काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारमा रहेका नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने यसअघिको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई १ साउन (आज) ताकेता सहितको आदेश दिएको हो ।
अदालतले २०७४ चैत ७ मा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था आवश्यक कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा उक्त आदेश दिएको थियो ।
सर्वोच्चको उक्त आदेश कार्यान्वयन नभएको जनाउँदै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएका थिए । न्यौपानेको निवेदन अनुसार अदालतले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।
‘विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिनसक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहको नागरिकहरुको वास्तविक लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान हुनसक्ने वातावरण मिलाउनू’ अदालतको आदेशमा भनिएको छ ।
सामाग्री श्रोत :
deshparadesh

