आक्रमणमार्फत ह्याकरहरूले आफ्नो पहिचान लुकाएर विश्वासिलो व्यक्ति वा निकायको रुपमा ठगी गर्न सक्ने सम्भावना रहन्छ ।
कम्पनीले शेयरप्वाइन्ट सब्सक्रिप्सन एडिसनका लागि नयाँ सुरक्षा अपडेट सार्वजनिक गरिसकेको र यो तुरुन्तै अपडेट गर्न आग्रह गरेको छ । सन् २०१६ र २०१९ संस्करणका लागि समेत अपडेटको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
यदि सिफारिस गरिएको सुरक्षा अपडेट लागु गर्न नसकेको खण्डमा सुरक्षाका लागि इन्टरनेटबाट सर्भर नै डिस्कनेक्ट गर्न समेत माइक्रोसफ्टले सुझाव दिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ५, २०८२ १६:४७
सामाग्री श्रोत :
टेक पाना