काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्र्याटहरूमाथि अर्को व्यंग्यात्मक प्रहार गर्दै पूर्वराष्ट्रपति बाराक ओबामालाई एफबीआई एजेन्टहरूले पक्राउ गरेको एउटा एआई-निर्मित भिडिओ शेयर गरेका छन् । आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गरिएको उक्त भिडिओ भाइरल बनेको छ ।

डिपफेक प्रविधि प्रयोग गरेर बनाइएको भिडिओमा ओबामालाई ओभल अफिसभित्रै हतकडी लगाएर लगिएको देखाइएको छ भने ट्रम्प मुस्कुराउँदै हेरिरहेका देखिन्छन् । भिडिओको सुरुमा निवर्तमान राष्ट्रपति जो बाइडेनसहितका डेमोक्र्याटिक नेताहरूले ‘कानुनभन्दा माथि कोही छैन’ भनेको क्लिप समावेश छ, जसलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।
ट्रम्पले भिडिओ राखेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । ट्रुथ सोसलमा ट्रम्पका समर्थकहरूले यसको प्रशंसा गर्दै ‘यसलाई वास्तविकतामा बदलौं’ जस्ता कमेन्ट गरेका छन् भने आलोचकहरूले भ्रामक, उत्तेजक र खतरनाक भन्दै निन्दा गरेका छन् ।

ओबामाको यो व्यंग्यात्मक भिडिओ यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला राष्ट्रिय गुप्तचर निर्देशक (डीएनआई) तुल्सी ग्याबार्डले ओबामा प्रशासनमाथि गम्भीर आरोप लगाएकी छिन् । ग्याबार्डले शुक्रबार सन् २०१६ को चुनावपछि ओबामाका शीर्ष अधिकारीहरूले ‘ट्रम्प-रसिया साँठगाँठ’ को कथा रचेको आश्चर्यजनक र प्रबल प्रमाण आफूसँग रहेको दाबी गरेकी थिइन् ।
यो षड्यन्त्र ट्रम्पलाई राष्ट्रपति बन्नबाट रोक्न गरिएको आरोप लगाइएको छ । ग्याबार्डले ती गोप्य कागजातहरू न्याय विभाग र एफबीआईलाई बुझाउने योजना बनाएको समेत बताएकी छिन् ।
“यसको प्रभाव ऐतिहासिकभन्दा कम छैन,” ग्याबार्डले फक्स न्युजसँगको कुराकानीमा भनिन्, “हामीले प्राप्त गरेका १०० भन्दा बढी कागजातहरूले राष्ट्रपति ट्रम्प निर्वाचित भइसकेपछि ओबामाले कार्यालय छोड्नुभन्दा केही हप्ताअघि कसरी यो देशद्रोही षड्यन्त्रको निर्देशन दिएका थिए भन्ने प्रमाण प्रदान गर्दछ ।”
ओबामा वा उनको तत्कालीन टोलीबाट भने यी आरोपहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएका छैनन् ।
पछिल्लो अध्यावधिक: साउन ५, २०८२ १४:०
सामाग्री श्रोत :
टेक पाना