काठमाडौँ । सरकारले ६०० स्टार्टअप उद्यमीलाई ८८ करोड रुपैयाँ बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय वाणिज्य बैंकमार्फत २०८२ असार मसान्तसम्ममा ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरिएको जानकारी दिएको हो ।

मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ भदौ ११ गते स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । तोकिएको समयभित्र कुल २,१५८ परियोजना प्रस्ताव प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनपछि १,३१४ प्रस्तावलाई सूचीमा समावेश गरिएको थियो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार व्यावसायिक प्रस्तुतिमा १,०७३ प्रस्तावक मात्र सहभागी भएका थिए । प्रस्तुतीकरणको मूल्यांकनका आधारमा ६६१ परियोजना छनोट गरी राष्ट्रिय वाणिज्य बैंकलाई कर्जा प्रवाहका लागि सिफारिस गरिएको थियो । सोहीअनुसार बैँकले ६०० वटा परियोजनालाई कर्जा उपलब्ध गराएको बस्नेतले जानकारी दिए ।
यसैगरी, कम्पनी रजिस्ट्रारको कार्यालयले सञ्चालनमा ल्याएको कम्पनी प्रशासन सूचना प्रणाली (CAMIS) मार्फत ६९,४३० कम्पनीले वार्षिक विवरण बुझाएका छन्। २०८१ पुस २९ देखि २०८२ असार मसान्तसम्म कम्पनी ऐन, २०६३ को व्यवस्थाबमोजिम विद्युतीय अभिलेखमार्फत उक्त संख्यामा विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

छानिएका स्टार्टअपले तीन प्रतिशत ब्याजदरमा न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाएका छन्, जसको अवधि पाँच वर्षसम्म हुनेछ । कर्जाका लागि उद्योग व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको र वार्षिक कारोबार १५ करोडभन्दा कम भएको हुनुपर्नेछ । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमहरूले मात्र यो कर्जा पाउनेछन् ।
पछिल्लो अध्यावधिक: साउन २, २०८२ ९:८
सामाग्री श्रोत :
टेक पाना