काठमाडौँ । चर्चित ब्यान्ड कोल्डप्लेको कन्सर्टमा एक महिला सहकर्मीसँग अङ्कमाल गरिरहेको भिडिओ भाइरल भएपछि अमेरिकी टेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले राजीनामा दिएका छन् ।

डेटा पूर्वाधारको क्षेत्रमा काम गर्ने टेक कम्पनी ‘एस्ट्रोनमर’ले शनिबार एक विज्ञप्ति जारी गर्दै सीईओ एन्डी बायरनले राजीनामा दिएको पुष्टि गरेको छ । “एन्डी बायरनले आफ्नो राजीनामा बुझाएका छन् र सञ्चालक समितिले त्यसलाई स्वीकार गरेको छ,” कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।
भाइरल भएको क्लिपमा अमेरिकाको म्यासाचुसेट्स सहरमा रहेको फक्सबरोमा आयोजित कन्सर्टको ठूलो स्क्रिनमा एक पुरुष र महिला अङ्कमाल गरिरहेका देखिन्छन् । क्यामेरा आफूतिर सोझिएको थाहा पाउनासाथ उनीहरू लुक्न खोज्छन् ।
अमेरिकी सञ्चारमाध्यमले भिडिओमा देखिएका व्यक्ति विवाहित सीईओ बायरन र कम्पनीकी एचआर प्रमुख क्रिस्टिन क्याबोट भएको पहिचान गरेका छन् ।

कम्पनीले विज्ञप्तीमा थप भनेको छ- “हामी स्थापनादेखि नै निर्देशित मूल्य, मान्यता र संस्कृतिप्रति प्रतिबद्ध छौं । हाम्रा लिडरले आचरण र जवाफदेहिता दुवैमा एक मानक स्थापित गर्नुपर्छ भन्ने अपेक्षा गरिन्छ । तर, हालै त्यो मानक पूरा भएन ।”
भिडिओमा दुई जना लुक्न खोजेपछि कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले दर्शकलाई ठट्टा गर्दै भनेका थिए, “या त उनीहरूको अफेयर चलिरहेको छ, या त उनीहरू धेरै लजाए ।”
भिडिओ भाइरल भएलगत्तै एस्ट्रोनमरले उनीहरूको सम्बन्धबारे अनुसन्धान सुरु गरेको र सीईओ बायरनलाई बिदामा बस्न निर्देशन दिएको थियो । न्यूयोर्कस्थित उक्त कम्पनीले अब नयाँ नेतृत्वको चयन गर्ने र त्यसका लागि खोजी सुरु भइसकेको जनाएको छ । तत्कालका लागि प्रमुख उत्पादन अधिकृतले अन्तरिम सीईओको रूपमा काम गर्ने जिम्मेवारी पाएका छन् ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १६:३५
सामाग्री श्रोत :
टेक पाना