काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आगामी साधारणसभामा नयाँ कार्यसमिति चयनका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
संघको साधारणसभा यही साउन १९ गते काठमाडौंमा हुँदै छ। साधारणसभाको दिन नजिकिँदै जाँदा संघको नेतृत्वमा को आउने हो भन्ने चर्चा पनि चल्न थालेको छ।
यसपटक संघको संशोधित विधानअनुसार १३ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। विधान संशोधन गरेर एक कार्यसमिति सदस्य र एक सचिव पद थपिएको छ।
संघको अध्यक्ष पदका लागि पछिल्लो समय तीन जना उम्मेदवार प्रतिस्पर्धामा देखिएका छन्। अध्यक्ष प्रतिस्पर्धामा विप्लव अधिकारी, प्रभावत रुंगटा र सन्तोष बराल रहेका छन्।
पूर्व अध्यक्षहरुले सहमतिको प्रयास गरिरहे पनि अझैसम्म एक जनाको नाममा सहमति नजुट्दा नयाँ कार्यसमितिको लागि अध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि अन्तिम समयमा अध्यक्षका तीन प्रतिस्पर्धीहरुबीचमा सहमति हुने आकलन संघका पूर्व अध्यक्ष तथा सदस्यहरुले गरेका छन्।
अध्यक्षका प्रतिस्पर्धीमध्ये विप्लप अधिकारी यसअघि दुई कार्यकाल महासचिव भइसकेका छन्। प्रभात रुंगटा हालका वरिष्ठ उपाध्यक्ष हुन् भने सन्तोष बराल उपाध्यक्ष हुन्।
अध्यक्षको प्रतिस्पर्धामा रहेका तीनै जना आ-आफ्नो पक्ष बलियो भएको दाबी गरिरहेका छन्।
के भन्छन् अध्यक्ष पदका दाबेदारहरू?
विगत पाँच कार्यकालदेखि उत्पादकको हकहित र संघको कार्यमा महत्त्वपूर्ण योगदान दिँदै एक कार्यकाल सदस्य, तीन कार्यकाल कोषाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष भएकाले आफू अध्यक्षको एक मात्र उम्मेदवार भएको र साथीहरूले पूर्ण सहयोग गर्ने रुंगटा बताउँछन्।
एक कार्यकाल सदस्य र तीन कार्यकाल उपाध्यक्ष भएर संघको सम्पूर्ण कामकारबाहीमा विशेष भूमिका निर्वाह गरेको, साथै संघको संगठनात्मक विकास र अन्य संघहरूसँगको सम्बन्धमा महत्त्वपूर्ण भूमिका खेलेकोले आफू अध्यक्षको भूमिकाका लागि योग्य भएको तर्क गर्छन् बराल।
एक कार्यकाल सदस्य र दुई कार्यकाल महासचिव हुँदै अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएर अध्यक्ष हुने योग्यता प्रस्तुत गरिसकेको बताउँछन् अधिकारी। उनले पदमा हुँदा वा नहुँदा पनि संघका प्रत्येक कार्यक्रम, नीति, विधान र लबिङमा विशेष तथा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै यस पटक आफ्ना मित्र रुंगटा र बरालबाट पूर्ण सहयोगको अपेक्षा रहेको पनि बताए।
संघको दुई महिनाअघि चितवनमा भएको विशेष सभामा अध्यक्षका दाबेदारहरूबीच गोप्य छलफल भएको थियो। तर, तीनै जना दाबेदारहरू एक दिनअगावै भेटघाट गरी छलफल गर्दा पनि निचोडमा नपुगेको खबरले अध्यक्षमा चुनाव हुने अड्कल अन्य औषधि उद्योगीहरूले गरेका छन्।
हालका अध्यक्ष महेश प्रसाद प्रधान र निवर्तमान अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले तीन जनाबीच चुनाव भएमा दुई जना होनहार र योग्य व्यक्ति, जसले संघलाई राम्रोसँग बुझेका छन् र संघको गरिमा अक्षुण्ण राख्न सक्षम छन्, उनीहरूलाई गुमाउनुपर्ने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरे।त्यसैले, सकेसम्म चुनाव हुन नदिने पक्षमा रहेको र यसका लागि जुनसुकै प्रकारको योगदान र सहयोग दिन तयार रहेको अध्यक्ष प्रधान र निवर्तमान अध्यक्ष पाण्डेले बताइरहेका छन्।
संघका पूर्व अध्यक्ष शंकर घिमिरेले ती तीनै जना संघका हिराहरू भएको बताउँदै आफूलगायत सबै पूर्व अध्यक्षहरूले सहमतिबमोजिम जाने प्रयास गर्ने बताए।
अर्का पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले तीनै जना आफ्ना अत्यन्त प्यारा भाइहरू भएकोले कसलाई बस भन्ने र कसलाई उठ भन्ने भन्नेमा धर्मसंकट रहेको बताए। अहिले प्रतिस्पर्धामा देखिएका तीनै जना योग्य उम्मेदवार तथा अध्यक्ष हुन सक्षम रहेको उनको भनाइ छ।
त्यसैगरी, उत्पादकका पूर्व महासचिव तथा उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले तीनै जना उद्योगीले आफूलाई संघको अध्यक्ष हुन योग्यता धेरैपटक प्रस्तुत गरिसकेकोले सहमतिको विकल्प नरहेको बताए।
सामाग्री श्रोत :
swasthyakhabar

