काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ‘आईएसओ/आईईसी २७००१:२०२२’ (ISO/IEC 27001:2022) प्रमाणीकरण प्राप्त गर्ने पहिलो विकास बैंक बनेको छ ।

१४ जुलाईमा प्राप्त यस प्रमाणीकरणले आफ्नो डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, कार्ड भुक्तानी, निक्षेप तथा कर्जा सेवाका साथै सूचना प्रविधि, मानव संसाधन, सञ्चालन र जोखिम व्यवस्थापनजस्ता महत्त्वपूर्ण विभागहरूको सुरक्षा प्रणालीलाई समेटेको बैंकले जनाएको छ ।
यो प्रमाणीकरण तीन वर्षका लागि मान्य हुने र त्यसपछि नवीकरणका लागि पुनः प्रक्रिया अगाडि बढाउनुपर्ने बताइएको छ । यो उपलब्धिले ग्राहकको तथ्याङ्कको गोपनीयता, साइबर सुरक्षा र सुरक्षित डिजिटल सेवाप्रतिको बैंकको प्रतिबद्धतालाई पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।
“यो उपलब्धि प्रविधिगत सफलता मात्र नभई तीव्र गतिमा विकास भइरहेको डिजिटल बैंकिङ प्रणालीमा हाम्रा ग्राहक, कर्मचारी र सरोकारवालाहरूको सुरक्षाप्रतिको रणनीतिक प्रतिबद्धता पनि हो,” बैंकका सूचना सुरक्षा अधिकृत सोबित ठकुरी शाहीले भने, “यसका लागि हाम्रो टोलीको अथक मेहनत, शीर्ष व्यवस्थापनको सहयोग र समन्वयले महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले गर्दा हाम्रो प्रयास सफल भएको छ ।”

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १६:०
सामाग्री श्रोत :
टेक पाना