काठमाडौँ । झापामा पहिलो पटक राष्ट्रिय स्तरको ह्याकाथन आयोजना हुने भएको छ । डेभलपर एसोसिएसन झापाले ‘पब्जी–प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड’ नाम दिइएको उक्त कार्यक्रम आगामी १५-१७ साउनमा बिर्तामोडमा आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार ह्याकाथनमा ४८ घण्टासम्म निरन्तर कोडिङ, क्रियटिभी र सहकार्यको प्रतिस्पर्धा हुनेछ । नेपालभरिका प्रविधि उत्साही तथा उदीयमान डेभलपरहरूलाई एकै ठाउँमा ल्याउने कार्यक्रमको लक्ष्य छ । आयोजक मध्येका एक तथा मेची बहुमुखी क्याम्पसका बीसीए विद्यार्थी अविरल आचार्यले यस ह्याकाथन कार्यक्रम झापाको टेक कम्युनिटीका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा हो ।
ह्याकाथनमा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरी आफ्नो ‘स्क्वाड’ (टोली) दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको थिम कार्यक्रमको सुरु भएपछि मात्रै खुलासा गरिने बताइएको छ । आयोजकले यसलाई ‘एलिमिनेशन थिम’मा आधारित ह्याकाथनको रूपमा प्रस्तुत गरेको छ । यसअन्तर्गत केही प्रतिस्पर्धी मात्र अन्तिमसम्म टिक्न सक्नेछन् ।
स्थानीय प्रविधि प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्न र उनीहरूलाई प्रेरित तथा सशक्त बनाउन यस्तो कार्यक्रमको परिकल्पना गरिएको आचार्यले बताए । ‘लेट्स कोड, क्रिएट एन्ड कनेक्ट’ (कोड गरौँ, सिर्जना गरौँ र जोडियौँ) भन्ने नाराका साथ आयोजकले सबै आविष्कारकलाई सहभागी हुन आह्वान गरेको छ ।

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १७:३६
सामाग्री श्रोत :
टेक पाना