काठमाडौँ । नेपाल टेलिकममा आकर्षक तलब र सुविधासहितको जागिर लगाइदिने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह पुन: सक्रिय भएको छ । सर्वसाधारणलाई अनलाइन फारम भर्न लगाई आवेदन शुल्कको नाममा रकम असुल्ने क्रम बढेपछि टेलिकमले यस्ता भ्रामक विज्ञापनबाट सचेत रहन आग्रह गरेको छ ।

फेसबुक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालका यतिबेला विभिन्न समूहमा ‘नेपाल टेलिकममा रोजगारी’ भन्दै भ्रामक सूचनाहरू फैलाइएको छ । आवेदककै गृह जिल्लामा जागिर मिलाइदिने जस्ता आकर्षक वाचा गरेर सर्वसाधारणलाई लोभ्याउने गरिएको छ ।
ठगी गर्नेहरूले आवेदनका लागि दिइएको मोबाइल नम्बरमा सम्पर्क गर्न भन्दै फारम शुल्कबापत १,००० देखि २,००० रुपैयाँसम्म माग गर्छन् । साथै आवेदनका लागि नागरिकताको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र व्यक्तिगत विवरण मागिएको छ ।
यस्ता ठगीका घटना बारम्बार हुन थालेपछि टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ । कर्मचारी आवश्यक परेमा आफ्नो आधिकारिक वेबसाइट, भेरिफाइड सामाजिक सञ्जाल अकाउन्ट र राष्ट्रिय स्तरका पत्रिकामार्फत सूचना प्रकाशित गरिने टेलिकमले जनाएको छ ।

“कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवाबारेमा अद्यावधिक हुन तथा कम्पनीको भ्याकेन्सीसम्बन्धी जानकारीका लागि ntc.net.np/post/vacancy हेर्नुहुन अनुरोध छ,” कम्पनीले भनेको छ ।
कुनै अपरिचित व्यक्तिले टेलिकमको कर्मचारी हुँ भन्दै जागिरको प्रलोभन देखाएमा त्यो सरासर झूट हुने कम्पनीको भनाइ छ । अर्कोतर्फ आवेदन शुल्क बुझाउनुपर्ने भएमा पनि टेलिकमले नमस्ते पे वा कम्पनीको आधिकारिक बैंक खातामात्रै प्रयोग गर्ने गर्छ । कुनै व्यक्तिको निजी खातामा रकम पठाउन लगाइँदैन ।
टेलिकमले आउटसोर्सिङमार्फत पनि केही पदमा कर्मचारी लिने भएकाले ठगहरूले त्यसैको फाइदा उठाउन यस्तो धन्दा चलाइरहेको देखिन्छ । यदि आउटसोर्सिङ कम्पनीमार्फत कर्मचारी माग गरिए पनि उक्त कम्पनीले ‘टेलिकमका लागि जागिर’ भनेर सिधै विज्ञापन गर्न नपाउने नेपाल टेलिकमले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन २, २०८२ १४:९
सामाग्री श्रोत :
टेक पाना