काठमाडौँ । एप्पलले आफ्नो बहुप्रतिक्षित फोल्डेबल उपकरण बजारमा ल्याउने तयारीलाई तीव्रता दिएको छ । पछिल्ला केही हप्तामा ‘आईफोन फोल्ड’ बारेका विभिन्न जानकारीहरू बाहिर आइरहेका छन् । नयाँ रिपोर्टहरूका अनुसार एप्पलको पहिलो फोल्डेबल आईफोनको डिजाइन सामसङको लोकप्रिय ग्यालेक्सी जेड फोल्ड सिरिजसँग मिल्दोजुल्दो हुन सक्ने देखिएको छ ।

लामो समयदेखि चर्चामा रहेको एप्पलको फोल्डेबल फोन सन् २०२६ को अन्त्यतिर सार्वजनिक हुने अनुमान छ । प्रविधि विश्लेषक मार्क गर्मनका अनुसार एप्पलले यो फोल्डेबल फोनका लागि आवश्यक महत्त्वपूर्ण पाटपुर्जाहरूको टुङ्गो लगाइसकेको छ । रोचक त के छ भने यसको डिजाइनमा कुनै नयाँ इन्टरफेस वा हार्डवेयर नहुन सक्छ किनभने यसका धेरैजसो पाटपुर्जाहरू सामसङबाटै लिइने सम्भावना छ ।
रिपोर्टका अनुसार एप्पलले आफ्नो पहिलो फोल्डेबल फोनका लागि सामसङको उत्कृष्ट प्रविधि प्रयोग गर्नेछ । यसको अर्थ फोनको फोल्डिङ मेकानिजम र सबैभन्दा महत्वपूर्ण मानिएको क्रिज-फ्री (नखुम्चने) फोल्डेबल स्क्रिन सामसङले नै विकास र निर्माण गर्नेछ । यसका लागि सामसङले दक्षिण कोरियाको असानमा रहेको आफ्नो सामसङ डिस्प्ले फ्याक्ट्रीमा छुट्टै उत्पादन लाइनसमेत स्थापना गर्ने बताइएको छ ।
यसको अर्थ हो एप्पलले फोल्डेबल फोनको बजारमा आफ्नो पहिलो उत्पादनलाई भरपर्दो बनाउन प्रतिस्पर्धी कम्पनीकै प्रविधिमा भर पर्नेछ ।

एप्पलले सन् २०२६ मा फोन सार्वजनिक गर्नुअघि करिब ६० देखि ८० लाख युनिट आईफोन फोल्ड तयार पार्ने लक्ष्य राखेको छ । यसका साथै, कम्पनीले आउँदा केही हप्ताभित्रै आईओएस २७ (IOS 27) को विकास सुरु गर्नेछ जसमा फोल्डेबल मोडलका लागि विशेष रूपमा मिलाइएको कस्टम भर्सन पनि समावेश हुनेछ ।
यो फोन एप्पलको अहिलेसम्मकै सबैभन्दा महँगो उत्पादनहरूमध्ये एक हुने निश्चित जस्तै छ । विश्लेषक मार्क गर्मनले यसको मूल्य २,००० देखि २,५०० डलर (आजको विनिमय दरअनुसार करिब २ लाख ६० हजारदेखि ३ लाख ३० हजार नेपाली रुपैयाँ) सम्म पर्न सक्ने अनुमान गरेका छन् । यो मूल्य हालै सार्वजनिक भएको सामसङ ग्यालेक्सी जेड फोल्ड सेभेनभन्दा पनि महँगो हो ।
एप्पलले आधिकारिक रूपमा केही नभने पनि बाहिरिएका यी खबरहरूले फोल्डेबल फोनको बजारमा एप्पलको प्रवेशले ठूलै तरंग ल्याउने संकेत दिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ५, २०८२ २२:३८
सामाग्री श्रोत :
टेक पाना